बरहथवा, चैत ७—सर्लाही घरभई राष्ट्रिय स्तरमै चर्चा परिचर्चा कमाउन सफल कलाकार साहित्यकारसहित १७ जनालाई आज बरहथवा नगरपालिका कार्यालयले सम्मान गरेको छ । नगरपालिकाले वडा नं. २, हजरियास्थित खेल मैदानमा सर्लाही स्वर्णिम सम्मान २०७७ बाट चर्चित कलाकार, कवि, निर्देशक, पत्रकारलगायतलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कवि एवं गीतकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, गायक शिव परियार, हास्यकलाकार शिवशङ्कर रिजाल (जोगेन्दर), निर्देशक प्रतिप भट्टराई, गायक कमल खत्री, मोडल कविता नेपालीलगायत रहनु भएको छ । कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्लालाई नै देशव्यापी रुपमा चिनाउन सफल भएका व्यक्तिहरुलाई थप हौसल्ला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताए । नगरप्रमुख महतो, उपप्रमुख सीतादेवी माझीलगायतले सम्मानित हुने व्यक्तिहरुलाई कदर पत्र र दोसल्लाबाट सम्मान गरे ।

यस अघि सम्मानित व्यक्तिहरुलाई टायरगाडामा राखेर कार्यक्रम स्थल सम्म लगिएको थियो ।
कार्यक्रममा उपस्थित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएर मनोरञ्जन समेत प्रदान गरेका थिए ।
