बारा,मंसिर -१, पशुवलीका लागि विश्वप्रसिद्ध बारा जिल्लाको पञ्चवर्षिय गढीमाई मेला शनिवार( आज) देखि विधिवत रुपमा सुरु गरिएको छ ।
प्रत्येक पाँच वर्षमा लागने गढीमाई मेला यसपटक असोज १७ गते घटस्थापनादेखि विशेष पूजा गरी शुभआरम्भ गरिएको भए पनि विधिवत रुपमा मंसिर १ गते (आज) देखि विशेष पुजाको आयोजना गरी २३ गते पशुवली दिएपछि समाप्त हुने छ ।एशियामा मात्र नभई विश्वमा पशुवलीका लागी प्रख्यात रहेको गढीमाई मेला मुख्यत पशुवलीका लागी प्रख्यात छ।
नरवलीको रुपमा मुख्य तान्त्रिकले आफ्नो शरिरको पाँच स्थानबाट रगत निकालेर चढाउने परम्परा पूरा भएपछि मात्र पशुवली दिने गरिएको छ ।
मानवको शरिरबाट रगत निकालेर चढाउने परम्परा लाई नरवली भनिए पनि बली होइन, मानव रगत चढाउने परम्परा हो ।मन्दीरमा मुल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा परेवा हाँस सुंगुर र राँगाको वली दिए पछि सर्वसाधारणले वली दिन पाउने छन् ।
मुल तान्त्रिक धामीको केही दिन अगाडि मृत्यु भएपछि मान्यता अनुसार यस पटक उहाँको जेठो छोरा उमाशंकरले आफ्नो बुवाको परम्परालाई निरन्तरता दिँदै आफ्नो शरिरको पाँच भागको रगत गढीमाईलाई चढाउने भएका छन् ।
त्यसअघि रातभरी मन्दीरमा पूजा अराधना भएपछि पुजा आराधनाको प्रभावले ब्रह्मस्थानमा रहेको बत्ती आफैँ बल्छ, बत्ती बलेपछि मात्र पञ्चबली दिने गरिन्छ । मंसिर २३ गते तान्त्रिक विधिबाट दीप प्रज्ज्वलन गरी गढीमाई मन्दीरको पूर्वपट्टी रहेको ब्रम्हबाबाको मन्दिरमा पञ्चवली दिएपछि पशुवली शुरु हुने मुल पुजारी चौधरीले बताए ।
यता सर्लाहीका विभिन्न ठाउँमा पनि गढीमाई पञ्चवर्षिय मेला लाग्ने भएको छ । सर्लाहीको रामनगर गाउँपालिका र कविलासी नगरपालिकामा गढीमाई मेला लाग्ने गर्दछ ।
रामनगर गाउँपालिका वडा नं. ३ खैर्वा बहुअर्वामा मंसिर १८ गते देखि गढीमाई मेला लाग्ने शिक्षक धर्मेन्द्र चौधरीले जानकारी दिए। रामनगरमा लाग्ने मेला मंसिर २५ गते समापन हुनेछ । खैर्वा बहुअर्वामा लाग्ने मेलाका लागि मंसिर १८ गते कलश यात्रा, २३ गते विशेष पुजा तथा राँगा बली र २४ गते बोका बली दिइने आयोजक रामनगर गाउँपालिका वडा नं. ३ ले जनाएको छ।