काठमाण्डौं,मंसिर –१२, नेपाल विद्युत् प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेखेर बक्यौता नतिरेका ३४ वटा उद्योगलाई कारबाही गर्न सिफारिश गरेको छ ।
प्राधिकरणले आज (बुधवार ) ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका उद्योगलाई कारबाही गर्न सिफारिश गरेको हो ।
बक्यौता तिर्न बाँकी रहेका ३४ वटा उद्योगकाे थप दस्तुरसहित जोड्दा ६ अर्ब ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जसरी पनि उद्योगको बक्यौता उठाउने योजनामा छन् । तर बिजुली नकाट्न सरकार र विद्युत् नियमन आयोगले पत्र नै लेखेपछि घिसिङले वैकल्पिक उपाय अन्तर्गत राष्ट्र बैंकलाई पत्र लेखेर बक्यौता नतिरेका उद्योगहरूको बैंक खाता रोक्का गर्न आग्रह गरेका हुन ।
प्राधिकरणले धितोपत्र बोर्डलाई पनि पत्र लेखेर सर्वसाधारणका लागि शेयर जारी गर्ने लगायतका शेयर खरिदरबिक्री कार्यको इजाजत नदिन आग्रह गरेको छ । साथै प्राधिकरणले कम्पनी रजिस्ट्रारलाई पत्र लेखेर शेयरको हक हस्तान्तरण र धितो बन्धक रोक्का गर्न भनेको छ ।
यसअघि गएको कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योगहरूसँग १५ दिनभित्र बक्यौता उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको थियो । १५ दिन आज पुगेको छ । प्राधिकरणले आज लाइन काट्ने तयारी गरेकोमा सरकार र आयोगले पत्र पठाएर लाइन काट्न रोकेका छन् ।