विराटनगर,मंसिर -२२, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय आम मानिसमा निराशा बढेको बताएका छन् । कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले मानिसहरूले निराशाको व्यापार गरेको बताएका हुन ।
‘‘हामीले सबै कर्महरू गरेर आउँदा पनि मानिसहरू किन सन्तुष्ट छैनन्रु,’ उनले भने, ‘मानिसहरूले निराशाको व्यापार गरे । निराशा भन्दै गर्दा हामी कतै बढी पो बुझिरहेका छौँ कि? ´
‘नागरिक हामीसँग सन्तुष्ट छैनन्।
हामीले नागरिकलाई विकास दिनुपर्छ। जो हामीसँग प्रतिस्पर्धी छ, उहीसँग मिलेर हामीले सरकार बनाएका छौँ’‚ उनले भने, ‘संविधान संशोधनको बहसलाई कसरी गर्ने भनेर हामीले छलफल गरेर औपचारिकता दिन्छौँ।’
महामन्त्री थापाले सहकारी लगायतका सार्वजनिक सम्पत्ति अपचलन गर्ने जुनसुकै पार्टीको भए पनि छुट नहुने बताएका छन्।
‘काँग्रेस र एमाले मिलेर बनेको सरकारले गर्ने भनेको विधिको शासन हो’, उनले भने, ‘सहकारी लगायत सार्वजनिक सम्पत्ति अपचलन गर्ने जुन पार्टीको भए पनि छुट हुँदैन।’
‘कुनैपनि देशसँग जोडेर उत्तेजनामा नआउन आग्रह गर्दै भारत, चीन, अमेरिका सबैसँग राम्रो सम्बन्ध बनाएर सहयोग लिने उनको भनाइ थियो। बिआरआई सम्झौताभित्र थुप्रै दुविधा रहेको बताउँदै उनले भने, ‘चीनले भनेका कुरा सबै मानेनौँ र हामीले भनेका कुरा पनि सबै चीनले मानेन। एउटा आधार बनाएर नेपाली काँग्रेस सहमतिमा सम्झौता भएको हो र यसलाई संसद्मा लिएर जानुपर्छ भनेका छौँ।’
अर्को प्रसंगमा उनले पार्टीले गरेका काम जनतासँग लगेर समुदायसँग जोड्नुपर्नेमा जोड दिँदै उनले नागरिकको मन जित्न सके २०८४ को निर्वाचनमा आफ्नै पोल्टामा आउने दाबी गरे।
पार्टीभित्र एकता अपरिहार्य रहेको बताउँदै उनले सबैलाई मिलाएर लानुपर्ने बताए।
‘कोशी सम्मेलनपछि हामी सबै मिलेर एकताबद्ध भएर जानुपर्छ’, उनले भने, ‘पार्टीले भेला गर्न पाउँदैन भनेको छैन तर हामी सबै एक ठाउँमा उभिएर वैधानिक हिसाबले काम गर्न पाइन्छ।’