मलंगवा,बैशाख २८ – सर्लाहीमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल मलंगवामा रहेको एकमात्र पीसीआर परिक्षण ल्याबमा सोमवार राती ९१ जनाको पीसीआर परीक्षण गरिएको मा ५१ जनामा संक्रमण पाइएको ल्याब टेक्नोलोजिष्ट रवीन्द्र रानाभाटले चियोचर्चो खबरलाई जानकारी दिए ।
अहिलेसम्म ५२५ जनामा पीसीआर परीक्षण गरिएकोमा मंगलवार बिहानसम्म ३७० जनामा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको छ । जसमध्ये सात जनाको ज्यान गइसकेको छ । पछिल्लो पटक सोमवार बलरा नगरपालिका–३, का थप एक जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या सात पुगेको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवणकुमार नायकले जानकारी दिए ।
दोस्रो चरणमा फैलिएको कोरोना संक्रमणबाट अफुपनि अछुतो नरहेको स्वास्थ्य कार्यालय प्रमुख नायकले जानकारी दिए । अहिले ज्वरो र अन्य समस्या देखिएपनि कार्यालयमै आइसोलेटेड भएर काम गरिरहेको नायकको भनाई छ ।