लालबन्दी – ज्वरो आएर तीन दिनदेखि घरमै बसिरहेका लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
आज (बिहिवार) एन्टिजेन विधीबाट खकारको नमूना परीक्षण गर्दा मेयर खड्कामा संक्रमण पाइएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
लालबन्दी नगरपालिका वडा नं. ४, हरिभवन स्थित आफ्नै घरमा बसिरहेका मेयर खड्काले आफ्नो स्वास्थ्य अवस्था अहिले सामान्य नै रहेको बताए ।
आफूमा कोरोना संक्रमण पुष्टी भएपनि आज (बिहिवार) बिहानबाट ज्वरो भने कम हुँदै गएको मेयर खड्काले बताएका छन् । ज्वरो, घाँटी दुख्नेलगायत कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएपछि मेयर खड्काले कोरोना परीक्षण गराउनु भएको थियो ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै लालबन्दी नगरपालिकाले आफ्नो सेवाहरु भने गत मंगलवारबाटै बन्द गरिसकेको छ ।
त्यस्तै घरजग्गा व्यवसायी संघ सर्लाहीका अध्यक्ष गोबिन्द हतमा पनि कोरोना संक्रमण भएको छ । अध्यक्ष महत अहिले घरमै रहेर स्वास्थ्य लाभ गरिरहेका पारिवारीक श्रोतले जनाएको छ ।