प्रतिकात्मक तस्विर

ईश्वरपुर,वैशाख २१-सर्लाहीको बयलवास बजारमा मंगलवार (आज) बिहान करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–७, बयलवास बजारस्थित राजेन्द्र साह तेलीको सडकमा परेको घर भत्काउने क्रममा सोही ठाउँका ६० वर्षीय नथुनी महतो नुनियाको करेन्ट लागेर मृत्यु भएको हो ।
बयलवास बजार क्षेत्रमा अहिले सडक कालोपत्रेका लागि धमाधम सडक विस्तारको काम भइरहेको छ । घर भत्काउने क्रममा हम्मरले बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट प्रवाह भई नुनियाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ । कान नसुन्ने र आर्थिक अवस्था अत्यन्त कमजोर रहेका मृतक नथुनीले मजदुरी गरेर परिवारको पेट पाल्दै आएका थिए । उनको मृत्युपछि परिवारका सदस्यहरु बिचल्लीमा परेका छन् ।