हरिवन,चैत्र ९ – नेपाल पत्रकार महासंघ सर्लाहीको आगामी निर्वाचनमा अध्यक्षका लागि नेपाल प्रेस युनियनले टंकबहादुर क्षेत्रीलाई अगाडी सारेको छ ।
उज्यालो अभियान दैनिक एवं उज्यालो अभियान अनलाईन संचालक संस्था उज्यालो अभियान मिडिया नेटवर्क प्रालिका अध्यक्ष एवं नागरिक दैनिकका पत्रकार क्षेत्रीलाई युनियनले अध्यक्षको उम्मेद्वारमा सर्बसम्मत रुपमा अगाडी सारेको हो । युनियनको तर्फबाट महासंघ सर्लाहीको अध्यक्षका लागि रामबाबु खड्का र विद्यानन्द राय पनि प्रत्यासी थिए । प्रेस युनियनको विस्तारित बैठकले केही दिनअघि गठन गरेको कार्यदलको सोमबार हरिवनमा बसेको बैठकले क्षेत्रीलाई सर्बसम्मत रुपमा नेपाल पत्रकार महासंघ सर्लाहीको अध्यक्षको उम्मेद्वारका रुपमा अगाडी सारेको हो । प्रेस युनियन सर्लाहीको विस्तारित बैठकले केन्द्रीय सदस्य रोशन न्यौपानेको संयोजकत्वमा पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्ण कुमार एस्माली, पत्रकार महासंघका प्रदेश सदस्य एवं प्रेस युनियनका पूर्व अध्यक्ष अजित कुमार सिंह, प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्णप्रसाद थपलिया, प्रेस युनियनका केन्द्रीय पार्षद ओमप्रकाश ठाकुर लगायत रहेको कार्यदल गठन गरेको थियो । युनियनबाट अध्यक्षका प्रत्यासीको रुपमा रहेका खड्का र यादवले पनि क्षेत्रीका लागि पूर्ण रुपले सहयोग गर्ने र संगठनले गरेको निर्णय आफूहरुलाई मान्य रहेको बताएका छन् ।
युनियनले गठन गरेको कार्यदलका संयोजक न्यौपानेले पत्रकारिता क्षेत्रसँग सम्बन्धित प्रेस सगठन, प्रेस मञ्च नेपाल, लगायत अन्य विभिन्न संघ संगठनसँग पनि सहकार्यका लागि संवादको प्रकृया अगाडी बढाईने जानकारी दिए । कार्यदलका सदस्य एवं पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष एस्मालीले पनि अब युनियनको तर्फबाट क्षेत्रीको नेतृत्वमा सर्बसम्मत रुपमा कार्यसमिति चयन गर्नका लागि प्रयास भईरहेको बताए । पत्रकार महासंघको केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको आगामी चैत २५ गते निर्वाचन हुँदैछ ।