हरिवन, बैशाख १९ – सर्लाहीको हरिवन नगरपालिकाले मंगलवार भोलीबाट बैशाख २५ गतेसम्मका लागि सरकारी कार्यालय, हाटबजार लगायतका क्षेत्र बन्द गर्ने

भएको छ ।
नगरभित्र पछिल्ला दिनमा कोरोना भाईरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु बढेको भन्दै नगरपालिकाले आइतवार बिहान सर्वदलिय, सर्वपक्षिय छलफल आयोजना गरी सो छलफलबाट आएको सुझावका आधारमा विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । हरिवनका मेयर गणेश प्रसाद प्रसाईले आइतवार साँझ सूचना जारीगर्दै भोली मंगलवारबाट सरकारी कार्यालयहरु, गैर सरकारी संघसंस्था, शिक्षण संस्थालगायत सम्पूर्ण कार्यालयबाट प्रवाह हुने सेवा बन्द गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।
साप्ताहिक तथा दैनिक रुपमा लाग्ने हाटबजार, सर्टरमा हुने पसल, होटल तथा रेष्टुरेन्ट, चिया पसलसँगै खेलकुदका गतिविधि बन्द गरिने भएको छ । यस्तै, नगर क्षेत्रभित्र संचालन हुने रिक्सा, टेम्पो, सफारी, लगायतका सम्पूर्ण सार्वजनिक सवारी साधन समेत बन्द गरिने मेयर प्रसाईले निकालेको सूचनामा उल्लेख छ ।
बैक, सहकारीलगायतका बित्तीय संस्थाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने छन् । औषधि पसल र स्वास्थ्य संस्थाहरु भने जतिबेला पनि खुल्ला रहने छन् । मेयर प्रसाईले नगरवासीलाई जथाभावी हिँड्डुल नगर्न र अत्यावश्यक काम परेर बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न र भीडभाड नगर्न आग्रह गरेका छन् ।
नगरपालिकाले दैनिक उपभोग्य बस्तु बिक्री गर्ने व्यवसायीलाई गाडीमा राखेर घरमै समान पुर्याउन, दुग्धजन्य पदार्थको बिहान ८ बजेसम्म मात्रै बिक्री गर्न, फलफूल र तरकारीहरु ठेलामा राखेर बिहान ७ बजेदेखि ११ बजेसम्म घरमै लगेर बिक्री गर्न भनेको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई सदरमुकाम मलंगवा अस्पताल गएर परीक्षण गराउन समेत नगरपालिकाले सचेत गराएको छ । जिल्लाका २० वटा पालिकामध्ये हरिवन नगरपालिकाले यसरी पहिलो पटक हाटबजार बन्द गर्नेलगायतका निर्णय गरेको हो । जिल्लामा अहिले हाटबजारहरु लागिरहेका छन् । विशेष गरी तरकारी तथा खसी बाख्रा बजारको भीडले संक्रमण फैलाउने जोखिम बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।