लालबन्दी,चैत १४ – लालबन्दी नगर वाङ्मय परिषद्काे अध्यक्षमा गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारी चयन भएका छन् ।
लालबन्दी नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद–३ को दफा ७, ९३० बमोजिम अधिकारीको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।
परिषद्को उपाध्यक्षमा राजेश्वरी काफ्ले, सचिवमा सुमन घिमिरे अग्रिम, कोषाध्यक्षमा विवश पौडेल निर्विरोध चयन भएका छन् । परिषद्का अन्य सदस्यहरूमा निर्मल बराल, मकरबहादुर सार्की, टीकाराम श्रेष्ठ, सुमित्रा आचार्य, रीता कोइराला, कर्णबहादुर चौहान, सूर्यप्रसाद बराल, अम्बिका पौडेल र रामदरेश महतो छन् ।
त्यस्तै परिषद्को सल्लाहकार समितिमा पुष्कर घिमिरे ‘पथिक’, बलराम पोखरेल, विप्रहरि दाहाल, गोविन्द अधिकारी, वासुदेव अधिकारी, सन्तोष दाहाल ‘स्नेह’ देवीबन्धु थापा रहेका छन् ।
कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नगरभित्रकाे भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति, धर्म र दर्शनको विकासलाई व्यवस्थित तरिकाले अगाडि बढाउन नेपालको संविधान, २०७२ को धारा २२६ को उपधारा १ सँग सम्बन्धित अनुसूची–८ को बुँदा नं. २२ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ दफा–११ उपदफा– २ ९ क. १ र ५ अनुसार ऐन बनाई कार्य प्रक्रिया प्रारम्भ गरेको बताए ।
भेलालाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले भाषा, साहित्य, कला, सङ्गीत, संस्कृतिको संरक्षणमा निर्वाचित समितिलाई दत्तचित्त भएर लाग्न आग्रह गरे ।
भाषा, साहित्य, सङ्गीत, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासबाट मात्र नगर समृद्धितर्फ लाग्ने , नगर उपप्रमुख शान्ति बताईन ।
वाङ्मय परिषद्का नव निर्वाचित अध्यक्ष अच्युत अधिकारीले नगरको भाषा तथा साहित्यको समृद्धिमा आफूहरू एक ढिक्का भएर लाग्ने बताए ।
लालबन्दी नगरपालिकाका कर्मचारी तथा साहित्यकार कोमलहरि गौतमको सहजीकरणमा भएको कार्यक्रममा साहित्यकारहरुले भाषा र साहित्यको संरक्षणमा नगरपालिकाले देखाएको तत्परताले आफूहरू हर्षित भएको बताए । कार्यक्रममा सर्लाही साहित्य समाजकी अध्यक्ष मिना देवकोटा , सचिव उत्तम दाहाल,नेपाली लेखक सङ्घका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य जीवन आचार्य ‘निश्चल लगाएको उपस्थिति रहेको थियो ।