ललाबन्दी, जेठ ११—सर्लाहीका पाँच राजनैतिक दलले असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटनको विरोधमा संयुक्त विज्ञप्ति निकालेका छन् । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेश,नेकपा माओवादी केन्द्र, नेकपा एमाले,जनता समाजवादी पार्टी, र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनिहरुले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावको घोषणा निरंकुश, असंवैधानिक र स्वेच्छाचारी भएको भन्दै त्यसको विरोधमा संयुक्त विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
राष्ट्रपतिलेको कदम संविधान र संसदिय परम्परा विपरित रहेको र जसले नेपाली जनताले कठोर संघर्षबाट प्राप्त गरेको लोकतान्त्रीक विधिलाई ठूलो आघात पुगेको विज्ञप्तीमा उल्लेख गएिको छ । सिंगो देश कोभिड–१९ को महामारीले आक्रान्त बनेको बेला जनताको उपचार र बिरामीलाई अक्सीजनको व्यवस्थापन गर्न नसकिरहेको समयमा सरकारले देशमा मध्यावधि चुनावको घोषणा गरेर देशलाई निरंकुशता र अराजकतातर्फ लान खोजिएको राजनैतिक दलहरुको ठहर छ । संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेका ओलीले राजिनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको नेपाली काँग्रेस, सर्लाहीले जनाएको छ ।
यस्तो प्रतिगामी कदमका विरुद्ध सम्पूर्ण सर्लाहीवासीले सशक्त रुपमा ऐक्यबद्धता जनाउन पनि दलहरुले विज्ञप्ति मार्फत अपिल गरेका छन् । यस्तै, प्रमुख राजनैतिक दलहरु बिच भएको बैठकले आन्दोलनका केन्द्रीय कार्यक्रम आएपछि कोभिड–१९ को रोकथाममा समेत भूमिका खेल्दै आन्दोलनका कार्यक्रम अगाडी बढाउने निर्णय गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष रेवति पन्तले जानकारी दिए । यसैबिच, लालबन्दी नगरपालिकाका राजनैतिक दलहरुले पनि प्रधानमन्त्री र राष्ट्रपतिको कदमका विरोधमा संयुक्त विज्ञप्ति निकालेका छन् ।
नगरका नेपाली कांग्रेश, माओवादी केन्द्र, नेकपा एमाले र जनता समाजवादी पार्टीद्वार संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गरिएको हो । प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई साथ नदिई अभिभावकिय भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति भण्डारीले संविधान विपरित कार्य गरेको भन्दै दलहरुले आपत्ति जनाएका छन् । दलहरुले लालबन्दी नगरपालिका पनि कोभिड महामारीबाट अछुतो नरहेको र यसका विरुद्ध लड्न अति आवश्यक अक्सीजन लगायतका सामग्री ढिला नगरी व्यवस्था मिलाई जनताको सुरक्षाको जिम्मेवारी लिन समेत विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन् ।