
राजु तामाङ/ सर्लाही
कात्तिक -१२,जिल्लाको हरिपुर नगरपालिका २ सानो जगतपुरमा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आयोजक नव संघर्ष शिल युवा क्लब निलो फाइनल प्रवेश गरेको छ ।
सानो जगतपुरको खेल मैदानमा सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा जन जागृति युवा क्लबलाई ६-२ गोल अन्तरले पराजित गर्दै आयोजक निलोले फाइनलमा रोमन एफसी सँगको भेट पक्का गरेको हो । रोमन एफसी पहिलो सेमिफाइनलमा आइतवार अल्टोकीलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।

खेलको सुरुवाती आठौं मिनेटमा जन जागृतिका क्रिश बुढाथोकीले गोल गर्दै अग्रता लिए पनि त्यो अग्रता धेरै बेर टिक्न सकेन । १३ औं मिनेटमा आयोजकका विश्व लामाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफको २६ औं मिनेटमा प्रज्वल मगर र ३५ औं मिनेटमा कृपा कान्त चौधरीले गोल गर्दै अग्रतालाई बढाए ।
दोस्रो हाफ पछि झनै आयोजक जन जागृति माथि हावी भयाे, दोस्रो हाफको नवौं मिनेटमा र १७ औं मिनेटमा विश्व लामाले नै गोल गर्दै आफ्नो ह्याट्रिक गोल पूरा गरे । २५ औं मिनेटमा जन जागृतिका संजोक बोम्जनले गोल फर्काउँदै लयमा फर्किने संकेत गरे पनि प्रयाप्त हुन सकेन झनै ३१ औं मिनेटमा कृपा कान्त चौधरीले गोल गर्दै टिमलाई बिजयी बनाए ।
दोस्रो सेमिफाइनल खेलको हिरो अफ द म्याच ह्याट्रिक गोल गर्ने विश्व लामा घोषित हुँदै नगद पाँच सय रुपैयाँ प्राप्त गरे ।

कार्तिकक ३ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ सोही दिन फाइनल अघि हरिपुर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिको भेट्रान्स र आयोजक भेट्रान्स बीच मैत्रीपूर्ण खेल हुने क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । जारी प्रतियोगितामा आयोजक दुई टिम गरी १४ टिमको सहभागीता रहेको छ ।