
हरिवन, माघ –२७, उन्नत जातको उखु खेती गरेर राम्रो उत्पादन गर्ने सर्लाहीका किसानलाई जिल्लाकाे हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले सम्मान गरेको छ ।
आज आइतवार हरिवन नगरपालिका–११, स्थित उद्योग प्राङ्गणमा एक कार्यक्रमकाे आयोजना गरि ४७ जना उत्कृष्ट उखु कृषकलाई सम्मान गरेको हो ।

उद्योगका प्रशासकीय प्रवन्धक ठाकुरप्रसाद नेपालका अनुसार उन्नत जातको उखु खेती गर्ने किसान छनौट गरी सम्मान गरिएको हाे । नमुना किसान छनाैटमा परेका ४७ जना किसानलाई खादा ओढइ सम्मान पत्र र भित्ते घडी प्रदान गरीकाे प्रशासकीय प्रवन्धक नेपालले जानकारी दिए ।

उखु किसानलाई हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी उपप्रमुख हरिमाया घलान, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहा, उद्योगका मालिक राजेशबाबु केडियालगायत भएर सम्मान गरेका थिए।
उद्योगले विभिन्न उन्नत जातको उखुको बीउ तयार पारेर किसानलाई प्रदान गर्ने गरेको छ ।

उद्योगले उन्नत जातमा पर्ने १४२०१, १३२३५, १५०२३, २३८ र ११८ उखु उत्पादन गर्ने किसानलाई सरकारले तोकेको भन्दा १५ रुपियाँ बढी नै मुल्य दिएर खरिद गर्ने गरेको प्रशासकीय प्रवन्धक नेपालले जानकारी दिए । उन्नत जातको उखु खेतीमा उत्पादन परिमाण बढी हुने हुँदा किसान र चिनी उद्योगलाई फाइदा हुने गरेको छ ।