प्रतिकात्मक तस्विर

ईश्वरपुर,वैशाख २१— सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा छिमेकीले पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाईते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । घारिबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायको मंगलवार (आज) बिहान कीर्तिपुर अस्पताल, काठमाण्डौंमा मृत्यु भएको हो ।
शियाशरणलाई हिजो बिहान छिमेकी अन्दाजी ३५ वर्षीय शिवजी साहले पेट्रोल छर्किएर आगो लगाएका थिए । आगोले शरीरका ९० प्रतिशत भाग जलेर गम्भीर घाईते भएका शियाशरणलाई धनुषाको लालगढमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं पु¥याइएको थियो ।
उनलाई पेट्रोल छर्किएर आगो लगाउने शिवजी साह भने अझै फरार रहेका छन् । उनको तीव्र रुपमा खोजी भइरहेको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले चियोचर्चो खबरलाई जानकारी दिए । वैदेशिक रोजगारीका लागि दुबई गएका शिवजी आइतवार मात्रै घर आएका थिए ।
पुरानो रिसिईबीका कारण शिवजीले शियाशरणमाथि पेट्रोल छर्किएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । ईश्वरपुर नगरपालिका–१२, घारिबथानका वडाध्यक्ष नागेन्द्र कुमार पाख्रिनले कल्पना समेत गर्न नसकिने अत्यन्त डरलाग्दो किसिमको घटना भएको बताए । घटनापछि गाउँ नै स्तब्ध भएको पाख्रिनले बताए ।