काठमाडौँ ,जेठ -२५,राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि भएको र नेपालमा सबैखाले दौडको सम्भावना रहेको बताएका छन् । विश्व म्याराथनको साझा संस्था एसोेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीहरूसँग आईतवार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन ।
“सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौडहरू सफलतापूर्वक भइरहेका छन्, हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तर्राष्ट्रिय छाता संगठनहरूले प्रोत्साहन गरुन् भन्ने हाम्रो अपेक्षा छ”, उनले भने । विश्व शान्ति, भाइचारा र सद्भावका लागि खेलको ठूलो महत्व रहेको बताए । “त्यसमा पनि दौड संस्कृतिले स्वस्थ, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्दछ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।
नेपालले पनि खेलकुद्को विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुदमा वर्षेनी लगानी बढाइरहेको बताउँदै उनले निजी क्षेत्रबाट पनि खेलकुदमा आकर्षण बढ्दै गएको बताए ।
राष्ट्रपति पौडेलले एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनौट गरेकोमा धन्यवाद दिए । साथै, खेलकुद् र पर्यटनलाई जोड्नेगरी नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस शुभारम्भ भएको थाहा पाउँदा आफूलाई खुसी लागेको राष्ट्रपति पौडेलको भनाई थियो ।