मनोज यादव /मलंगवा
जेष्ठ ९—तराई मधेशको लाइफलाईनको रुपमा दिईएको बहुचर्चित हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीको मलंगवा–संग्रामपुर सितलपुर सडक खण्डको निर्माण कार्य सुरु भएको छ । तराई मधेसको विकासको मेरुदण्ड मानिने उक्त हुलाकी सडकमा अहिले ग्रेभलिंङ्ग गरी धमाधम सम्याउने काम भइरहेको छ ।
करिब २३ करोड १८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने हुलाकी राजमार्ग महोत्तरी जिल्लाको सिमाना सितलपुरदेखि सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाको वडा न–२ सम्मको १५ किलोमिटरको सडकको निर्माण कार्य लकडाउनकौ बिच सुरु गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि यादव सरकारले जानकारी दिए ।
१५ किलोमिटर लम्बाई र १० मिटर चौडाई सडकमा ७ मिटर कालोपत्रे गरिने उक्त सडक आर्थिक वर्ष २०७८÷०७९ को पुस मसान्तसम्म भित्र निर्माण सम्पन्न गर्नका लागि हिम दुंङ ठोकर हिरा एण्ड नमिता जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको छ । सुरुमा यो सडक निर्माण गर्ने जिम्मा प्रदेश सरकारको रहेकोमा प्रदेश सरकारले गर्न नसकेपछि १ डेढ महिना अगाडी संघिय सरकारलाई जिम्मा लगाएर काम सुरु गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि सरकारले बताए । प्रदेश सरकारले काम गरिरहँदा बजेटको सुनिश्चितता नभएका कारण समयमा काम सम्पन्न नभएको उनले बताए । पहिलो चरण अन्तर्गत साउन मसान्तभित्र ३ किलोमिटर सडकको कालोपत्रे गरिने र त्यसपछि दोस्रो चरणमा मलंगवासम्मको १२ किलोमिटर सडक कालोपत्रे गरिने ठेकेदार कम्पनीका प्रतिनिधि सरकारको भनाई छ ।
वर्षौंदेखि निर्माणको पर्खाइमा रहेको जिर्ण अवस्थाको यो सडकमा वर्षातको मौसममा हिलो, र सुख्खा मौसममा धुलोको समस्या रहेको थियो । जस्का कारण स्थानियले सास्ती खेप्दै आएका थिए । निर्माणकार्यले गति लिएपछि यस क्षेत्रका नागरिकले राहत महसुस गरेका छन् ।
अहिले सर्लाही जिल्लालाई महोत्तरी जिल्ला सँग जिड्ने यो हुलाकी सडकको १५ किलोमिटर दुरी पार गर्न दुईचक्के र चारचक्के सवारीसाधनलाई १ घण्टादेखि सवा घण्टाको समय लाग्दै आएको छ । सडक कालोपत्रे भइसकेपछि उक्त दुरी तय गर्न मात्र १५ मिनेट समय लाग्ने छ ।
हुलाकी सडक निर्माण भइसकेपछि महोत्तरी जिल्लाको विभिन्न ठाउँ ,सिमावर्ती भारत लगायत सर्लाहीका ३ दर्जनभन्दा बढी गाउँ बस्तीका बासिन्दालाई सदरमुकाम मलंगवा बजार आवत जावतमा सहज हुनेछ । हुलाकी सडक जीर्ण भएकै कारण ती क्षेत्रका बासिन्दाहरु वर्षातको समयमा पुर्व–पश्चिम राजमार्गको लालबन्दी हुँदै करिब ५० किलोमिटर दूरी तय गरी सदरमुकाम मलंगवा पुग्न बाध्य छन् ।यो सडकको निर्माण सम्पन्न भएसँगै प्रदेश न–२ को अस्थायी राजधानी जनकपुर र महोत्तरीको सदरमुकाम जलेश्वरसम्मको दुरी पनि कम हुने छ ।
कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धि सम्पुर्ण मापदण्ड अपनाएर काम भइरहेको उक्त हुलाकी सडकको निर्माणकार्य प्रति स्थानीय खुसी भएका छन् ।
Home मुख्य समाचार हुलाकी सडक अन्तर्गत सर्लाहीको मलंगवा–संग्रामपुर सडक खण्डको निर्माणकार्य सुरु,स्थानीय खुसी