हरिवन – पूर्व पत्रकार एवम् नेकपा एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले मृत्यु पछिको पार्थिव शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने घोषणा गरेका छन् ।आफ्नो जन्म दिनको अवसरमा सोमवार (आज) नेता वाग्लेले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै मृत शरीर दान गर्ने योजना सार्वजनिक गरेका हुन् । वाग्लेले सोमवार नै एक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पार्थिव शरीर दान गर्न जाने योजना भए पनि कोभिड १९ को कारण घोषणा मात्र गर्न सकेको सामाजिक सञ्जाल फेसवुकमा लेखेका थिए ।
कोभिडका कारण आफूले कुरा गरेको स्वास्थ्य प्रतिष्ठानले अवस्था सहज भएपछि मात्र कागजात मिलाउन आउनु भनेकाले अवस्था अनुकुल भएपछि शरीर दानवारे सम्झौता गर्न जाने उनले लेखेका छन् ।
मृत्यु पछि पनि आफ्नो शरीर उपयोगी होस् भन्ने उनकाे तर्कछ । चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सिक्न काम लाग्यो भने मृत्युपछि पनि केही योगदान हुन्छ भन्ने वाग्लेको धारणा छ ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखा र सामुदायिक रेडियो सर्लाही हरिवनको सस्थापक अध्यक्ष वाग्ले केही वर्ष देखि पत्रकारिता पेशा छोडेर राजनैतिक र सामाजिक काममा क्रियासिल छन् । उनी अहिले नेकपा एमालेको माधव झलनाथ समुहका जिल्ला कमिटी सदस्य हुन ।