काठमाण्डौ,असोज –३, संसदीय सुनुवाई समितिले सरकारले विभिन्न देशका लागि प्रस्ताव गरेका १६ जना राजदूतको नाम अनुमोदन गरे छ ।
सरकारले विभिन्न देशको लागि १७ जनाको नाम प्रस्ताव गरेकोमा समितिले १६ जनाको नाम अनुमोदन गरेको हो ।
समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार उजुरीकर्ताहरुको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, कार्ययोजना र भनाइ सुनेर निर्णय लिइएको हो ।


उनका अनुसार समितिमा छलफल गरी १६ जना राजदूतको नाम बहुमतले पारित गरेको र श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपुरो भएकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको छ ।


उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा.कपिल श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित डा.नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राख्नुभएको बताए ।


जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको लागि फरक मत रहेको बताएका थिए । उनले समावेशीता अझै अपूरो रहेको सांसदहरुको गुनासोपछि परराष्ट्रमन्त्री डा।आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण माग्ने बताए ।