अनिश्चितकालिन धर्नामा बसेका कर्मचारीहरु

बरहथवा,फागुन २६— सर्लाहीको बरहथवा नगरपालिकाका कर्मचारीहरु अन्दोलित भएका छन् ।
वडा नं. १७ श्रीपुरका वडाध्यक्ष रामविश्वास रायले कर्मचारीमाथि गाली गलौज र हातपात गरेको भन्दै उनिहरु कामकाज ठप्प पारेर आन्दोलनमा उत्रेका छन् । आफुहरु अनिश्चितकालिन धर्नामा बसेको चियोचर्चो खबरलाई बताए ।कारबाहीको माग राख्दै कर्मचारीहरुले बुधबार दिउँसोदेखि कार्यालयको मूलगेटमा धर्ना दिए ।

वडाध्यक्ष राय, वडा नं. १० मा रहेको दुर्गा सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण राय र सोही विद्यालयका प्रधानाध्यापक फेकु राय समेतले प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेललाई गाली गलौज र हातपात गरेको उनिहरुको आरोप छ ।
शिक्षा शाखाका कर्मचारी भूपनारायण अधिकारी (राय) माथि कार्यालयमा रहेको टेबल, कुर्सी र मुक्का प्रहार गरि सख्त घाइते बनाएको कर्मचारीको आरोप छ ।
जनप्रतिनिधिकै अगुवाइमा भएको घटनाले कर्मचारीको मनोबल कमजोरहुनुका साथैैे कार्यस्थलमा कामगर्ने वातावरण नभएको आन्दोलित कर्मचारीको भनाइ छ ।
गत वर्ष पनि वडाध्यक्ष रायले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेश राउत र सहायक लेखापाल रामबाबु रायमाथि दुर्व्यवहार गर्दा कारबाही नभएकाले उनको मनोबल बढेको कर्मचारीहरुको आरोप छ ।
दोषीमाथि कारबाही मागसहित कर्मचारीहरुले नगरप्रमुख देवानन्द महतोलाई ज्ञापन पत्रसमेत बुझाएका स्वास्थ्य संयोजक सत्यनारायण रायले जानकारी दिए।

अन्दोलित पक्षले वडाध्यक्ष रायबाट पटक पटक कर्मचारीमाथि हातपात हुँदै आएकाले कानुनी कारवाही नगरिए कार्यालयको कामकाज ठप्प पारी अनिश्चितकालिन धर्नामा बसिरहने बताएका छन् ।
उता इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धवसिंह भाटले वडाध्यक्ष राय र शिक्षा शाखाका कर्मचारी भूपनारायण अधिकारीबीच कुटाकुट भएको बताए । डिएसपी भाटका अनुसार वडाध्यक्षसहित घटनामा संलग्न पाँच जनालाई बुधावार दिउँसो चार घण्टा नियन्त्रणमा लिएर सम्झाइ बुझाई छाडिएको छ ।
वडाध्यक्ष रायले भने आफूबाट कर्मचारीमाथि दुर्व्यवहार नभएको बताएका छन् । अलपत्र अवस्थामा रहेको सडकका कारण नागरिकले सास्ती खेप्नुपरेको र वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता नपाउँदा गुनासो गरिरहेकोबारे ध्यानाकर्षण गराउने क्रममा प्रमुख प्रशासकीय अधिकृतसँग सामान्य चकाचर्की मात्रै भएको रायले बताए ।