
(भाग—५)
जनमत सङ्ग्रह ( वि.सं.२०३६)
वि.सं. २०३६ सालमा नख्खु जेलबाट छुटेपछि के गर्नुभयो ?
नख्खु जेलबाट वि.सं.२०३६ साल कार्तिकमा छुटेर सर्लाही आउँदा राजनीतिक गतिविधिहरू शून्य जस्तै थियो । रामहरि जोशीले वि.सं. २०१० सालमै पब्लिक हाइस्कुल खोलेर पढाएर बस्नुभएको थियो । उहाँ पञ्चायत कालमा स्नातकबाट सांसद लड्नुभएको थियो तर हार्नुभयो । मैले रामहरि जोशीेसँग भेट गरँे र राजनीतिमा सक्रिय हुन उहाँलाई आग्रह गरेँ । उहाँ अदम्य साहसी, त्यागी, सत्यवादी र इमान्दार व्यक्तिको रूपमा परिचित हुनुहुन्थ्यो । सम्भवतः मेरो आग्रहलाई उहाँले स्वीकार्नु भएको रहेछ । मैले त्यस्तै अनुभव गरेँ । उहाँ वि.सं.२०३६ सालको जनमत सङ्ग्रहमा सक्रिय भएर लाग्नुुभयो । वि.सं.२०३६ सालको जनमत सङ्ग्रह पश्चात् उहाँलाई पब्लिक स्कुलबाट हटाइयो । सर्वोच्चमा मुद्धा दिएर विजय भएपछि पुनः पब्लिक स्कुलमा उहाँ प्रवेश गर्नुभयो ।
राशबिहारी राय पञ्चायत विरुद्ध हुनुहुन्थ्यो । उहाँ इन्डियामा बस्नुहुन्थ्यो । वि.सं. २०३६ सालमा सर्लाही आएपछि गाउँगाउँमा सम्पर्क राखेर पुराना सुस्ताएर बसेका काङ्ग्रेसी नेता कार्यकर्ताहरूलाई भेट गरी जगाउने काम पनि मैले गरेँ ।
बहुदल प्रचारप्रसार समिति बनाएर त्यस समितिलाई नै पार्टीको रूप दिइएको थियो । जनताहरूमा जागरण ल्याउन बहुदल प्रचार प्रसार समितिको तर्फबाट लोकतन्त्र बुलेटिनहरू छपाएर निकाल्ने काम पनि मैले गरेँ । गाउँगाउँ पैदल हिँडेर सङ्गठन विस्तार गर्ने, जागरण ल्याउने कार्यमा म लागेँ । म सर्लाही जिल्लाका तत्कालीन ९९ गाउँ पञ्चायत पैदल पुगेँ र पार्टीको सङ्गठन विस्तार गर्ने काम गरेँ ।
पञ्चायतमा लाग्ने मान्छे हाम्रा शत्रु होइनन् भनेर म गाउँका मानिसहरूलाई सम्झाउँथेँ । पञ्चेहरूलाई पञ्चायतले पाल्तु कुकुर जस्तो बनाएको छ भनेपछि पञ्चहरू पनि बहुदलका समर्थक हुन थाले । उनीहरू कति काङ्ग्रेस बने तर उनीहरू समय समयमा विचार बदलिरहन्छन् । जनमत सङ्ग्रहमा सर्लाहीमा बहुदलको जित भयो ।
बहुदलको प्रचार गर्न वी.पी. मेची महाकाली जाने क्रममा कति स्थानहरूका कार्यक्रममा मैले पनि भाग लिएँ । धनगढीको बहुदल प्रचारको आमसभामा पनि म पुगेको थिएँ । आमसभामा जाने क्रममा पुलिसले मलाई पक्राउ गरी ७ दिन थुनेर छाडिदियो ।
वी.पी. वि.सं. २०३८ सालको चुनावमा भाग लिने कि नलिने भनेर सल्लाह गर्न सर्लाही आउनुभएको थियो । यहाँ जुटपानीमा खाना खाएर उहाँ मलंगवा जानुभएको थियो । त्यो मेची महाकाली अभियानको क्रममा थियो । त्यो अभियानमा म सप्तरी, धनगढी, भिमफेदी, नेपालगञ्ज जेलमा कहीँ १÷२ दिन त कहीँ ५÷६ दिन जेल बसेको थिएँ । सप्तरीमा मलाई प्रहरीेले समातेर बेलवारीमा लगेर छाडेको थियो । बीरगञ्जमा फक्रँदा पथलैयामा ल्याएर छाडेको थियो । धनगढीमा चाहिँ प्रहरीले एक हप्ता थुनेर मलाई छाड्यो ।
वि.सं. २०३८ सालमा चुनाव भयो । चुनावमा सबैले लड्न पाउने भए तर पञ्चायतको भातृसंस्थाको सदस्य बन्नुपर्ने सर्त राखिएको थियो । भातृ संस्थाको सदस्यता लिँदा पञ्चायतको नीति कार्यक्रम मान्छु भनेर सदस्यता दिने प्रावधान थियो । त्यसैले त्यस चुनावलाई हामीले बहिष्कार ग¥यौँ । चुनाव बहिष्कार गरेको भनेर प्रशासनले पक्रेर दुई महिना मलंगवा जेलमा थुन्यो । चुनावको विरोधमा जुलुस निकालिएको थियो, त्यही जुलुसबाट मलाई प्रहरीेले समात्यो । त्यस समयमा मेलै वि.सं. २०३६ सालदेखि वि.सं.२०३८ सालसम्म नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सर्लाहीको सदस्य र वि.सं. २०३८ देखि वि.सं.२०४५ सालसम्म नेपाली काङ्ग्रेस सर्लाही जिल्ला कार्य समितिको सभापतिको जिम्मेवारी सम्हालेको थिएँ ।

वि.सं.२०३६ सालपछि कस्ता सामाजिक काम गर्नुभयो ?
फेरि नवजीवन
म वि.सं. २०२६ सालदेखि नै सर्लाही बस्न थालेको थिएँ । अब सर्लाहीतिरै बस्नुपर्छ भन्ने मानसिकता बनाएर मैले सर्लाही जिल्लाको साबिक नेत्रगञ्ज गाविसको जुटपानीमा केही जग्गा किनेको थिएँ । त्यस समय जुटपानीमा स्कुल थिएन । हालको चक्रेश्वर महादेव मन्दिर पश्चिम एउटा घरमा धरम भकारी भन्ने व्यक्ति थिए । एक जना शिक्षक खोजेर त्यही धरम भकारीको घरमा गाउँका बालबालिका जम्मा गरेर पढाउने व्यवस्था मैले मिलाएँ । मसँगको निकटताले प्रेमदयाल प्रधान पनि जुटपानी आउनुभयो । मैले प्रेम प्रधान र उनको छोराको नाममा पनि जग्गा किनाउने काम गरेको थिएँ । हामीले सर्लाहीको जुटपानीमा स्कुल सञ्चालन गर्ने सल्लाह ग¥यौँ । वि.सं. २०३६ सालमा नवजीवन विद्याश्रमका नामले हामी (म र प्रेम प्रधान) ले जुटपानीमा विद्यालय खोल्यौँ । विद्यालय राम्रैसँग चल्यो । वरिपरिका गाउँबाट विद्यार्थीहरू पढ्न आउँथे । त्यस समयमा सरकारले शुल्क लिएर विद्यार्थीहरू पढाउँथ्यो । हामीले निःशुल्क विद्यार्थी पढायौँ । त्यसैले होला विद्यार्थीको ओइरो लाग्यो ।
पहिले सरकारले विद्यालयलाई स्वीकृति प्रदान गर्न आनाकानी ग¥यो । दुई वर्ष अन्य विद्यालयबाट विद्यार्थीहरूलाई एस.एल.सी. दिन लगाइयो । पछि विद्यालयले स्वीकृति पायो । विद्यालयको नाममा मेरो नाममा रहेको २ विगाह जग्गा र मञ्जु कोइरालाको नाममा रहेको १ विगाह जग्गा प्रदान ग¥यौँ । टिकामायाको नामबाट आठ कठ्ठा जग्गा पनि विद्यालयको नाममा आएको थियो । त्यस समय तीन चार हजार पर्ने जग्गा पास गर्दा ६ हजार विगाहमा १० विगाह जग्गा हामीले किनेका थियौँ । विद्यालयको भवन बनाउने पैसा प्रेमदयाल प्रधानले खर्च गर्नुभयो । नवजीवन विद्यालय स्थापना गर्दा घर प्रधानजीले बनाउनुभयो । विद्यालयका लागि नयाँ फर्निचर (डेक्स बेन्च) बनाउँदा मञ्जु कोइरालाको दुई लाख पचास हजार खर्च भएको थियो ।
पहिले प्रेम प्रधानको र मेरो परिवार एउटा परिवार भएर बसेका थियौँ । पछि हिसाब किताब गरेर अलग अलग बस्न थाल्यौँ । प्रेम प्रधानलाई सर्लाहीको जुटपानीमा मैले लिएर आएको हुँ । उहाँलाई असल मान्छे भनेर नेत्रगञ्ज पञ्चायतमा चिनाएर प्रधानपञ्चमा उठ्न प्रोत्साहित गरेँ । उहाँ दुई चोटि नेत्रगञ्ज पञ्चायतको प्रधानपञ्च पनि बन्नुभयो ।
म नवजीवन विद्यालयको संस्थापक सचिव थिएँ । प्रेम प्रधानजी संस्थापक अध्यक्ष हुनुभयो । यसरी काठमाडौँ लाजिम्पाटको नवजीवन स्कुललाई नै निरन्तरता दिन विद्यालयको नाम नवजीवन विद्याश्रम राखेर सञ्चालन ग¥यौँ । यस विद्यालयले यस समाजमा शुल्क तिरेर पढ्न असमर्थ हुने बालबालिकाहरूलाई अध्ययन कार्य अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । यो हामीले समाजसेवाको लागि खोलेको विद्यालय थियो ।
प्रेमदयाल प्रधानलाई सम्झँदा वाल्मीकि ऋषिको याद आउँछ । उहाँलाई समाजसेवा गर्ने मन त्यति थिएन । मेरै कारणले उहाँ समाज सेवामा आउनुभयो । उहाँ भन्नुहुन्थ्यो मलाई बासु कोइरालाले समाज सेवामा फसाई दिए । म व्यापार गर्ने मान्छे भन्नुहुन्थ्यो । बासु र मलाई फुटाउन खोज्छन् मान्छेहरू तर पृथ्वी पल्टिए पनि हामीलाई फुटाउन सक्दैनन् भन्नुहुन्थ्योे प्रधानजी ।
मैले प्रेम दयालप्रधानलाई वी.पी.सँग पनि भेट गराएको थिएँ । प्रेम प्रधानले मलाई सहयोग गरेका थिएभनेर जानकारी गराउँदावी.पी.ले प्रेम प्रधानलाई धन्यवाददिएकाथिए ।
एक दिनदाजु रवीप्रकाश कोइरालासँग भेट भयो । उहाँले भन्नुभयो मेरो छोरा मेघराज कोइरालातनहुँमा छ, टाढा भयो यतै कामखोजेर ल्याउनु प¥यो भन्नुभयो । मैले नवजीवनमाबोलाउँभनेर बोलाएँ । घर घडेरीको पनिबन्दोवस्तमिलाइदिएँ । मेघराजजीआउनु भयो । प्र.अ. भएर नवजीवनविद्याश्रम केहीवर्ष सञ्चालन गर्नुभयो ।
त्यस्तै नवजीवनमा रामजीवन सिंहले पनि पढाउनुभयो । रामजीवन सिंहसँग मेरो चिनजान सितामढी क्याम्पमा भएको थियो । सितामढी क्याम्पमा सर्लाही, रौतहट, सिराहा, धनुषा, महोत्तरीका क्रान्तिकारीहरूले सम्पर्क राख्थे । रामजीवन सिंह महोत्तरीको हुनुहुन्थ्यो । उहाँले सम्पर्क राख्नुभयो । मैले बम दिएर जलेश्वर पठाएँ । सितामढी क्याम्पबाट बम बोकेर हिँड्दा दोहोरो भिडन्त हुने सम्भावना भयो । केशव कोइराला सहिद भए । गणेश नेपाली भागेर बाँचे । बम बोकेर भाग्न खोज्दा बम पड्किएर रामजीवन घाइते भए । उनको हात जखम भयो । उनलाई पनि मैले बोलाएर नवजीवन विद्याश्रममा ल्याएँ । उनीसँग जेलमा पनि सँगै बसेको थिएँ । उनले नवजीवनमा अङ्ग्रेजी पढाउँथे पछि उनी राष्ट्रिय सभाको सांसद पनि भए ।
प्रेमा शाह नेपालकी प्रख्यात साहित्यकार हुन् । उनले पनि नवजीवनमा पढाइन् । म पे्रमा शाहका कथा पढ्थेँ । पुरुषोत्तम बस्नेतको प्रेमा शाहसँग सम्बन्ध रहेछ । प्रेमा शाहको एउटा नेवारसँग प्रेम भएछ । जल शाह छोरी जन्मिछिन् । घरायसी झगडा भएछ । बच्ची बोकेर सुत्केरी अवस्थामा माइत वीरगञ्ज आइछिन् – प्रेमा शाह । वीरगञ्जबाट सर्लाहीको साबिक नेत्रगञ्जको पुनर्वासमा आएर राजनीतिक पीडितको जग्गामा उनी बसेकी रहिछन् । सायद जग्गा उनकी आमाले पाएकी थिइन् । प्रेमा शाह ‘ए’ टोलमा बसेकी थिइन् । म घुम्दै ‘ए’ टोलमा पुगेको थिएँ । मैले नौलो मान्छे देखेँ । उनले परिचय दिन चाहिनन् । तर मैले उनलाई चिनँे । उनी प्रेमा शाह थिइन् । हामीलाई नवजीवनमा शिक्षकको आवश्यकता थियो । प्रेम प्रधानसँग सल्लाह गरेर उनलाई पढाउन नवजीवन विद्याश्रममा मैले ल्याएँ ।
डा. हरिप्रसाद गुप्ता पनि नवजीवनमा शिक्षक थिए । उनी तेलबाली कार्यालयमा बाली विशेषज्ञ थिए । उनलाई पनि ल्याएर पढाउन लगाइयो । राजेन्द्र शर्मा, चुडामणि शर्मा, दिनबन्धु शर्माले पनि नवजीवनमा पढाए । राजेन्द्र शर्माका बाबु एम.पी. थिए । वि.सं. २०२५ सालमा गोरखा परिषद्बाट उनका बुबाले चुनाव जितेका थिए । उनीसँग मेरो चिनजान थियो । बाग्लुङ्ग र स्याङ्जाका साथीहरू पनि मेरा चिनजानमा थिए । नवजीवनमा शिक्षक चाहिएको थियो । दिवाकर शर्मा, मकुन्द शर्मासँग पनि मेरो चिनजान थियो । मुकुन्द शर्मा बुढानिलकण्ठमा पढाउनु हुन्थ्यो । उहाँ कवि लेखक पनि हुनुहुन्थ्यो । उहाँहरूसँग सम्पर्क भएर राजेन्द्र शर्मा, चुडामणि शर्मा, दिनबन्धु शर्मा जस्ता शिक्षकलाई पनि मैले नवजीवनमा पढाउन ल्याएँ । मलाई सबै काङ्ग्रेसी शिक्षकहरू ल्यायो भन्ने आरोप पनि लाग्यो ।
विद्यालय हाल बुढानिलकण्ठ स्कुलको मातहतमा चलेको छ । अहिले विद्यालय कक्षा १ देखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने गरी सञ्चालन भएको छ । यस विद्यालयबाट जनताका धेरै छोराछोरीले शिक्षा हासिल गर्न पाएको देख्दा आनन्द लागेर आउँछ ।

जुटपानी परोपकार (वि.सं.२०३८)
हामीले वि.सं.२००६ सालमै काभ्रे खोपासीमा परोपकारको डिपो सञ्चालन गरेका थियौँ । मेरो दयावीरसिंह कंसकारसँग पहिलेदेखि नै चिनजान थियो । एउटा परोपकारको शाखा जुटपानी सर्लाहीमा पनि चाहिन्छ भनेर पहल गरेँ । नरेन्द्रबहादुर थापाका बाबु लालबहादुर थापाजीले परोपकारलाई तीन कठ्ठा जग्गा दिनुभयो । हामीले देउसी खेलेर रकम जम्मा गरी परोपकारका लागि घर बनायौँ । जुटपानीको परोपकार संस्थालाई केन्द्र बनाएर सर्लाहीमा १२ स्थानमा परोपकारका डिपो खोल्यौँ । लालबन्दी, परवानीपुर, बह्मपुरी, हरिभवन, राजघाट, घुर्कौली, कर्मैया, मलंगवा, अचलगढ, पत्थरकोट आदि स्थानमा परोपकारका डिपोहरू हामीले खोलेका थियौँ ।
दयावीरसिंह कंसकार समाजसेवा गर्ने व्यक्ति थिए । राजधानीबाहिर उनलाई अभिनन्दन गर्छु भन्ने लागेर मैले उनका सचिव आशाराम शाक्यसँग सल्लाह गरेँ । आशाराम ललितपुरतिर प्राध्यापन गर्दथे । हामीले दयावीरसिंह कंसकारलाई जुटपानीमा अभिनन्दन पनि ग¥यौँ । पिस अफ रुलर डेभलेप्मेन्ट भन्ने विचार गोष्ठी कार्यक्रम राखिएको थियो । त्यस गोष्ठीमा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई प्रमुख अतिथि हामीले बनाएका थियौँ ।
मैले दयावीरसिंह कंसकारसँगबाट पनि सामाजिक काम गर्नुपर्छ भन्ने शिक्षा पाएको थिएँ । आज जुटपानीको परोपकार संस्थाको अवस्था नाजुक भएको देख्दा मलाई दुःख लागेर आउँछ ।
फेरि राजनीतिक कुरा गरौँ । वि.सं. २०४२ र वि.सं. २०४६ सालका राजनीतिक घटनाहरूमा कसरी सहयोग गर्नुभयो ?
वि.सं.२०४२ सालको सत्याग्रह
वि.सं. २०४२ सालमा पार्टीले सत्याग्रह गर्ने कार्यक्रम घोषणा ग¥यो । निरङ्कुश पञ्चायती व्यवस्थाका गतिविधिको विरोधमा जनतामा जागरण ल्याउन, सरकारलाई पनि सुधारिनका निम्ति सचेत गराउन र वि.सं.२०४२ सालको सत्याग्रहलाई सर्लाहीमा अत्याधिक सफल पार्न म अत्यन्त जोडतोडले लागेको थिएँ । सत्याग्रहमा सक्रियतापूर्वक लागेको आरोपमा वि.सं. २०४२ साल फागुन ७ गतेदेखि चैत्र २६ गतेसम्म मलाई सरकारले मलंगवा जेलमा थुनेको थियो ।
वि.सं.२०४६ सालको जनआन्दोलन
वि.सं.२०४६ सालको जनआन्दोलनमा पनि सर्लाहीमा सक्रिय रूपमा भाग लिएँ । सत्याग्रह गरियो । रौतहटका विष्णुबहादुर मानन्धर र मैले एउटा सम्झौता ग¥याँै । हामी पञ्चायत व्यवस्थाको विरुद्ध जानु छ त्यसैले हामी मिल्नुपर्छ । पञ्चायतलाई सिध्याउन भनेर हामीले आन्दोलनका कामहरू संयुक्त रूपमा गर्न थाल्यौँ । राम्रो सङ्गठन विस्तार पनि भयो ।
काङग्रेस, कम्युनिस्ट, गोर्खा परिषद्, पञ्च….का साथीहरूसमेत लागेर काम गर्दा चुप लागेर बसेका काङ्ग्रेसी साथीहरूलाई उत्साह भएर उनीहरू पनि आन्दोलनमा लाग्न थाले । वि.सं. २०४६ सालमा आन्दोलनमा लाग्दा प्रहरीले पक्रेर मलाई मलंगवामा थुन्यो । नारायण उप्रेती, रेवती पन्त, अच्युतम काफ्ले, विनोद घिमिरे जस्ता कम्युनिस्टका कार्यकर्ता पनि सँगै थुनामा परेका थिए । विश्वनाथ साह, रामेश्वर साह, जीवनमान खनाल, अशोक खनाल, टङ्कनाथ पोखरेल र केही महिला आन्दोलनकारीलाई पनि प्रहरीले समातेको थियो । हामीलाई यातनाचाहिँ दिएन । प्रशासनले हामीलाई राम्रोसँग नै राखेको थियो ।
तपाईँले धेरै पुराना नेताहरू सँगसँगै रहेर काम गर्नुभयो । उहाँहरूका बारेमा रहेका केही स्मरणहरू पनि बताइदिनुहोस् न ।
वी.पी. कोइराला
एक दिन म सितामढीबाट बनारस गएको थिएँ । वी.पी. बनारसको सारनाथमा बस्नुहुन्थ्यो । सुशिला भाउजूले चना, भुजा र पापड धुलो पारी चना र भुजामा मिसाएर मलाई खाजा खुवाउनुभयो । सुशिला भाउजू आफैँ खाना बनाउनुहुन्थ्यो । भाँडा माझ्ने मान्छे पनि थिएनन् । खाना खाएपछि वी.पी. आफ्नो थाल आफैँ माझ्नुहुन्थ्यो । त्यो देखेर हामी कार्यकर्ताहरूलाई पनि आफ्नो थाल माझ्न कर लाग्थ्यो ।
राति म त्यहीँ सुतेँ । मसँग रातो चाइनिज कम्मल थियो । त्यही आढेर म भुइँ तल्लामा सुतेको थिएँ । वी.पी. बिहानपख तल आउनुभयो । हामी त्यहीँ सुतिरहेका थियौँ । मेरो कम्मल छाम्दै वी.पी.ले भन्नुभयो, “अस्पतालबाट ल्याएको हो ?” साथीले काठमाडौंबाट सितामढी आउँदा ल्याइदिएको हो भनेर मैले जवाफ दिएँ । उहाँ ठट्टा पनि गर्नुहुन्थ्यो । उहाँ सबैसँग बोल्ने पनि गर्नुहुन्थ्यो । सबैको हालखबर पनि सोध्ने काम गर्नुहुन्थ्यो । उहाँ कार्यकर्ताहरूको घरको हालखबर पनि सोध्नुहुन्थ्यो । तिम्री दुलही (श्रीमती) को खबर के छ भन्नुहुन्थ्यो । दुलहीहरूले सहयोग नगरे राजनीति गर्न सकिँदैन भन्नुहुन्थ्यो । वी.पी.को स्मरण शक्ति तीक्ष्ण थियो ।
एक दिन वी.पी.ले तल कुनै मान्छे आएको देख्नुभयो । तिमीसँग अलिकति पैसा छ भनेर उहाँले मलाई सोध्नुभयो । मैले रु पाँच सय भारु दिएँ । उहाँले रुपैयाँ सय मेरै खल्तीमा हालिदिनुभयो । त्यो आइरहेको व्यक्तिलाई सहयोग गर्नुपर्ने हुन्छ । उसको कोही मरेको हुन सक्छ भन्नुभयो । ऊ आयो र पैसा दिनुभयो । ऊ प्रायः कोही बिरामी छ भनेर पैसा माग्न आउने रहेछ । पहिले पनि एक दुई चोटि पैसा मागेर लगिसकेको रहेछ । ऊ पश्चिम नेपालको मान्छे थियो ।
एक दिन वेनीबहादुर कार्की (पूर्व राष्ट्रियसभा अध्यक्ष) ले चिसो खाऔँ भन्नुभयो । सुशीला भाउजूले चिसो छैन, सुराहीको पानी खाने भनी सोध्नुभयो । वेनीबहादुर कार्कीले सुवर्ण समसेरकहाँ गएको समयमा कुरा गर्नु भएछ क्यारे । सुवर्ण समसेरले दुईओटा फ्रिज पठाइदिनुभयो । एउटा वी.पी.लाई र अर्को गणेशमान सिंहलाई ।
त्यस समय शशाङ्क विश्वविद्यालयमा पढ्दै थिए । उनको थाइल्याण्डकी सुपात्रासँग प्रेम रहेछ । शशाङ्क कहिलेकाहीँ सुपात्रालाई लिएर होस्टलबाट सारनाथ आउँथे । वी.पी.ले शशाङ्कलाई भन्नुभयो – “यहाँ साथीहरू लिएर आउने नगर, त्यहाँ राम्रो लाएर, मिठो खाएर बसेकी केटी यहाँ दुःख छ न ल्याऊ, ल्याउने हो भने पैसा जम्मा गर ।” उहाँहरू पनि दुःख गरेर बस्नुभएको थियो । त्यस समयमा नेताहरूको आर्थिक अवस्था पनि कमजोर थियो । उहाँहरूको जीवन सादा तर विचार भने उच्च थियो ।
वि.सं. २०२९ सालतिर हतियार उठाउँदा वी.पी.ले मलाई कृष्णप्रसाद भट्टराईलाई भेट्न नेपाल पठाउनु भयो । म भेष बदलेर मुसलमान जस्तो बनेँ र किसुनजीलाई भेट्न नेपाल (काठमाडौं) आएँ । किसुनजीले बासु बाबु मेरो बारेमा त तपाईँलाई थाहै छ कि म त बाहिर जान्नँ भनेर । उहाँ (वी.पी.) मलाई भेट्न चाहनुहुन्छ भने भित्र आएर (देशभित्र) भेट्ने व्यवस्था मिलाउनुहोस् भनेर भन्नुभयो । किसुनजीले दिएको जवाफ भूमिगत रूपमै मैले वी.पी.लाई भारतमा पठाएँ ।
गणेशमान सिंह
वि.सं. २०२८ सालतिर गणेशमान सिंहको डेरा बनारसको राजघाटमा थियो । घर छाडेर प्रवासमा बस्नु परेकोले उहाँको आर्थिक स्थिति पनि कमजोर थियो । तराईबाट हामी जाँदा उहाँ खुसी बन्नुहुन्थ्यो । साथीहरूबाट केही खर्चबर्च पाइन्छ कि भन्ने आशा उहाँमा जागेको महसुुुुस म गर्दथेँ । आज नयाँ साथी आएको छ पक्कै भान्साले केही नयाँपनको अनुभव गर्छ भन्ने आशा उहाँ गर्नुहुन्थ्यो ।
उहाँ बिहान खाजामा एउटा अण्डा र चार पिस पाउरोटी तथा दिउँसो दाल, भात र तरकारी लिनुहुन्थ्यो । खाना पाकिसकेपछि कोही साथी थपियो भने हामीले खाना बाँडेर खानुपथ्र्यो । गणेशमानजी खाना कम हुँदा मलाई दाल हाल, दालमा प्रोटिन हुन्छ भनेर दुई कचौरा दाल पिउनुहुन्थ्यो ।
उहाँ आफ्ना कपडा आफैँ धुनुहुन्थ्यो । कोठा आफैँ बडार्ने, विस्तराका डस्ना छानामा लगेर सुकाउने काम पनि उहाँ आफैँ गर्नुहुन्थ्यो । बनारस बस्दा उहाँ पैदल हिँड्नुहुन्थ्यो । बनारस राजघाटबाट सारनाथ (वी.पी. बस्ने स्थान) सम्म पैदल हिँडेर पुग्नुहुन्थ्यो । खल्तीमा खुजुरा पैसा बोकेर माग्नेहरूलाई बाँड्दै हिँड्नुहुन्थ्यो । किन हिँडेको भनी कसैले सोध्दा पैसा छैन भन्नुहुन्थ्यो ।
एक चोटि म गणेशमानजीकोमा पुगेको दुई दिन भएको थियो । उहाँ बिहानै नुहाएर लुगा फेर्दै हुनुहुन्थ्यो । कतैबाट उहाँलाई फोन आयो । गणेशमान सिंहको हातखुट्टा काम्यो । नजिकै खाट थियो उहाँ खाटमा डङ्रङ्ग लड्नुभयो । के भयो भनेर मैले सोधेँ । भाग्यमानी रहेछ भन्नुभयो । को ? राजा महेन्द्र देवघाटमा स्वर्गे भए रे । कति भाग्यमानी, किन भाग्यमानी भनेर मैले उहाँलाई सोधेँ । राजतन्त्र खत्तम भएको उनले हेर्नु परेन भन्नुभयो । उहाँलाई चाँडै राजतन्त्र ढाल्न सक्छौँ, ढल्छ भन्ने आत्मविश्वास थियो ।
गणेशमानजीको महेन्द्रसँग पनि घनिष्टता थियो जस्तो बुझिन्छ । एक पटक राजा महेन्द्रले गणेशमानलाई बुबा हजुरलाई (त्रिभवुन) सम्झाई दिनुप¥यो भने रे । रत्नसँग महेन्द्रको प्रेम थियो । तर त्रिभुवन राणाकी छोरीसँग बिहे नगर भन्थे रे महेन्द्रलाई । महेन्द्र भने रत्नसँग विवाह नगरी नछाड्ने । एक दिन महेन्द्र पैदल हिँडेर गणेशमानजीको घरमा पुगेछन् । रत्नसँग विवाह गर्न बुबा हजुरलाई मनाइदिनुप¥यो भने रे । गणेशमानजीले त्रिभुवनसँग भेटेर मेरो एउटा कुरा मान्दिनुप¥यो भनेर महेन्द्रका कुरा त्रिभुवनलाई भन्नुभएको थियो रे मलाई गणेशमानजीले भन्नुभएको । पछि गणेशमानजीले गोरखपुर क्याम्प समाल्नुभयो । जुन बेला म सितामढी क्याम्पको इञ्चार्ज थिएँ ।
असल कम्युनिस्ट नेता मनमोहन अधिकारी
एकपटक मनमोहन अधिकारी र म सँगसँगै भद्रगोल जेलमा थियौँ । उहाँ सज्जन र असल मान्छे हुनुहुन्छ भन्ने कुरा मलाई त्यहाँ रहँदा बस्दा ज्ञात भयो । उहाँ सुरुदेखि कम्युनिस्ट हुनुहुँदोरहेछ । मनमोहनजीले मलाई कुराकानीका सिलसिलामा केशरजङ्ग रायमाझी र पुष्पलालहरू मिलेर उहाँलाई कारबाही गरेको कुरा सुनाउनुभएको थियो । उहाँलाई सुनसरी जिल्ला छाडेर अन्त जान नपाइने गरी कारबाही गरिएको रहेछ । पछि दायरा साँघुरो बनाउँदै धरानदेखि बाहिर जान नपाउने गरी उहाँ कारबाहीमा पर्नुभएको रहेछ । त्यही पनि उहाँ कम्युनिस्ट सिद्धान्तमा रत्तिभर विचलित नभई लागिरहनुभयो । अहिलेका नेता कार्यकर्ता सानो निहुँमा पार्टी छाडेर हिँड्छन् ।
जेलमा बस्दा पनि उहाँ धेरै अनुशासित हुनुहुन्थ्यो । कम्युनिस्ट आचरणमा धब्बा लग्यो भने त्यो नराम्रो हुन्छ भन्ने उहाँ ठान्नुहुन्थ्यो । कम्युनिस्ट आचरणमा रक्सी पिउनु त्यस वेला नीति विपरीतको कार्य मानिन्थ्यो । एउटा दसँैमा हामीले जेलरलाई घुस खुवाएर रक्सी मगायौँ अनि निर्मल लामा, शम्भुलाल श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ, महेन्द्रनारायण निधि, मनमोहन अधिकारी, म र अन्य साथीहरू मिलेर रक्सी पियौँ । मनमोहनजीलाई रक्सीको मात लागेछ । उहाँ लठ्ठ हुनुभयो । उहाँ मेरो काखमा पल्टनुभयो । मेरो काखमा पल्टेर उहाँले भन्नुभयो—“बासुजी ! यो मनमोहनले पनि जेलमा रक्सी खायो भनेर नभन्नु होला । यो बिग्रियो भन्छन् ।”
उहाँ कति सतर्क र इमान्दार हुनुहुन्थ्यो । त्यस्ता त्यागी कम्युनिस्ट नेता कहाँ पाउनु र आज । आजका कम्युनिस्ट आफ्नै साथीहरूलाई तथा नामगाली गरेर बाँकी केही राख्दैनन् । मनमोहनजी जेलबाट छुटेपछि बाटामा भेट्दा पनि अँगालो मार्नुहुन्थ्यो । माया गर्नुहुन्थ्यो । एक पटक मसँग उहाँको पाटनमा भेटभयो । उहाँले आफ्नो कोठामा लगेर आफैँले चिया पकाएर मलाई खुवाउनुभयो । उहाँ अध्ययनशील पनि हुनुहुन्थ्यो । उहाँ केही न केही पढिरहने गर्नुहुन्थ्यो । भद्रगोल जेलमा बस्दा उहाँले बि.ए. पनि पास गर्नुभयो । त्यस्ता निष्ठावान तथा सिद्धान्तनिष्ठ कम्युनिस्ट नेता नेपालमा अब पाउन पनि मुस्किल छ ।
उहाँलाई नख्खुबाट भद्रगोल जेलमा ल्याइएको थियो । भद्रगोल जेलमा शौचालयको राम्रो व्यवस्था थिएन । नालीको डिलमा गएर खुल्ला ठाउँमा मलमूत्र विसर्जन गर्नुपर्दा अरुले नदेख्नुपर्ने अङ्ग पनि देख्थे । उहाँ अग्लो मान्छे शौच गर्न बस्दा उहाँको पुरुष जनेन्द्रियले भुइँ छुन्थ्यो । उहाँलाई शौचालय बस्न गाह्रो हुन्थ्यो । अनि हामीले गोप्य र सजिलो शौचालयको माग राखेर आन्दोलन ग¥यौँ । पछि शौचालय पनि बन्यो ।
उहाँ खर्च कम गर्नुपर्छ भन्ने सिद्धान्त भएको नेता हुनुहुन्थ्यो । एक दिन मनमोहनजीले तपाईँ धेरै ब्लेड खर्च गर्नुहुँदोरहेछ भन्नुभयो । उहाँ एउटै ब्लेडले पनि धेरै दिन दारी काट्ने गर्नुहुन्थ्यो । ल कसले एउटा ब्लेडले धेरै दिन दारी काट्ने भनेर हाम्रो बाजी पनि प¥यो । उहाँले ब्लेडलाई सिसाको गिलासमा उध्याएर धेरै दिन दारी काट्नुभयो । मैले उध्याउनै जानिनँ र मैले कम दिन दारी काटेँ र बाजी हारेँ । हामी कहिलेकाहीँ त दिनको दुई पटक पनि दारी काट्थ्यौँ । किनकि जेलमा दिन बिताउन गाह्रो थियो ।
भद्रगोल जेलमा बस्दा एक दिन लक्ष्मण घिमिरे (रामेछाप) ले यो एउटा संसद हो भन्ने विषयमा कविता लेख्नुभएको थियो । त्यो कविता वाचनपछि कविता मन पराएर मनमोहनजीले आज दुई पटक चिया खाने भन्नुभयो । महेन्द्रनारायण निधिले म चिया खुवाउँछु भनेर चिया खुवाउनुभयो । मनमोहनजी पछि नेपालको प्रधानमन्त्री पनि बन्नुभयो ।
राजनीतिमा लाग्दा मृत्युको नजिक पुगेका क्षणहरू पनि छन् ?
बाग्मतीले बगाउँदा
पञ्चायतकालीन समय म काठमाडौँबाट भागेर भारततर्फ हिँडेको थिएँ । काठमाडौँबाट बाग्मतीको तीरैतीर सर्लाही निस्केर भारततर्फ निस्कने सोचले बाग्मतीको तीरैतीर हिँड्दै थिएँ । बाटामा बाग्मती तर्न लाग्दा खोलाले मलाई बगायो । बाग्मतीले केही सयम बगाएपछि साथमा रहेको झोला र साथमा रहेको पैसा पनि बगायो । मलाई पौडी खेल्न आउँदैन थियो । डुबेर पानी खाएछु । मलाई तालढुङ्गा सिक्रे दोभान भन्ने स्थानबाट बाग्मतीले बगाएको थियो । पानी खाएर अचेत अवस्थामा बाग्मतीले मलाई बगाउँदै गरेको स्थानीय एक जना माझीले देखेछन् । उनले पानीको भेलमा हेलिएर मलाई पाखामा ल्याए । मलाई उत्तानो पारेर मेरो पेट थिची मैले खाएको पानी छदाएर निकाली दिए र मलाई बचाए । म बिरामी भएर दुई दिन राई गाउँमा बसेँ । दुई दिनपछि स्वास्थ्य लाभ भयो । अनि मलाई राईहरूले सर्लाहीको कर्मैयासम्म पु¥याइदिए र म बाँचे । म पार्टीको सङ्गठन गर्दै हिँडेको थिएँ त्यस ताका ।
बाघको सामुन्ने
जनताका लागि प्राणको बाजी लगाएर लडेका हामी जनतासँग पनि डराउनुपर्ने अवस्था थियो । पोल लगाउने, सुराकी गर्नेलाई सरकारले पुरस्कार दिन्थ्यो । जनताहरू सानो प्रलोभनमा परी हामी विरुद्ध तत्कालीन सरकारका मान्छेलाई सुराकी गर्ने र पोल लगाउने काम गर्थे । त्यसैले हामी मिटिङ्ग गर्दा वा हिँड्दा रातिराति जङ्गलकोे एकान्त बाटोहरू प्रयोग गथ्र्यौँ । मिटिङ गरेको शङ्का हाम्रा लागि खटाइएका सुराकी र सरकारका मान्छेहरूले नगरून् भनेर मसानघाटमा पनि मिटिङ बोलाइन्थ्यो । राँको बालेर मुर्दा ल्याएको जस्तो गरेर हिँडेर च्यानडाँडाहरूमा पुगेर हामी मिटिङ गथ्र्यौँ ।
एकचोटि कतै त्यस्तै मिटिङ गर्न महाभारतको लेक चढी छिर्के भन्ने ठाउँबाट माथि लागेका थियौँ । पूर्णप्रसाद सत्याल र म जङ्गलको बाटो हिँडेर एउटा रुखमुनि रातको समयमा थकाई मार्न बसेका थियौँ । नजिकै बाघ कराएको आवाज आयो । हाम्रो मुटु डरले काम्यो । हिँडौँ भने आक्रमण गर्ला भने डर भयो । एक अर्कालाई अँंगालो हालेर बस्यौँ । पूर्णप्रसादले भने बाघले आगो देख्यो भने भाग्छ भन्दै चुरोट खाए । हामीले पतकर बटुलेर आगो बाल्यौँ । आगो बलेपछि बाघ कराउँदै ओरालो झ¥यो र हामी बाँच्यौँ ।
मालपोत लुट्दा
केही साथीहरूले मैनाथपुर मालपोतमा पैसा छ, त्यो पैसा लुट्न पाए हामीलाई खर्चबर्च चल्छ भने । कर्णेल डि.बी. राईको नेतृत्वमा हामी मैनाथपुर (धनुषा वा महोत्तरी) गयौँ । हामीसँग पनि हतियार थियो । मालपोत मैनाथपुर प्रहरी चौकी नजिक थियो । पछाडि कोही आउँछ कि भनेर मलाई पछाडि राखेका थिए । अरु साथीहरू अगाडि गए । गोली चल्यो भने सुत्नु भनेका थिए । गोली चल्यो, सुत भने, सबै सुते म पनि सुतेँ । टाउको यसो उठाएर हेरेको थिएँ । गोली त मेरो कन्चट छेउबाट दुई चोटि गयो । मेरो कपाल लामो थियो । कपाल त गोलीको रापले डढेको रहेछ । रौँ राँैले म बचेँ ।
झन्डै रोशीमा
पार्टीको दाप्चामा मिटिङ थियो । त्यस मिटिङमा भूतपूर्व सैनिक पनि थिए । मिटिङ सकी साँझमा हिँडेर उज्यालो हुने वेलामा होक्से (पलाञ्चोक भगवती मन्दिर छेउ) पुग्यौँ । दाप्चामा बसेको हाम्रो मिटिङका बारेमा प्रहरीलाई थाहा भएछ । प्रहरी दाप्चा पुग्दा हामी धेरै पर पुगेका थियौँ । होक्सेमा दुई दिन लुकेर बस्यौँ । दुई दिन पछि सङ्खु बतासे (धुलिखेल छेउ) भएर ससुराली जाने विचार मैले गरेँ । बाटोबाटो हिँड्दा मान्छे भेट हुने भएर भिरपाखा जङ्गल हुँदै म हिडेँ । सल्मीटार गाउँ पूर्व एउटा पाखो छ । त्यहाँबाट पारी बलथली गाउँमा मेरो ससुराली थियो । तल रोशी खोलो बगेको छ । त्यो पाखोबाट झरेर रोशी तरी राति १२÷१ बजेतिर पारी जाने गरी हिँड्दै जाँदा पहरोमा पुगिएछ । अँधेरी रात धेरै अँध्यारो थियो र आँखा पनि देखिएन । खुट्टाले अगाडि बाटो छाम्दा जमिन भेटिएन । हातले छाम्दा पनि जमिन भेटिएन । त्यहाँ एक पाइला अगाडि बढाएको भए हामी रोशी खोलामा पुग्थ्यौँ र टुक्राटुक्रा हुन्थ्यौँ । त्यसरी राति हिँड्दा झन्डै मलगायत साथीहरू मृत्युको मुखमा पुगेका थियौँ ।
नारायणीको भेलमा
वि.सं. २०६८ सालतिर बरालिँदै म देवघाट पुगेको थिएँ । राति देवघाटमै बसेँ । राति खोलामा मलामी देखेँ । कताकता मेरो मनमा केके तर्कना आयो । मरँे भने वेपत्ता होइन्छ भन्ने मनमा आयो । म मर्न नारायणीको भेलमा पसेँ । कम्मर कम्मर पानीमा पुगेँ । पछाडिबाट ठुलो मुढो आउँदै रहेछ । कताकता मर्नु हुँदैन भन्ने मनमा आयो र म पछि हटेँ । सेकेण्डमा त्यो मुढो आयो त्यसले हानेको भए मलाई नारायणीको भेलले लैजाने थियो । त्यहाँ पनि रौँ रौँले बाँचेँ ।
भाला प्रहार
वि.सं. २०२७÷२०२८ सालतिर सर्लाहीको जुटपानीमा नराम्रो ब्याज तोक्ने कुप्रथा थियो । त्यो प्रथा मकै रोप्दा भाउ तोक्ने प्रथा थियो । मकै रोप्न लिएको ऋण मकै पाक्दा दुई गुणा तीन गुणा हुने गर्दथ्यो । महिना महिनामा ब्याज पनि तिर्नुपर्ने हुन्थ्यो । मैले त्यसको विरोध गरँे । ब्याज खानेहरूले अप्ठेरोमा परेका गरिब निमुखासँग बढी ब्याज लिन्थे । एक जना गोले थरका व्यक्ति थिए । उनलाई बिरामीको उपचार गर्न पैसाको आवश्यकता परेछ । मैले बिना ब्याज पैसा दिएँ । ब्याज खानेहरूले ब्याज खान पाएनन् । ब्याज खानेहरूले एउटा मुसलमानलाई बासुलाई चक्कु हानिदे भनेछन् । जलिल मुसलमानले मलाई भन्यो, “आपको चक्कु मार्ने को कहा है ।” मैले भनेँ, “क्यूँ भाइ ! मैने क्या किया ?”
मैले उदयपुरको मैनी मेलाबाट एउटा कुकुर ल्याएको थिएँ । कसैले केही चो¥यो भने त्यसले चोरको पिँडुलामा समातेर राख्थ्यो । चोर्नेले समान छाडेपछि मात्र त्यसले पनि छाडिदिन्थ्यो । म एक साँझ त्यो कुकुर लिएर रोडतिर (घर अगाडि) घुम्न निस्केको थिएँ । अँध्यारो भइसकेको थियो । मेरो छेउमा आवाजसहित धारिलो भाला आयो । मलाई मार्न आएको उक्त भाला मेरो कुकुरले देखेछ । कुकुरले अगाडि उफ्रेर त्यो भालालाई छेक्यो । उक्त भाला कुकुरको भुँडीमा छेडियो । कुकर त्यहीँ म¥यो । उसले आपूm मरेर मलाई बचायो । त्यस कुकुरको मलाई याद आइरहन्छ । मलाई मार्न कसैले त्यो भाला प्रहार गरेको रहेछ । अँध्यारो भएकाले मान्छे चिन्न भने सकिएन । शङ्का मात्र गरियो । त्यो भाला पछिसम्म पनि मैले राखेको थिएँ । पछि पुनर्वासको कसैले लिएर गयो । त्यो भाला मसँग रिसिबी साँध्न पनि हानेको हुनुपर्छ ।
आफन्तको आर्थिक प्रलोभन
वि.सं. २०१७ सालमा सुरक्षा कानुनअन्तर्गत पक्राउ गरेर छ महिना चौताराको जेलमा परेको थिएँ । जेलबाट छुटेकै १÷२ दिनपछि भक्तपुर डिएसपी कार्यालयले ममाथि वारेन्ट जारी गरेछ । चौतारा जेलबाट छुटेर म घर खोपासी गएँ । खोपासीमा पुनःपक्राउ वारेन्ट भएको खबर पाएपछि म पुरानो निवास स्थान पार्टीखर्क गएँ । त्यहाँ मेरो अति नजिकका आफन्तहरू थिए । राति मेरो निकट पुजनीय आफन्तकोमा म बसेँ । मैले आफ्ना कुरा बताएँ । वारेन्टका कुरा पनि बताएँ । मेरो सुराकी गरेर खबर गर्नेलाई पुरस्कार दिन्छ रे प्रशासनले भन्ने कुरा पनि सुनाएँ ।
भोलिपल्ट म बहिर ननिस्कीकन घरभित्र बस्ने सल्लाह भयो । गोठको बुइँकलमा बिस्तरा लगाएर बसेँ । भोलिपल्ट दिनभरि मेरो आफन्त कहाँ जानुभयो थाहा भएन । बेलुका उहाँ आउनुभयो र खाना सँगै बसेर खायौँ । घरबेटी आफन्तको व्यवहार र कुरा गराइमा केही फरक पाएँ । कुराकै सिलसिलामा ती आफन्तका श्रीमती जो मेरो पनि आदरणीय हुनुहुन्थ्यो । उहाँले सोध्नुभयो आफ्नो श्रीमान्सँग त्यो डोलबारीसम्म तपाईँसँगै पुलिस किन आएको ? किन डोलबारीबाट पुलिस फर्कियो ? को हो त्यो पुलिस ? मेरो पुजनीय आफन्त झसङ्ग हुनुभयो । पुलिस हैन । कहाँको मान्छे हो भनेर गोल मोटोल जवाफ दिनुभयो ।
मेरो मनमा चिसो पस्यो । राति मलाई निद्रा लागेन । भोलिपल्ट बिहान मसँगै खाना खाएर ती आफन्त बाहिर निस्कनुभयो । म गोठमा लुकेर बसेँ । गोठको झ्यालबाट बाटोमा हिँडेका मान्छे देखिन्थे । दिउँसो चार बजेको हुँदो हो निक्कै पर मेरो आफन्त अघिअघि अरु चार पाँचजना पछिपछि आएको देखेँ । मलाई शङ्का लाग्यो । म यहाँ बस्नु भएन भनेर गोठको धुरीको झ्यालबाट बारीमा हाम फालेर भागेँ ।
पार्टीखर्क गाउँमा एउटा बम्जनको घरमा गएर बसेँ । बम्जन दाइलाई तिनै मेरो आफन्तको घरमा पठाएको को आएका रहेछन् भनेर बुझ्न ।
ती आफन्त सरासर आएर आफ्नो घर नपसी छिमेकीको घरतर्फ लाग्नुभएछ । साथमा आएका सादा पोशाकका प्रहरीले घरबेटी आमासँग सोधेछन् । हिजो यहाँ को मान्छे बसेको थियो ? उहाँले मेरो नाम र नाता भन्नुभएछ । निकाल भनेछन् । गोठमा छ भन्नुभएछ । गोठमा गएर खोजेछन् । मलाई नभेटेपछि गाली गरेछन् पुरस्कारको कबुल गरेर आएपछि पनि मान्छे भगाउनुहुन्छ ? अगाडि अगाडि घर आएर मान्छे भगाइस् भन्दै ती मेरा आफन्तको उल्टै झाँको झारेछन् प्रहरीले ।
ती बम्जन दाइ घर आएर सविस्तार मलाई बताए । ती तामाङ दाइको घरमा साग ढिँडो खाएर राति नै म अन्तै हिँडेँ ।
यसरी क्रान्तिमा हिँडेकाहरूलाई आफ्नाले सहयोग नगर्ने बरु टाढाका मान्छेले सहयोग गर्ने रहेछन् भन्ने अनुभूति भयो ।
यहाँ मैले ती मेरो आफन्तको नाम र नाता खुलाउन सकिनँ । मेरो नैतिकताले दिएन । मेरा ती पुजनीय व्यक्तिहरूको नाम लिएर उहाँहरूको मानमर्दन गर्न म असमर्थ भएँ ।
वी.पी.को अस्तु सेलाउन कैलाश मानसरोवर जानुभएको थियो ?

वी.पी.को अस्तु सेलाउन कैलाश मानसरोवरको यात्रा
हो, पार्टीले वी.पी.को अस्तु बाँडेको थियो । सर्लाहीमा आएको अस्तु मसँग थियो । कैलाश मानसरोवर गएर वी.पी.को अस्तु सेलाउने मनसायले सुशिल शर्मासँग सल्लाह गरेँ । म, मञ्जु र सुशिल शर्मा कैलाश मानसरोवर जाने तयारीमा लाग्यौँ । हामीेले सि.डि.यो. कार्यालयबाट मानसरोवर जान परिचयपत्र बनाएको कुरा जुटपानीका रामप्रसाद घिमिरेले थाहा पाउनुभएछ । उहाँले हामी दुई बुढाबुढी पनि तपाईँहरूको साथ कैलाश जान्छौँ भनेर मानसरोवर जाने इच्छा जाहेर गर्नुभयो ।
वि.सं. २०५२ जेठअसारतिरको कुरा हो । हामी पाँच जना सर्लाहीबाट नेपालगञ्ज गयौँ । नेपालगञ्जबाट हुम्ला जाने प्लेन चढ्नको लागि नेपालगञ्जमा दुई हप्ता पर्खनु प¥यो । तीन दिन एयरपोर्टमा बसियो । पहिलो उडान मौसमका कारण फर्कियो । दोस्रो दिन सामान बोक्ने प्लेनमा गयौँ । रामप्रसाद घिमिरेले चिनेको केटो एयरपोर्टको डाइरेक्टर रहेछ । उसले टिकट मिलाइदियो । त्यस समय हुम्ला उड्नेको नाम रेडियो नेपालले भन्थ्यो । एक हप्तापछि हामी हुम्ला पुग्यौँ । त्यहाँ इन्डियाका जोगीहरूको एउटा सानो डफ्फा पनि मानसरोवर जान भनेर आएको रहेछ । त्यो जोगीको डम्फामा तीन जोगी थिए । हुम्लाबाट छ दिन हिँडेर चीनको बोर्डर ताक्लाकोट पुग्यौँ । हामीले ताक्लाकोटबाट २१ दिनका लागि पास पायौँ । बाटो अप्ठेरो थियो । हिँड्न नसक्ने बाटो । ताक्लोकोटसम्म साहै्र अप्ठेरो बाटो । हुम्लाको सि.डि.ओ.सँग सम्पर्क राखी त्यहाँबाट पनि पास बनाएर अगाडि गयौँ । पासको पनि शुल्क तिर्नुपर्ने रहेछ । त्यहाँबाट बाटो देखाउने एकजना गाइड पनि हामीले लियौँ । ताक्लाकोटमा पैसा साट्यौँ । ताक्लाकोटमा नेपाल भारत र चीनको व्यापार चल्ने बजार थियो । हाम्रो छ रूपैयाँ बराबर त्यहाँ (चीन) को एक रूपैयाँ रहेछ ।
मानसरोवर पुगेर कैलाशको परिक्रमा पनि ग¥यौँ । तीन दिन लाग्यो । एकैछिनमा ऋतु परिवर्तन भएको जस्तो अनुभूति हुने । वर्षा, शरद, हेमन्त सबै ऋतुको अनुभव गर्न पाइने । सृष्टिको मूलथलो स्वर्गको एक टुक्रा जस्तो लाग्ने । मनमा जस्तो भावना छ त्यस्तै देखिने । मन शान्त र दिमाख खाली जस्तो स्वर्गीय आनन्दको अनुभूति हुने । एकपटक पुग्नै पर्ने ठाउँ । हामीले प्लास्टिक ओढेर कैलास परिक्रमा गर्यौँ ।
मानसरोवर कैलाशको परिक्रमा गर्ने क्रममा रामप्रसाद घिमिरेका बुढाबुढी ज्वरो आएर पछाडि पर्नुभएछ । उहाँ धार्चेनमा ट्रकमुनि सुत्नुभएछ । हामी तीनजना अगाडि प¥यौँ । बाटोमा भेडी गोठहरू टेन्ट गाडेर बसेका थिए । दिनभरिको हिँडाइको थकान । दिन ढल्कन लागेकाले चिसो बढ्दै गएको र अगाडि बास बस्ने स्थान नजिक नभएको जानकारी पाएकाले त्यही भेडी गोठमा भेडा गोठालाहरूसँग आश्रम माग्ने विचार आयो । तर भाषागत कठिनाइ थियो के भन्ने भनेर । तर साँझ पर्न लागिसकेकाले टेन्टबाट भित्र चियाएर हे¥यौँ । टेन्टभित्र एउटा बिरामी सुतेको रहेछ । सुशिल शर्माले त्यसको नाडी छामे । ज्वरो आएको रहेछ । मञ्जुले उसलाई भिक्स दलिदिइन् । सुशिल शर्माले उसलाई ज्वरोको औषधी दिए । एकछिनपछि उसको ज्वरो ओर्लियो । अब त त्यहाँ धेरै जना बिरामीको भिड लाग्यो । सबैलाई जानेको उपचार सुशिल शर्माले गरे । उनीहरूले सुशिललाई डाक्टर भन्ने ठाने । उनीहरूले पैसा पनि दिन्थे तर हामीले लिएनौँ । तर हामीलाई हाम्रो साथको औषधी सक्किने हो कि भन्ने चिन्ता भयो । आफ्नो लागि बोकेको औषधी हामीले बाँडेका थियौँ ।
अनि उनीहरूले हाम्रा लागि छुट्टै टेन्ट गाडिदिए । भेडाका सुकेका बड्कुला ओछ्याई त्यसमाथि सामान्य कपडा ओछ्याएर सुत्ने व्यवस्था मिलाइदिए । भेडाका बड्कुला न्यानो हुँदो रहेछ । हामीलाई उनीहरूले तिब्बती चिया र ड्राईफ्रुटहरू खुवाए । हामी तीन जना आरामले सुत्यौँ तर हाम्रा साथी रामप्रसाद घिमिरे र उहाँकी धर्मत्नी खुला आकाशमुनि सुत्नुभएछ । चिसोले गर्दा बिरामी पनि पर्नुभएछ । उहाँसँग हाम्रो भेट तीन दिनपछि मात्र भयो ।
कैलाशबाट झरेर मानसरोवरमा मिसिने सानो नदीमा हामीेले वी.पी.को अस्तु सेलायौँ । वी.पी.को अस्तु सेलाउँदा म र सुशिल शर्मा थियौँ ।
कैलाश परिक्रमा सकेर मानसरोवर परिक्रमा गर्ने क्रममा म बिरामी भएर बेहोस भएछु । पर्यटकको गाडीसँग सहयोग मागेर मलाई उपचार गर्ने स्थानमा पु¥याइएछ ।
फर्कने क्रममा ताक्लाकोट पुगेपछि मात्र रामप्रसाद घिमिरेसँग भेट भयो । रामप्रसाद राति ताक्लाकोट आइपुग्नु भएकाले मान्छे चिन्न सकिएन । बत्ती निभेकाले प्रहरीले पनि चिन्न सकेन । भोलिपल्ट मात्र रामप्रसाद घिमिरेका बुढाबुढीसँग भेट भयो ।
कैलाश परिक्रमा सकेर हामी दार्चुला हुँदै फर्कियौँ । बाटोमा घोडा पनि चढ्यौँ । मञ्जु दुई चोटि घोडाबाट लडिन् । त्यहाँबाट फर्केर अयोध्या गई स्नान गरेर हामी सर्लाही फर्कियौँ । क्रमश…..