
सर्लाही,कार्तिक -२४, जिल्लाकाे लालबन्दी-७ मा रहेको जनकृषि सहकारी संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष महेन्द्र महताेकाे सभाध्यक्षता तथा मधेस प्रदेश सभा सदस्य एवम् पूर्व श्रम तथा यातायात मन्त्री बेची लुंगेलीकाे प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे । साधारणसभामा जिल्ला समन्वय समिती सर्लाहीका उपसभापति जितेन्द्र कुशवाहको बिशिष्ट आतिथ्यता रहेको थियो।

लालबन्दी ६ स्थित वडा कार्यालयको सभाहलमा साधारणसभा सम्पन्न गरिएको संस्थाका प्रबन्धक बीपीन झाले जानकारी दिए। कार्यक्रममा बिभिन्न क्षेत्रमा याेगदा गर्ने १३ जनालाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा सबैभन्दा धेरै स्वेच्छिक बचत गर्ने बेचनी देवी कोईरी, सबैभन्दा अधिकतम शेयर रकम जम्मा गर्ने महेन्द्र महतो, ज्येष्ठ नागरिक शेयर सदस्य देवीबन्धु थापा, ज्येष्ठ नागरिक शेयर सदस्य महिलातर्फ बिष्णु कुमारी कार्कि रहेका छन् ।

त्यसैगरि बाल बचत सबैभन्दा बढि जम्मा गर्ने अंकुश साह, दैनिक बचत जम्मा गर्ने डा.आलोक कुमार कुशवाह, ऋण र बचत नियमित कारोबार गर्ने रघुनाथ कंडेल, उत्कृष्ठ संचालक पुरुष सत्य नारायण महतो, उत्कृष्ट संचालक महिलातर्फ अनिता कर्ण, उत्कृष्ठ कर्मचारी हरेन्द्र कुमार झा (बिपिन), सबैभन्दा बढि दैनिक बचत संकलन गर्नेहरु सुनिल महतो, पुनित ठाकुर र साबित्रा धमला सम्मानित भएका छन् ।
साधारणसभाको अवशरमा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ८ जना पुरुष र २ जना महिला गरि १० जनाले रक्तदान गरेका सहकारीका अध्यक्ष महेन्द्र महतोले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सत्यनारायण महतोले आर्थिक वर्ष २०८०/८१ प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले साे अवधिमा झण्डै २ करोडको बराबरको कारोबार गरि १६ लाख १ हजार ३७ रुपैँया नाफा आर्जन गरेको कोषाध्यक्ष महतोले जानकारी दिए ।
२०६८ सालमा ३४ जना सदस्यले १ हजारका दरले रकम संकलन गरि संचालनमा ल्याएको सहकारीमा हाल ३४१ जना सेयर सदस्य रहेका छन् । संस्थाकाे २९ लाख ६२ हजार सेयर पुँजी रहेको संस्थाका प्रबन्धक बीपीन झाले जानकारी दिए।