काँग्रेस नेता एवं सांसद डा.अमरेशकुमार सिंह ।

मलंगवा, बैशाख ६–नेपाली काँग्रेसका नेता एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले आफू माओवादी केन्द्रमा प्रवेश गरेको भनेर फैलाइएको हल्ला निराधार एवं हास्यास्पद रहेको बताएका छन् ।
काँग्रेस नेता सिंह धनकौल गाउँपालिकास्थित माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य फकिरा महतोको घरमा पुगेर भेटघाट गरेको फोटो अहिले सामाजिक सञ्जालमा सार्बजनिक गर्दै उनी माओवादीमा प्रवेश गरेको भन्दै स्टाटस् भाइरल बनाइएको छ । सिंहको निर्वाचन क्षेत्रमा समेत उहाँले पार्टी परित्याग गरेको भन्दै अहिले चौतर्फी चर्चा भइरहेको छ ।
तर सांसद सिंहले भने आफूविरुद्ध काँग्रेसकै केही नेताहरुले जालझेल गरेर निराधार हल्ला फिजाएका आरोप लगाए । उनले आफू आफ्ना निर्वाचन क्षेत्रका सबै नागरिकको घरमा पुग्ने क्रममा माओवादी नेता महतोको घरमा पुगेको र यसलाई आश्चर्यजनक ढंगले नलिन आग्रह गरेका छन् ।
माओवादी नेता फकिरा र अन्य केही नेताहरुले आफू त्यहाँ पुग्दा फूलमाला लगाएर स्वागत गर्नुभएको सिंहको भनाई छ । उनले आफूविरुद्ध सामाजिक सञ्जालमा गलत हल्ला फैलाउनेविरुद्ध साइबर क्राइममा मुद्वा दायर गर्ने समेत चेतावनी दिए ।
आफ्नो राजनीतिक पहुँच केन्द्रमै रहेको भन्दै नेता सिंहले पार्टी प्रवेश गरे बरु प्रचण्डबाटै गर्छु, जिल्ला कमिटी सदस्यबाट किन गर्नुप¥र्यो ? भन्दै प्रश्न गरेका छन् ।
यता, काँग्रेस नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंहले भने सांसद डा. सिंहले विपक्षीको घर दैलोमा बसेर पार्टी कार्यकार्यमाथि धम्काउने काम गरेको आरोप लगाउनु भएको छ । उनले कार्यकर्तालाई धम्काउने र मनोबल गिराउने काम तत्कालै बन्द गर्न चेतावनी समेत दिएका छन् ।
सर्लाहीको चारवटा निर्वाचन क्षेत्रमध्ये सदरमुकाम मलंगवाबाट पश्चिमतर्फ पर्ने क्षेत्र नं. ४ अलीबढी संवेदनशील र राजनीतिक खिच्चातानी भइरहने क्षेत्रको रुपमा परिचित छ ।
त्यस क्षेत्रमा एक दलका नेताले अर्को दलका नेतालाई देखिनसक्ने र साना–साना घटनालाई पनि राजनीतिक रंग दिने प्रचलन रहेको छ ।