हरिवन,जेठ ३ – सर्लाहीमा सोमवार (आज) सम्म कोरोना संक्रमणको कारण २० जनाको मृत्यु भएको छ । दिउसो १ बजे हरिवन नगरपालिका सासापुर स्थित कोभिड अस्पतालमा उपचारकै क्रममा एकजनाको ज्यान गएसंगै मृत्यु हुनेको संख्या २० पुगेको हो । आज मृत्युहुनेमा चक्रघट्टा गाउँपालिका–४ का ५२ वर्षीय एक पुरुष रहेको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख श्रवण कुमार नायकका अनुसार योसँगै सर्लाहीमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । संक्रमितहुनेको संख्या भने ६८५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
हरिवनमा मृत्यु भएका पुरुषमा उच्च ज्वरो लगायत कोरोनाका सबै लक्षण देखिएपछि वीरगंजको गण्डक अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालले बेड अभाव भन्दै उनलाई फिर्ता पठाएको थियो । मृतक गत वैशाख २९ गते दिउँसो ३ बजेदेखि पूर्व–पश्चिम राजमार्ग स्थित गणेश चोक नजिकको सासापुर स्वास्थ्य चौकी अन्तर्गत कोभिड अस्थाई अस्पतालमा उपचाररत थिए । सासापुर अस्पतालका चिकित्सकले समेत उनलाई यहाँ उपचार सम्भव नरहेको भन्दै रेफर गरेपनि अन्यत्र जान नमानेर उपचारमा बसेका उनको आज मृत्यु भएको होे ।