राजु तामाङ/सर्लाही
कात्तिक- १३,जिल्लाको बागमती नगरपालिका ४ जिरायतमा दुईदिने धर्मदेशना प्रवचन कार्यक्रम सुरु गरिएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजना र साङ्गे छ्योइलिङ गुम्बाको व्यवस्थापनमा गुम्बाको प्राङ्गणमा प्रवचन कार्यक्रम सुरु गरिएको हो ।
गुम्बा विकास समितिको केन्द्रीय अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिण्डोल) को अध्यक्षता तथा प्रदेश सभा सदस्य जवाहरलाल कुशवहाको प्रमुख आतिथ्यतामा प्रवचन कार्यक्रम सुरु गरिएको हो । मंगलवार बिहान औपचारिक कार्यक्रम पश्चात गेसे निमा तामाङ मार्फत प्रवचन सुरु गरिएको छ ।


गौतम बुद्धले जन्म लिएको भूमिमा पछिल्लो समय बौद्ध धर्मको लोप हुँदै गएको अवस्थामा नेपाल सरकारको मातहतमा रही विभिन्न गाउँघरमा पुगेर वार्षिक कार्यक्रम अन्तर्गत गुम्बा विकास समितिले गुम्बाका प्रमुख लामा, लामा गुरुहरु, व्यवस्थापन समितिका अध्यक्ष लगायतका व्यक्तिहरुलाई धर्मको विषयमा सुनाउन बुझाउन र प्रचारप्रसारका लागि धर्मदेशना कार्यक्रम सञ्चालन गर्दै आइएकाे आयोजकले जनाएको छ ।


कार्यक्रममा बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण कुमार लामा, गुम्बा विकास समितिका सदस्यहरु नारायण बहादुर आले (भिक्षु मेधाङ्कर स्थबीर), आनी निश्चल पाख्रिन (याङ्तेन डोल्मा), विश्व लामा, तामाङ संस्कृति विध ताम्बा समाजसेवी जित बहादुर गोले, ४ नम्बर वडाका कार्यवाहक अध्यक्ष अर्थमान सिङ्तान, तामाङ पत्रकार, जिल्ला अध्यक्ष चन्द्र बहादुर जिम्बा, लामा गुरु, गुम्बाका अध्यक्ष तथा पदाधिकारी बुद्धिजीवी राजनीतिज्ञ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।