मलंगवा,वैशाख २२—सर्लाहीको जिल्ला अस्पताल मलंगवामा जडान गरिएको पीसीआर ल्याबमा बुधवार (आज) २८ जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ । २८ जनाको स्वाब परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पाइएको अस्पतालका प्रमुख एवं वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्जिव कुमार सिंहले जानकारी दिए । ल्याबमा आझै ९४ जनाको स्वाब परीक्षण भइरहेको र यसको रिपोर्ट बिहिवार (भोली) दिउँसो मात्रै आउने डा. सिंहले बताएका छन् । यस्तै, अस्पतालमा बुधवार (आज) ४९ जनाले स्वाब दिएका जिल्ला अस्पताल मलंगवाले जनाएको छ । जिल्ला अस्पतालमा पीसीआर ल्याब संचालन भएपछि अहिले परीक्षण बढाउँदै लगिएको छ । तर जिल्लाभर नै ज्वरो र कोरोना संक्रमणसँग मिल्ने लक्षण भएका बिरामीहरु बढेपनि व्यापक परीक्षण भने हुन सकेको छैन् । अत्यधिक ज्वरो आएर ४ जनाको ज्यान गएको सीमावर्ती क्षेत्र बलराका वासिन्दाले भने परीक्षण गराउन अस्वीकार गरेका छन् । त्यहाँ समुदाय स्तरमा धेरै ज्वरो पाइएपछि सेम्बोलिक रुपमा २ सय जनाको स्वाब लिएर परीक्षण गराउने तयारी गरेपनि ४३ जनाले मात्रै स्वाब दिन मानेका र त्यसमध्ये ११ जनामा संक्रमण पाइएको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवणकुमार नायकले चियोचर्चो खबरलाई बताए । नायकले अहिले जिल्लाभर नै ज्वरोका बिरामी बढेका बताए । चिकित्सकहरुले यो समयमा मौसम परिवर्तन समेत भइरहेकाले ज्वरो आउँदैमा नआत्तिन तर डाक्टरहरुलाई देखाउन सुझाव दिइरहेका छन् । स्वास्थ्य कार्यालयको रेकर्ड अनुसार सर्लाहीमा बुधवार बिहानसम्म दोस्रो लहरको कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ भने १४० जना संक्रमित भएका छन् ।