
सर्लाही,मंसिर -१५, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले देशभर खुलेका ४० बढी प्रतिष्ठान हामीले लडेर ल्याएको संघीय संरचना आधारित व्यवस्थाको परिणाम भएको बताएका छन् ।
लालबन्दी नगर वाङ्मय परिषदले शनिवार आयोजना गरेको साहित्य महोत्सव २०८१ लाई सम्बोधन गर्दै कुलपति राईले प्रतिष्ठानको ६७ वर्षे इतिहासमा केही भएन भन्ने गुनासोहरुलाई चिर्न आफैले विद्यार्थीसँग कुलपति कार्यक्रम अघि सारेको समेत बताए ।

उनले स्थानीय तहमा गठन भएका प्रतिष्ठानहरुलाई केन्द्रसँग जोड्न आवश्यक बताउँदै स्थानीय स्तरका अध्ययताहरुलाई अघि सारेर भाषा, साहित्य, कला संस्कृतिको प्रवद्र्धनमा लाग्न आग्रह गरे । उनले स्थानीय तथा प्रदेश स्तरमा गठन भएका प्रतिष्ठानलाई केन्द्रीय प्रतिष्ठानसँग जोड्न आवश्यक रहेको र त्यसको लागि कार्य अघि बढाइएको बताए । तर यसलाई कसरी जोड्ने भन्ने विषय चुनौतिपूर्ण रहेको बताए ।

त्यस्तै साहित्यिक महोत्सवका सभापति एवम् लालबन्दी नगरपालिकाका प्रमुख मेयर बासुदेव अधिकारीले स्थानीय भाषा, कला, साहित्यलाई केन्द्रसँग जोड्न नगर वाङमयले अहम भूमिका खेलेको बताए । उनले वाङ्मयसँग जोडिएका साहित्यकारहरुले लालबन्दीलाई केन्द्रसँग मात्रै नभई देशविदेशमा समेत चिनाएको उल्लेख गरे ।

कार्यक्रममा वाङमय परिषदले तीन जना सर्जकहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी, रचना साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरे र पत्रकार शंकर श्रेष्ठ रहेका छन् ।

वाङ्मय परिषद्ले भण्डारीलाई ‘बोरा’ उपन्यासको लागि नगद ५० हजार र सम्मानपत्र, घिमिरेलाई ५० हजार राशिकै कृष्णलाल स्मृति पुरस्कार २०८१ र श्रेष्ठलाई २५ हजार राशिको स्थानीय प्रतिभा सम्मान २०८१ बाट सम्मान गरेको हो ।

सोही अवसरमा जिल्लाका प्रखर गजलकारका रुपमा स्थापित विवश पौडेल, अन्वेषक तथा कथाकारको पहिचान बनाएका देवराज पौडेल, उदयीमान कविका रुपमा छाप बनाएका सुमन घिमिरे ‘अग्रिम’ द्वारा लिखित कृतिहरुको लोकार्पण गरिएको थियो ।
गजलकार पौडेलको ‘धर्तीको जून’, कथाकार पौडेलको ‘मानवता हराएका सहरहरु’ र सुमन घिमिरेको ‘प्यालासँग नयाँ कविता’ र लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको जीवनीमा आधारित ‘समाजसेवामा बासुदेव अधिकारी’ नामक कृतिहरु लोकार्पण गरिएको हो ।
सो अवसरमा अतिथी तथा सहभागि कविहरुले प्रकाशित कृतिहरुका रचना वाचन गर्नुका साथै चारै कृतिका सर्जकहरुलाई बधाई दिएका थिए ।

कार्यक्रममा गजलकार घनश्याम न्यापाने परिश्रमी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमला, सम्मानित व्यक्तित्व अखण्ड भण्डारी, रोचक घिमिरेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा लालबन्दी नगर वाङ्गमयका अध्यक्ष अच्यूच अधिकारी, जनज्योती बहुमुख क्याम्पस व्यवस्थापन समित अध्यक्ष दिपक अधिकारी, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने तथा विभिन्न जिल्लाबाट आएका कवि तथा साहित्यकार, शिक्षक, विद्यार्थी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।