सर्लाही जिल्ला अस्पताल ।तस्विर :चियाेचर्चाे खबर

मलंगवा, बैशाख २४ —सर्लाहीमा शुक्रबार बिहानसम्म कोरोना संक्रमितको सङख्या २४३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालय प्रमुख नायकका अनुसार विभिन्न कार्यालयका कर्मचारी, प्रहरीको हिरासतमा रहेका थुनुवा र लक्षण देखिएर जिल्ला अस्पतालमा पुगी थ्रोट स्वाब दिएकाहरुमा संक्रमण देखिएको हो । अहिले प्रत्येकजसो टोल बस्तीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका सयौँ मानिस बिरामी परेपनि थोरैले मात्रै पीसीआर गराएका छन् । संक्रमितमध्ये अहिले सम्म सर्लाहीमा ४ जनाको ज्यान गएको छ ।
जिल्ला अस्पताल मलंवामा एक सातादेखि निःशुल्क रुपमा पीसीआर गराउने काम भइरहेको भएपनि लक्षण देखिएका व्यक्तिहरुले परीक्षणमा बेवास्ता गरेका स्वास्थ्य कार्यालय प्रमुख नायकको भनाई छ ।
यसैबिच सर्लाहीमा शनिबार मध्यरातीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सदरमुकाम मलंगवामा शुक्रबार बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले शनिबार राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङका अनुसार जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।


निषेधाज्ञाको अवधीमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्यूटीपार्लर, शैलुन, शैक्षिक संस्था, ट्यूसन सेन्टर बन्द हुने छन् । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन हुन दिईने प्रमुख जिल्ला अधिकारी तामाङको भनाई छ ।
प्रजिअ तामाङका अनुसार स्वास्थ्य संस्था र पेट्रोल पम्प खुल्ला रहने छन् भने खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ । बैङ्क तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गर्नुपर्नेछ ।
विवाह, व्रतवन्ध, मृत्यु संस्कारलगायतका कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बढीमा १५ जना मात्रै सहभागी हुन पाउने निर्णय गरिएको छ । समितिले औषधोपचार एवं अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, समूहमा नहिँड्ने र भौतिक दूरी कायम गर्न आग्रह गरिएको छ ।
आदेशको अवज्ञा भएमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर कारवाही गर्ने सीडीओ तामाङले बताए । छिमेकी जिल्ला महोत्तरी र रौतहटमा समेत निषेधाज्ञा जारी भइसकेको छ ।