हरिपुर, बैशाख ५–सर्लाहीको पिडारीमा ४ वर्षअघि एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएको घटनाका मुख्य सुटर पक्राउ परेका छन् ।
पिडारी बजारमा सुनचाँदी पसल गर्ने सुनिल साहलाई २०७४ साल असोज २४ गते साँझ पसल बन्द गरेर बुवासँगै घर फर्किदै गर्दा हरिपुर नगरपालिका–९, पिडारी र पिपरीयाको बीच बाटोमा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए । चार वर्ष पुरानो खुन डाँका तथा सङ्गठित अपराध मुद्दाका फरार प्रतिवादी लालबन्दी नगरपालिका२, पुनर्वासका संजिव पासवानलाई प्रहरीले बल्ल पक्राउ गर्न सफल भएको हो ।
प्रहरीका अनुसार पासवानले नै मुख्य सुटर बनेर सुनिलमाथि गोली प्रहार गरेका थिए । लामो समयसम्म छिमेकी मुलुक भारतमा लुकिछिपी बसेका पासवान यहाँ आउँदा कविलासी नगरपालिका क्षेत्रबाट पक्राउ परेका हुन् । केही दिनअघि ईलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिक्रम साहको कमाण्डमा खटिएको प्रहरी टोलीले पासवानलाई पक्राउ गरेको हो ।
स्रोतका अनुसार पासवानले पक्राउ परेपछि प्रहरीले तयार पारेको मिसिलमा रहेको फोटो आफ्नो नरहेको भन्दै ढाँटेका थिए । पछि उनकी श्रीमती र परिवारका अन्य सदस्य प्रहरी कार्यालय पुगेर मिसिलमा रहेको फोटो र पक्राउ परेको व्यक्ति एउटै रहेको पुष्टी गरेपछि प्रहरीलाई अदालत समक्ष पेश गर्न सहज भएको थियो ।
प्रतिवादी पासवानलाई सर्लाही जिल्ला अदालत पेश गर्दा पूर्पक्षमा कारगार चलान गर्ने आदेश भएको र अदालतको सो आदेश बमोजिम आइतवार सिन्धुली कारागार चलान गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले बताए ।
सुनचाँदी व्यवसायी सुनिलको गोली हानी हत्या हुँदा सात लाख १९ हजार ३७५ रुपियाँ नगद समेत लुटिएको थियो । प्रहरीले घटना भएको केही दिनमै प्रकाश पासवान र उमेश पासवानलाई पक्राउ थियो ।
सुरुमा उनीहरु दुवै सर्लाही अदालतको २०७४ मङ्सिर २५ गतेको आदेश अनुसार पूर्पक्षमा कारगार चलान भएका थिए । पछि अदालतले उनीहरुलाई जन्मकैदको फैसला सुनाएको थियो ।