स्व :टीकाजंग रायमाझी ।

बैशाख,२— सर्लाहीको हजरियामा नेपाली कांग्रेसका पूर्व गाउँ सभापतिको उच्च ज्वरोका कारण निधन भएको छ । केही दिनदेखि ज्वरो आएर थलिनुभएका बरहथवा नगरपालिका–१, निवासी नेपाली कांग्रेस हजरियाका पूर्व गाउँ सभापति अन्दाजी ५८ वर्षीय टीकाजंग रायमाझीको उपचारका क्रममा शनिवार दिउँसोपख भरतपुरमा ज्यान गएको छ । ज्वरो र निमोनियाले थलिएका रायमाझीर्ला आइसियूको खोजीमा हरिवन, बर्दिवास हुँदै भरतपुर पु¥याइए पनि उपचार गर्दागर्दै ज्यान गएको हो ।
बरहथवा नगरपालिका–१, का वडाध्यक्ष रत्नबहादुर गिरीले कोरोना परीक्षण नभइरहेको तर ज्वरो आएकाहरुको मृत्युहुने क्रम बढेको बताए । आफ्नो वडामा पनि अहिले धेरै मानिस ज्वरोले थलिएका र तीन÷चार जनाको ज्यान गइसकेको वडाध्यक्ष गिरीले जानकारी दिए । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकामा केही हप्ताको अन्तरालमा उच्च ज्वरो आएका चार÷पाँच जनाको मृत्यु भइसकेको मेयर अभयकुमार सिंहले बताए । जिल्लामा अहिले ज्वरो, निमोनिया, टाइफाइड, रुघाखोकीजस्ता स्वास्थ्य समस्या भएका बिरामीका कारण अस्पतालहरु भरिभराउ भएका छन् । सरकारी स्वास्थ्य चौकी र अस्पतालमा राम्रो उपचार नहुने भन्दै बिरामीहरु उपचारका लागि निजी अस्पताल र क्लिनिकमा धाइरहेका छन् । जसले गर्दा निजी स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढिरहेको छ । मृत्युदर र बिरामीको संख्या बढेपनि समुदाय स्तरमा कोरोना परीक्षण गराउन भने बेवास्ता गरिएको छ । अहिले जिल्ला अस्पताल मलंगवामै कोरोना परीक्षण हुने गरेको भएपनि लक्षण देखिएका सीमित व्यक्तिहरुले मात्रै अस्पतालमा पुगेर पीसीआर परीक्षण गराइरहेका छन् ।