
सर्लाही,असोज—१४, पूर्व— पश्चिम राजमार्ग अन्तर्गत रानीगञ्ज सडक खण्डमा सोमवार दिउँसाे २ :३० बाट स्थानीयले गरेको चक्काजाम साँझ ५: २० मा खुलेको छ ।
मकवानपुर पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ खेलाडी मध्ये लालबन्दी—१७ , रानीगञ्जका १३ वार्षिय आदित्य बलम्पाकीको शव अहिले सम्म पनि परिवारले नपाएको भन्दै मृतकका आफन्त र स्थानीयले चक्काजाम गरेका थिए। मृतकका आफन्त शव बुझ्न काठमाडौं पुगेका छन् ।

पीडित परिवारले एन्फा पदाधिकारीकाे लापरबाहीका कारण आदित्यकाे ज्यान गएको भन्दै दिएको जाहेरी प्रहरीले नबुझि एन्फा प्रतिनिधि र प्रहरीले तयारपारेको कागजमा सहिछाप गरेमात्र शव जिम्मा लिन आग्रह गरेपछि परिवार र आफ्नले नमानेकाे स्थानीय युवा विशल थापाले चियोचचो खबरलाई जानकारी दिए ।

परिवारकाे माग अनुसारनै जाहेरी लिने र शव बुझ्ने सहमति पछि चक्काजामलगायत आन्दोलनका कार्यक्रम स्थगन गरिएको थापाले बताए ।
पहिरोमा परि लालबन्दी —१७ का आदित्य बलम्पाखी, हेटौंडा उपमहानगरपालिका–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन र सिस्नेरी टेकरका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य र निजगढका विकल रेग्मीको मृत्यु भएको थियो ।

उनीहरूको शव काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको थियो । मृतक प्रशीक्षार्थी खेलाडीहरु इन्द्रसरोवर गाउँपालिका–३, वत्सलादेवी माविमा एन्फाले राखेको यू–१४ क्याम्प रहेका थिए । त्यहाँ रहेका ४० खेलाडीमध्ये ६ जना पहिरोमा बेपत्ता भएका थिए । करिब ५ घण्टा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा ६ जनाको शव पहिरोले पुरिएको अवस्थामा भेटिएको थियो।

एन्फाले नेपाली सेनासँग समन्वय गरी हेलिकोप्टरमार्फत् शव र ३० खेलाडीलाई काठमाडौं लगेको थियो ।
चार खेलाडी स्थानीय भएका कारण सिस्नेरीमै छोडिएको थियो । लालबन्दी—१७ रानीगन्जका आदित्य लालबन्दीबाट जिल्ला र प्रदेशको छनौट हुदै, एकेडेमीमा पुग्न सफल भएका थिए । उनको मृत्यु पछि स्थानीय शेकमा छन् ।