सर्लाही,कार्तिक २०, जिल्लाको गोडैताबाट हात हतियार र नक्कली नोटसहित दुई भारतीय नागरिकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाँउका २६ बर्षिय कुन्नु पटेल र सोहि ठाउँका ३० बर्षिय मुकेश पटेल रहेका छन् ।उनीहरुलाई सिमाबर्ती क्षेत्र गोडैता नगरपालिका–१२, मधुवनीबाट प्रहरीले पक्राउ गरेकाे हो ।


उनीहरुलाई अवैध हात–हतियार र खोटा मुद्रासमेतको ओसार पसार हुन सक्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले आज (मंगलवार ) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पैदल आईरहेका उनीहरुलाई उक्त स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा अबैध हात हतियार र नक्कली नोट रहेको पाईएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल, केएफ आठ एमएम लेखिएको ६ थान र केएफ नौं एमएम ४ थान गोलि, १० थान बण्डलमा १,००० रुपैंयाका नक्कली नोटहरू बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाईएको जील्ला प्रहरी कार्यालय मलंगवाले जनाएको  छ ।