लालबन्दी,माघ-२५,लालबन्दी ११ हीरापुरस्थित खेल मैदानमा माघ २३ गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
छैठौं लालबन्दी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो, दोस्रो तथा तेस्रो हुने विद्यालय तथा विद्यार्थीलाई नगर प्रमुख बासुदेव अधिकारीको अध्यक्षता तथा प्रमुख प्रशासकीय वसन्त न्यौपाने, शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीलगायतको आतिथ्यतामा पुरस्कार वितरण गरेकाे हाे ।


प्रतियोगितामा नगरभित्रका २५ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यालय सहभागी भएका थिए । सहभागी विद्यालयका ६१६ जना विद्यार्थीले भलिबल, कबड्डी, ज्याबलिङ थ्रो, सटपुट, हाइजम्प, लङजम्प र विभिन्न मिटरका दौडमा प्रतिस्पर्धा गरेका थिए । एभरेष्ट आवासीय विद्यालय लालबन्दी ५ १४ स्वर्णसहित पहिले भएको छ ।


त्यस्तै ७ स्वर्णसहित नवजीवन विद्याश्रम माध्यमिक विद्यालय लालबन्दी २ जुटपानी दोस्रो र ५ स्वर्णसहित आइडीएल को–एड एकेडेमी लालबन्दी ९ बस्तीपुर तेस्रो भएका छन् ।


लालबन्दी नगरपालिकाको आयोजना तथा जनता माध्यमिक विद्यालय लालबन्दी ११ हीरापुरको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक पुष्पबहादुर श्रेष्ठले बताए।