मनोज यादव/सर्लाही
कार्तिक -१४, जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर -५ भाँडसर स्थित श्री रामगुलाम जनता माध्यमिक विद्यालयका ८ सय विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ। सोही विद्यालयका संस्थापक स्वर्गीय रामगुलाम खिडहरीका नाति भाँडसर निवासी युवा सामाजिक अभियन्ता मनिष कुमार यादवले उक्त विद्यालयमा अध्यनरत कक्षा १ देखि १० सम्मका ८ सय विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन ।


अन्जनी खिडहरीका छोरा मनिषको आर्थिक सहयोगमा विधार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको श्री रामगुलाम जनता मावि का प्राधानाध्यापक मनोज कुशवाहाले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम लक्षण यादवको अध्यक्षता,मलंगवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साहको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि नेपाली काँग्रेस मलंगवा नगर कमिटीका पुर्व अध्यक्ष चन्द्र किशोर साह,राजश्री सेविंग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेड मलंगवाका मुख्य प्रबन्धक राजनहरी श्रेष्ठ ,कुमार खिडहरी लगायतको उपस्थितिमा विद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो ।


कुनै एक समुदाय अथवा वर्गलाई मात्र नछुट्याइ विद्यालयमा अध्यनरत सबै समुदाय तथा वर्गका विद्यार्थीहरुलाई समान रुपले विद्यालय पोशाकको कपडा वितरण गरेको कार्यक्रमका आयोजक तथा सामाजिक अभियन्ता मनिषले बताए।
पहिलो चरणमा विद्यालय पोशाक वितरण गरेको र दोस्रो चरणमा छठ पर्व पछि विद्यालय खुले लगत्तै ब्यक्तिगत लगानीमा प्रत्येक विद्यार्थीलाई टाई,बेल्ट र परिचयपत्र वितरण गर्ने उनले बताए । साथै सबै विद्यार्थीहरुलाई पोशाक लगाएर विद्यालयमा आउन समेत उनले अनुरोध गरे।
साेही विद्यालयबाट एसएलसी दिनुकासाथै संस्थापक परिवारको सदस्य भएको नाताले पनि विद्यालय प्रति आफनो लगाव रहेको र बाबु बाजेले पनि विद्यालय प्रति देखाएको माया, स्नेह र प्रेमलाई आत्मसाथ गर्दै पहिलो प्रयासको रुपमा विद्यालय पोशाक वितरण गरेको मनिषले बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम लक्षण यादवले विद्यार्थीहरुले पाएको पोशाकको कपडाले उनीहरुलाई अध्ययन गर्न थप मदत पुग्ने बताएका छन् । युवा समाजसेवी मनिषले गरेको यो कार्य प्रशंसा योग्य रहेको उनले बताए रेडियोकर्मी सुनिक रायले संचालन गरेको पोशाक वितरण कार्यक्रममा स्थानीय बुद्धिजीवी ,शिक्षक,विद्यार्थी, अभिभावक ,स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो।