सर्लाही,कार्तिक -२१,सूर्यको उपासना गरी मनाइने छठ अन्तरगत आज खरना मनाईदै छ । पहिलो दिन कात्तिक शुक्ल चौथीमा हिजो ‘नहाय–खाय’ सम्पन्न गरेका व्रतालुले आज साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाएका हुन् ।
बिहान स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ व्रतालुले त्यही खिर ग्रहण गरि घरपरिवारका सदस्यलाई बाँड्छन् ।


यो विधिलाई ‘खरना’ भनिन्छ । आज दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्र दर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् । पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने गरिन्छ ।


त्यसको भोलिपल्ट सप्तमीका दिन पर्सि शुक्रवार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुन्छ । छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवा सहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्‍याउने जाने चलन छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ ।