सर्लाही,चैत -१४, नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -२ का क्षेत्रीय सभापति एवम्  तथा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै दोस्रो पटक स्पष्टीकरण सोधिएको छ ।


सर्लाही क्षेत्र २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य रायले संघीय निर्वाचनदेखि हालसम्म पार्टीको अनुशासन बर्खिलाप गतिविधि गरेको आरोप छ।


जिल्ला अनुशासन समितिका संयोजक सर्लाही उपसभापति डाक्टर सराेजकुमार रायका अनुसार  फरक विचारधारा बोकेका राजनीतिकर्मी र नेताहरूका कार्यक्रममा सहभागिता जनाएको र ती मञ्चहरूबाट नेपाली कांग्रेस र पार्टीको शीर्ष नेता र समग्र संगठनमाथि तथ्यहीन आरोप र अपमानजनक टिप्पणी गरेको उजुरी प्राप्त भएकाले उनलाई स्पष्टीकरण साउनको हाे ।


सर्लाही क्षेत्र नम्बर ४ का क्षेत्रीय कार्यसमितिबाट प्रमाणसहित उजुरी प्राप्त भएपछि रायलाई पहिलो पटक सात दिनभित्र लिखित स्पष्टिकरण पेस गर्न निर्देशन दिइएको थियो । तर, तोकिएको समयभित्र कुनै प्रतिक्रिया नआएपछि पार्टी अनुशासन समितिले दोस्रो पटक पत्र पठाउँदै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पार्टीले निर्देशन दिएको छ ।


नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीका अनुसार मन्त्री रायको गतिविधिमाथि पटक-पटक प्रश्न उठिरहेको छ । पार्टीका नेताहरूलाई गालीगलौज गर्ने, संगठनलाई कमजोर पार्ने तथा अनुशासनविपरीत गतिविधिमा संलग्न रहेको भन्दै उनलाई यश अघि  पनि सचेत गराइएको थियो ।
पार्टीले यस घटनालाई गम्भीर रूपमा लिएको र तोकिएको समयभित्र स्पष्टीकरण नदिए थप कारबाहीसमेत गरिने नेपाली  कांग्रेस सर्लाहीले जनाएको छ ।