
भाग—४
सर्लाही कार्यथलो
सर्लाहीको तत्कालीन नेत्रगञ्ज गाविसको जुटपानी आएर तपाईँ र प्रेमदयाल प्रधान मिलेर नवजीवन विद्याश्रम विद्यालय सञ्चालन गर्नुभयो; तपाईँको प्रेम प्रधानसँग कहिले र कहाँबाट चिनजान तथा सहकार्य सुरु भयो ?
नवजीवन विद्याश्रम विद्यालय
म भद्रगोल जेल बस्दा प्रेमदयाल प्रधानसँग चिनजान र दोस्ती भयो । प्रेमदयाल प्रधान क्रिस्चियन धर्मको प्रचार गर्नुहुन्थ्यो । बुटवलमा क्रिस्चियन धर्मको प्रचार गर्ने क्रममा प्रहरीले प्रेम प्रधानलाई पक्रेर पाल्पामा थुनेको थियो । काङ्ग्रेसी साथीहरूले प्रेम प्रधानलाई पाल्पा जेलमा सहयोग गरेका रहेछन् । पछि प्रेम प्रधानलाई काठमाडौँ भद्रगोल जेलमा चलान गरियो । उहाँ भद्रगोल जेलमा आउनुभयो । जहाँ म पहिलेदेखि नै जेल जीवन बिताउँदै आएको थिएँ । अनि हाम्रो त्यहीँ चिनजान भयो ।
प्रेम प्रधानकी श्रीमती पाल्पा मिसन हस्पिटलमा काम गर्नुहुन्थ्यो । उनको माइती पूर्वी भारततिर थियो । उनी नेपालको रहनसहनसँग अनभिज्ञ थिइन् । प्रेम प्रधानलाई आफ्नी श्रीमतीलाई काठमाडौँ झिकाउने भित्री इच्छा थियो । मेरी श्रीमती मञ्जु पनि काभ्रेको खोपासीमै बस्थिन् । म पनि मेरी श्रीमतीलाई काठमाडौँमा बस्ने वातावरण मिलोस् भन्ने चाहन्थेँ । प्रेम प्रधानको भित्री इच्छालाई बुझ्दै मैले मञ्जु कोइरालालाई काभ्रेबाट बोलाउँछु ; तपाईँ पनि पाल्पाबाट श्रीमतीलाई बोलाउनुहोस् र उनीहरू दुवै काठमाडौँमा मिलेर बस्छन् भनेर प्रस्ताव राखेँ । प्रेम प्रधानलाई मेरो प्रस्ताव उचित लागेर पाल्पाबाट श्रीमती प्रधानलाई बोलाउनुभयो ।
प्रेम प्रधानकी श्रीमती लक्ष्मी (लख्खी) र मञ्जु कोइराला कमलपोखरी टङ्कप्रसाद आचार्यको घरमा डेरा गरेर बस्न थाले । म जेलबाट छुट्नु एक वर्ष अगाडि प्रेम प्रधान जेल मुक्त हुनुभयो । वि.सं. २०२४ सालमा फादर मोरङ्ग भन्नेले राजालाई बिन्ती चढाएपछि उहाँ जेलबाट छुट्नुभयो ।

उहाँलाई क्रिस्चियनहरूले मानमर्यादा गर्थे । प्रेम प्रधानलाई अमेरिका जाने मौका मिल्यो । अमेरिका ५÷६ महिना बसेर सहयोग जुटाई उहाँ नेपाल फर्किनुभयो ।
म पनि जेलबाट वि.सं. २०२५ सालमा छुटेँ । मेरो काभ्रे खोपासीको अंश खेतबारी बेचेर आएको पैसाले मैले प्रेम प्रधानसँग मिलेर लाजिम्पाटमा एउटा स्कुल खोलेँ । हामीबिचको घनिष्टता बढ्दै गयो । हाम्रा २ परिवार एक भएर लाजिम्पाटमा बस्ने थाले । हामीले नवजीवन विद्याश्रम नाम दिएर विद्यालय सञ्चालन गर्न थाल्यौँ । मैले लाजिम्पाटमा एउटा घर पनि किनेको थिएँ । त्यो विद्यालयमा चार पाँचसय विद्यार्थी थिए । उनीहरूलाई हामीले निःशुल्क पढायौँ ।
म जेलबाट छुटेको केही महिनापछि गणेशमान सिंह सुन्दरीजल जेलबाट छुट्ने समय भएको थियो । जेलबाट छुटेपछि उहाँको कहाँ बस्ने भन्ने ठेगाना थिएन । गणेशमान सिंहको घरमा भाइहरूसँग अंश मुद्दा परेको थियो । म मुद्दा परेको घरमा बस्दिनँ भनेर गणेशमानले मङ्गला भाउजूसँग भन्नुभएको रहेछ । मङ्गलादेवी भाउजू र मेरी श्रीमती मञ्जुबिच सल्लाह भएछ । मञ्जुले मेरै घरमा बसौँ भनिछन् । मङ्गलादेवी गणेशमान सिंह जेलबाट छुटेपछि दुवै जना हाम्रो घर लाजिम्पाट आएर तीन महिना जति बस्नुभयो । मेरो परिवार र गणेशमान सिंहको परिवार एउटै परिवार जस्तो गरेर बस्यौं । गणेशमान सिंहका छोराछोरी उहाँलाई भेट्न मेरै घर लाजिम्पाट आउँथे ।
गणेशमान सिंह पार्टीका कार्यक्रमहरूमा जहाँजहाँ जानुहुन्थ्यो त्यहाँत्यहाँ मञ्जुलाई पनि साथमा लिएर जानुहुन्थ्यो । पछि तीन महिनापछि उहाँहरू घर जानुभयो । मङ्गलादेवी घर नभएको समयमा पनि कहिलेकाहीँ गणेशमानजीले फोन गरेर मञ्जु कोइरालालाई आफ्नो घरमा बोलाएर बारा (मासको दालबाट बनाइने एक प्रकारको खाद्य पदार्थ) बनाइदेऊ भन्नुहुन्थ्यो । अनि मञ्जु कोइराला गणेशमानजीको घर गएर बारा बनाएर खुवाउँथिन् । यसरी गणेशमान सिंहको परिवारसँग हाम्रो परिवारको घनिष्ट सम्बन्ध थियो ।
एकदिन लाजिम्पाटमा नवजीवन विद्यालयमै बसेको समयमा प्रहरीहरू मलाई पक्रन आए । म झ्यालबाट हाम फालेर भागेँ । त्यहाँबाट लुक्दै भाग्दै म भारतको बनारस पुगेँ । त्यहाँ वी.पी. कोइराला पनि हुनुहुन्थ्यो । वी.पी.ले मलाई अब तपाईँ सितामढी बस्नुपर्छ भनेर पठाउनुभयो । त्यसपछि म सितामढी बस्न थालेँ ।
प्रहरीले तपाईँलाई किन पक्राउ गर्न खोजेको थियो ?

पर्चा काण्ड (वि.सं.२०२८)
वि.सं. २०२८ सालमा नेपाल विद्यार्थी सङ्घको विस्तार गर्ने, तरुण काभ्रे नामक संस्था गठन गर्ने, राजा महेन्द्रको कदम र पञ्चायत विरुद्ध पर्चाबाजी गर्दै प्रजातन्त्र पुनःस्थापना गर्न टेवा पु¥याउने उद्देश्यले साथीहरू बिच छलफल गर्न भनी वि.सं. २०२८ साल मङ्सिर महिनातिर म रामचन्द्र पौडेललाई लिएर लामीडाँडा गएँ । बालकृष्ण कारन्जितको घरमा खाजा खाएर चाँपे पीपल टङ्कनाथ शास्त्रीे गुरुको घरमा बालकृष्ण, रामचन्द्र पौडेल र म गयौँ । हामीले टङ्कनाथ शास्त्रीको घरमा रातको खाना खायौँ । हामी खाना खाएर टङ्कनाथ शास्त्रीको घरको तल्लापट्टि रहेको प्रगति पुस्तकालय भवनको माथिल्लो तल्लामा रहेको रामचन्द्र तिवारीको डेरामा बैठक बस्यौँ ।
बैठकमा प्रजातन्त्रको पुनःस्थापनाका लागि सङ्घर्ष गर्ने, राजा महेन्द्रको कदमको विरोध गर्ने, विरोध कार्यक्रमका लागि वि.संं. २०२८ पुस १ गते कार्यक्रम गर्ने र व्यापक रूपमा व्यवस्था विरोधी पर्चा छर्ने निर्णय पारित भयो । त्यस बैठकमा तरुण दलका युवा जम्मा भएका थिए । पर्चा गोप्य रूपमा बाँड्नुपर्छ र गोपनियता भङ्ग नहोस् भनेर उपस्थित क्रान्तिकारी युवाहरूले कसम खाएका थिए । त्यो निर्णय गोप्य राख्ने भनेर औँलामा सियोले खोपी रगत निकालेर रामचन्द्र पौडेल (हाल राष्ट्रपति) म (बासुदेव) र अन्य साथीहरूले रगतको सही छाप गरेका थियौँ ।
पर्चा पम्प्लेट गोप्य तवरले तयार पार्ने र छाप्ने जिम्मेवारी मलाई दिइएको थियो । पर्चा काठमाडौँ मछिन्द्रबहाल नजिकैको एउटा प्रेसमा छापिएको थियो । काठमाडौँमा पर्चा छापिए पनि मुद्रणको नाम चाहिँ भारतको प्रेसको राखिएको थियो । मैले पर्चा छपाएर मेरो घर लाजिम्पाटमा राखेको थिएँ । पछि ती पर्चाहरूलाई मैले डिल्लीबजार द्वारिकाराज उप्रेतीको डेरामा लगेर लुकाएर राखेँ । पुस १ गते नजिकिँदै गएपछि काभ्रेबाट पर्चा लिन बालकृष्ण कारजित र कृष्णबहादुर दनुवार मेरो घर लाजिम्पाटमा आइपुगेका थिए । मैले उनीहरूलाई डिल्लीबजार द्वारिकाराज उप्रेतीको डेरामा लिएर गएँ । द्वारिकाराजले लुकाई राखेका पर्चाको पोका दिए । धेरै जस्तो पोका बालकृष्ण र कृष्णबहादुरले लिएर गए भने केही पोका लिलाबहादुरले पनि लगे ।
पुस १ गते पर्चा बाँड्ने कार्यक्रम थियो । काभ्रेका विभिन्न स्थानमा पर्चा बाँड्नुथियो । बनेपा, दोलालघाट, लामासाँघुु, बाह्रबिसे आदि स्थानमा पर्चा छरियो । पर्चा छर्न विभिन्न व्यक्तिहरूलाई जिम्मा दिइएको थियो । पर्चा छरेको आरोपमा टङ्कनाथ शास्त्री, नवराज अर्याल, रामचन्द्र तिवारी, भूमिनन्द सापकोटा, कृष्णबहादुर आदिलाई प्रहरीले पक्राउ गरी थुनामा राख्यो ।
भूमिनन्द सापकोटा पाँचखाल हुलाकका पिउन थिए । उक्त पर्चा उनले लामीडाँडाका काङ्ग्रेसीहरूसमक्ष पु¥याएका थिए । पोकामा के थियो उनलाई पनि थाहा थिएन । तर पनि उनी समातिए । उनलाई नजरबन्दमा राखिएको थियो । नजरबन्दमा राखेको भनेकाले थुनामा उनी आँखा चिम्लिएर बस्ने गर्थे ।
त्यही पर्चा काण्डमा पर्चा छाप्ने, लुकाउने यही व्यक्ति हो भन्ने सुइँको पाएर प्रहरी मलाई पक्रन लाजिम्पाटको नवजीवन स्कुलमा आएको थियो । म झ्यालबाट हाम फालेर भागेँ र भारत पुगेँ । भारतमा वी.पी.सँग भेट भयो । वी.पी.ले सितामढीमा बस्न निर्देशन दिनुभयो र म सितामढी बस्न थालँे । मेरो परिवार सर्लाहीको जुटपानीमा बस्न थाले । प्रेम प्रधान पनि सर्लाहीको जुटपानीमा बस्न थाल्नुभयो ।
मञ्जु कोइराला जलेश्वर जेल (वि.सं.२०२९)
एकपटक प्रेम प्रधानको घरमा बम फेला पारेर प्रेम प्रधान र मञ्जु कोइरालालाई पक्राउ गरी जलेश्वर जेलमा थुनेको सुनेको थिएँ, त्यसका बारेमा केही बताइदिनुहोस् ।
म वी.पी. को निर्देशनअनुसार वि.सं. २०२६ सालबाट सर्लाहीमा आएर पार्टीको सङ्गठन विस्तार गरी बस्न थालेको थिएँ । मैले जुटपानीमा केही जग्गा पनि किनेको थिएँ । मेरो निकटताका कारण प्रेमदयाल प्रधानलाई पनि मैले जुटपानीमा आएर बस्न सल्लाह दिएँ । उहाँ पनि जुटपानीमा केही जग्गा किनी घर बनाएर बस्नुभएको थियो । मेरै कारणले प्रेम प्रधान र मञ्जु जेल पर्नुभएको थियो ।
मेरा साना काखका छोराछोरी थिए । मेरी कान्छी छोरी रश्मी कोइराला वि.सं. २०२६ सालमा महेन्द्र भवनमा जन्मिएकी थिइन् भने छोरो निरजको जन्म वि.सं. २०२७ सालमा भएको थियो । म प्रवासमा सितामढी क्याम्पमा बस्थेँ । साना छोराछोरीको रेखदेख गरेर मञ्जु कोइराला जुटपानीमै प्रेम दयालको घरमा बस्थिन् । प्रेमदयाल प्रधानसँग हाम्रो घनिष्ट सम्बन्ध थियो । त्यस वेला सरकारले मलाई सर्लाही प्रवेशमा रोक लगाएको थियो । म सर्लाही आउँदिनथेँ । म भारत बिहारको सितामढीमै बस्थेँ ।
वि.सं. २०२९ साल मङ्सिरको एक दिन मञ्जु मलाई (पति) भेट्न सितामढी आइन् । सितामढीबाट जुटपानी फर्केको राति मञ्जुले एउटा सपना देखिछन् । पहेँलो धान खेतमा ठुलो सर्प फणा फिँजाएर मञ्जुलाई डस्न तयार थियो रे । त्यो सपना बिहान मञ्जुले प्रेमदयाल प्रधानलाई सुनाउँदै यो सपनाको फल के हो भनेर सोधिछन् । प्रेम प्रधानले के हुनु शत्रु लाग्ने होला भन्नुभएछ ।

बिहान ४ बजेतिर त प्रेम प्रधानको घरमा पुलिसले घेरा हालिकेको रहेछ । पुलिस आएर मञ्जु कोइरालालाई युआर एरेस्ट भनेछ । मञ्जुले थ्याङ्क्यु भनिन् रे । तपार्इँले सितामढीबाट के ल्याउनुभयो भनेर प्रहरीले मञ्जुलाई सोधेछन् । उनले फलफूल ल्याएकी छु भनिछन् ।
तपाईँले सितामढीबाट बम लिएर आउनुभएको रहेछ । तपार्इँको घरमा त बम फेला पर्यो भनेछन् । प्रेम प्रधानको घरको गोदाममा हालको नवजीवन स्कुल पछाडि बाकसमा बम राखिएको रहेछ । बम राखेको आरोपमा प्रहरीले प्रेम प्रधान र मञ्जुलाई पक्राउ ग¥यो । मञ्जुले मेरा साना छोराछोरी छन् तिनीहरूलाई पनि सँगै लैजान पाऊँ भनिछन् । प्रहरीले ती सानानानीहरूलाई मलंगवा लगेछन् । मञ्जु र प्रेम प्रधानलाई जलेश्वर जेल लगेछन् ।
त्यस समयमा सर्लाहीमा रामनारायण सिंह सि.डि.ओ. थिए । भोलिपल्ट दुई बच्चाहरूलाई जलेश्वर पु¥याई दिएछन् । जलेश्वर पुगेको रात मञ्जुले सुत्न पाइनन् । त्यहाँ महिला जेल थिएन । उनलाई जेलको गोदाममा राखेछन् । उनी रातभरि टेबुलमा बसिछिन् । झुलको व्यवस्था नभएकाले जलेश्वरका लामखुट्टेले उनलाई रातभरि टोकिरहे ।
जलेश्वरमा रामबहादुर डिएसपी थिए । मञ्जुले डिएसपीलाई उजुर गरिछिन् । साथै उनले जेल परेको भोलिपल्ट अञ्चलाधीश बद्रीविक्रम थापासमक्ष सुत्ने, बस्ने अवस्थाको अवगत गराउँदै उजुरी पठाइछिन् । अञ्चलाधीशले दुईओटा पलङ्ग पठाइदिएछन् । उनी तीन वर्षसम्म चामलको गोदाममा थुनिएर बसिन् ।
यसरी जेल हालेपछि बासुदेवशरण विचलित भएर आत्मा समर्पण गर्छ भन्ने मनसायले प्रशासन आफैँले नै प्रेम प्रधानको घरमा बम राखेर मञ्जु कोइरालालाई पक्राउ गरेको थियो । श्रीमती र छोराछोरीले दुःख पाए भनेर मैले आत्मसमर्पण गर्छ भन्ने लागेको रहेछ त्यो कायर प्रशासनलाई ।
जलेश्वर जेलमा रहँदा बयान गराउने बहानामा मञ्जुलाई जनकपुर लगेर एक महिना राखियो । प्रेमदयाल प्रधानको घरमा बम राखेको दिन सर्लाहीको लालबन्दी निवासी भरत बरालको घर छेउको परालको टालमा पनि बम फेला परेर भरत बराललाई पनि पुलिस प्रशासनले पक्रेर थुनेको थियो । यो बम राख्ने कार्य प्रशासनका मान्छे बद्रीबहादुर श्रेष्ठको हो भन्ने भनाइ सर्लाही जिल्लावासीको छ । प्रेमदयाल प्रधानलाई चार वर्ष थुन्यो भने मञ्जु कोइरालालाई तीन वर्ष थुनेर वि.सं. २०३१ सालमा कागज गराएर छाडिदियो । जेलमा बस्दा कान्छी छोरी रेविका डिएसपीको छोरीसँग जेल बाहिर पढ्न जाने गर्थिन् ।
सरकारले नै मञ्जुलाई फसाएर दुःख दिने, मलाई आत्मसमर्पण गर्न लगाउने र राजनीतिबाट छुटाउने योजना बनाएर प्रेम प्रधानको घरमा बम राखी मञ्जुलाई सितामढीबाट बम (हतियार) ल्याएको आरोप लगाई पक्राउ गरेको थियो । मञ्जु पक्राउ परेको तीन दिन अगाडि मलाई भेट्न सीतामढी आएकी रहिछिन् तर म त्यस समयमा बनारस गएको थिएँ । मलाई भेट गर्न नपाएपछि उनी सर्लाही जुटपानी फर्किएकी थिइन् र पक्राउ परिन् ।
म बनारस गएको वेला मलाई मार्न सितामढीमा सरकारले मान्छे पठाएको रहेछ । साथीहरूले त्यो व्यक्तिलाई समातेर शौचालयमा थुनेर राखेका रहेछन् । म बनारसबाट फर्किएपछि त्यो मलाई मार्न आएको व्यक्तिसँग मैले नै बयान लिएँ । …. गिरी थियो । उसलाई मलाई मारेर आए चार विगाह जग्गा दिने भनिएको रहेछ । चार विगाह जग्गामा मेरो ज्यानको सम्झौता गरेको रहेछ । साथीहरूले त्यस गिरीलाई पनि मारौँ भने तर मैले मेरो काललाई मार्न दिइनँ । उसलाई म आफैँले बयान गराएर कागज गराई छाडिदिएँ ।
म सितामढी क्याम्प खडा गरी क्याम्प इन्चार्ज भएर (वि.सं.२०२७– वि.सं.२०३३) बसेको समयमा सरोज कोइराला मधुवनीमा हुनुहुन्थ्यो । सरोज कोइराला मलाई भेट्न सितामढी आउने बस चढ्न लाग्दा सरकारी पक्षले गोली हानी उहाँलाई मा¥यो । उहाँलाई सर्लाही नवलपुर पुनर्वास आएका त्यस समयमा झिजा भनिने पासवानलाई मार्न लगाइएको रहेछ । उहाँको शवलाई भारतबाट नेपाल ल्याउन दिइएन । यो घटना वि.सं. २०३० साल कार्तिक २ गते भारतको सीमावर्ती सहर मधुवनीमा भएको थियो ।
त्यस वेला प्रशासनले शारीरिक यातना मात्र होइन मानसिक यातना पनि दिन्थ्यो । बम काण्ड लगाएर प्रेम प्रधान र मञ्जुलाई पक्रेर जलेश्वरमा थुन्यो । मञ्जुलाई छाड्ने वेलामा मसँग सम्बन्ध विच्छेद गर्न दबाब दिइएको थियो । छ वर्षभन्दा बढी समय श्रीमतीलाई वास्ता नगरेको, अराष्ट्रिय तत्त्वसँग लागेको भनेर पारपाचुकेको कागज गराएर छाडेको थियो । मञ्जु मसँग डिभोर्स गरेर छुटेकी थिइन्, तर उनले व्यक्तिहरूको माध्यमबाट मसँग सोधेकी थिइन् । कायर सरकार मलाई जसरी पनि झुकाउन चाहन्थ्यो । त्यस समय छोराछोरी साना थिए । छोराछोरीको मायाले कसलाई पो पोल्दैन र ! परपाचुकेको कागज गर्दा छाड्छ भने कागज गरिदेऊ भनेर मैले खबर मञ्जुलाई पठाएको थिएँ । त्यो परपाचुकेको खबर पटनाबाट प्रकाशित पत्रिकाले पनि छापेको थियो । तत्कालीन पञ्चायत प्रशासनले मलाई मानसिक पीडा दिएको हो । प्रेम प्रधानजीलाई भने बासुदेवशरण कोइरालालाई पक्रेर बुझाउँछु भनी कागज गराएर पञ्चायत प्रशासनले छाडिदिएको थियो । उहाँले केही रकमको थैली पनि बुझाउनुभएको थियो ।
तत्कालीन पञ्चायती सरकार र उसको प्रशासनले हामी प्रजातन्त्रमा आस्था राख्ने नेता कार्यकर्ताहरूलाई व्यवस्था विरोधी गतिविधि गरेको अरोपमा पिट्ने, कुट्ने, गाली गर्ने, घरमा परिवारलाई सताउने जस्ता शारीरिक र मानसिक दुःखहरू प्रशस्तै दिएका थिए । सहन नसक्ने व्यक्तिलाई त्यस्ता यातनाहरू ठुला भए तर सहन बानी परेको म जस्तालाई त्यस्ता दुःख ठुला लागेनन् ।
म जस्तो जाने बुझेको, देखेसुनेको, राजधानी नजिकको मान्छे, माथिल्लो तहसम्म पहुँच पुगेको व्यक्तिलाई त त्यति निच व्यवहार तत्कालीन प्रशासनले ग¥यो भने त्यो पहाड, तराई र हिमालका निमुखा, असहाय, अशिक्षित र सोझासिधा जनताका छोरा छोरीहरूलाई झन् कति दुःख पीडा दिएको थियो होला ? सहजै अनुमान गर्न सकिन्छ ।
म त ठीकै छु । नयाँ सत्तामा पुगेकालाई हाम्रा पुराना कुरा थाहा छैन । यी दुःखका कुरा भन्नु भन्छन् साथीहरू तर त्यो आफ्नो कर्मको के प्रचार गरूँ ? मलाई भन्न मन भएन, प्रचार गर्न चाहिनँ ।
एक जना डिएसपी थिए नेपालगञ्जका श्रेष्ठ । उनले म जेल पर्दा मलाई खुब पिटेका थिए । उनी अवकास भएपछि काङ्ग्रेसमा लागेका रहेछन् । म केन्द्रीय प्रतिनिधि भएर नेपालगञ्ज जाँदा उनीसँग भेट भयो । उनी आफ्ना कर्मबाट पछुताए । उनले मलाई उनको घरमा लगे । उनले मलाई ढोगे । यातना दिएको कुराले पछुतो लागेको छ भनेर गिडगिडाए पनि । तपाईँले मलाई चिन्नु भयो । मैले तपाईँलाई यातना दिएको थिएँ नि । तपाईँ त पुरानो जेलनेल र यातना भोगेको मान्छे । तपाईँले हाल पार्टीको के जिम्मेवारी पाउनु भएको छ भनेर सोधे । जिल्ला सभापति मैले भनेँ । ए ! त्यो स्तरमा त म पनि पुगिसकेँ । तपाईँ त अझ माथि जानुपर्ने व्यक्ति हो भनेर उनले मलाई भने ।
हामीलाई पक्राउ गर्न सहयोग गर्ने, हाम्रो विरोध गर्नेहरू अहिले हामीभन्दा बढी पार्टीप्रति वफादार जस्तो दखिने भए । उनीहरू त्यागी र पार्टीप्रति वफादार जस्ता देखिए । पुराना, त्यागी, दुःख, सङ्घर्ष गरेका नेता तथा कार्यकर्ताहरूभन्दा त्याग, तपस्या र बलीदानको अर्थ नै नबुझेकाले बढी सुविधा लिएको देख्दा खुसी लागेर आउँछ । किनकि हाम्रो विचार त सही थियो । त्यतिखेर उनीहरूले बुझेका थिएनन् जस्तो लाग्छ ।
जुन व्यक्तिको विचारलाई आदर्श मानेर हामी हिँड्यौ, आहा ! त्यो मान्छेसँग काम गर्न पाए हुन्थ्यो भनेर काम गथ्र्यौँ । तर आज तिनीहरूले नै पार्टीलाई धोका दिँदा दुःख लागेर आउँछ । उसँग नजिक भएपछि उसका छिद्रहरू देखिने रहेछ ।
अँ ! म मञ्जुका कुरा गर्दै थिएँ । मञ्जुले मेरो लागि धेरै दुःख सहेकी छिन् । यो बुढेसकालमा पनि उनको सेवा मैले पाइरहेको छु । दुलाहाभन्दा अगाडि दुलहीको मर्ने चाहना हुन्छ । दुलहीभन्दा अगाडि दुलाहाको मर्ने चाहना हुन्छ । तर मचाहिँ पहिले उनी (मञ्जु) जाऊन् भन्न चाहन्छु । म अगाडि भएको दुःख उनले भोग्नु नपरोस् भन्ने चाहन्छु । उनी गएको दुःख मैले नै भोग्नु परोस् भन्ने चाहना छ । यो मेरो उनीप्रतिको माया हो ।
मुज्जफरपुर जेल
भारतमा बसेर धेरै काम गर्नुभएको थियो रे । के त्यहाँ भारतमा चाहिँ सहज रूपमा आफ्ना गतिविधि गर्न पाउनुहुन्थ्यो ? त्यहाँ बस्दा तपाईँले हतियार सङ्कलन गरी नेपाल निर्यातको काम गर्दा त्यहाँको प्रशासनले धरपकड गर्दैनथ्यो ?
६ वर्ष भद्रगोल जेल बसी वि.सं. २०२५ साल श्रावणमा म छुटेँ । जेलबाट छुटेको ११ दिनपछि फेरि वारेन्ट काट्यो सरकारले । नेपालमा मलाई समात्छ भनेर म इन्डिया गएँ । नेपाली नेताहरू पनि इन्डियामा थिए । विद्यार्थी नेताहरू काठमाडौँमा थिए । म इन्डियाबाट काठमाडौँ बसेर सङ्गठन गर्ने साथीहरूलाई भेट्न भेष बदलेर आउँथेँ । दमननाथ ढुङ्गाना, प्रयागराज सिंह सुवाल, शिव खड्का, लक्ष्मण घिमिरे आदि साथीहरूसँगको सन्देश म इन्डिया बसेका नेताहरूकहाँ पु¥याउँथेँ । इन्डिया बसेका नेताहरूका सन्देश काठमाडौँ बसेका विद्यार्थी नेताहरू समक्ष पु¥याउँथेँ । यस्ता कार्य मैले धेरै पटक गरेँ ।
नकाब लगाएर, कपडा बदलेर, फरक फरक भेषभूषामा अरुले नचिन्ने गरी भारत बस्ने नेता र काठमाडौँ बस्ने कार्यकर्ता तथा विद्यार्थीबिचमा सञ्चार सेतुको रूपमा मैले काम गरेँ ।
वी.पी. कोइराला वि.सं. २०२५ सालमा जेल मुक्त भई इन्डिया गएपछि र सशत्र क्रान्ति अनिवार्य छ भनेर हतियार उठाएपछि इन्डियामा पनि चैनले बस्न भने पाइएन । भारत सरकारले पनि हामीहरूलाई दुःख दिन थाल्यो । भारत सरकारले नेपाल सरकारलाई सहयोग गर्न थाल्यो । वि.संं. २०३० सालमा भारतको सीमावर्ती सहर मधुवनीमा सरोज कोइरालाको हत्या भएपछि त सीमाभन्दा ५० कि.मि. दक्षिण बस्नुपर्ने भनेर सीमा नजिक गतिविधि गर्न प्रतिबन्ध लगायो भारत सरकारले हामीलाई ।
हामीले भारत सरकारको कुरा अवज्ञा ग¥यौँ भनेर मलाई भारतीय प्रशासनले पक्रेर मुज्जफरपुर जेलमा हाल्यो । म मुज्जफरपुर जेल पर्दा बिहारका तत्कालीन मुख्यमन्त्री दरभङ्गामा मारिएका थिए ।
सितामढीमा मसँगका अरु साथीहरू महन्थ ठाकुर, गणेश नेपाली, सूर्यनारायाण चौधरी, सूर्यचन्द्र मिश्र आदिलाई पनि समातेर थुनेको थियो । अरु साथीहरूलाई २, ४, ६ महिना जति थुनेर भारतीय प्रशासनले छाड्यो भने मलाई चाहिँ एक वर्ष थुन्यो । पछि कागज गराएर जमानीमा मलाई पनि छाडिदियो । मलाई छुटाउन इन्डियाकै नेता जमानीमा बसेका थिए । पछि पनि कुनै न कुनै बहानामा मलाई एक दुई महिना थुन्दै छाड्दै ग¥यो । म सितामढी क्याम्पको इन्चार्ज भएर बस्दा हरिहर विरही मेरो सचिव हुनुहुन्थ्यो ।
म बिहार सितामढीको ढुमरा जेल, मुज्जफरपुर जेल, सितामढी र दार्जिलिङ प्रहरी हिरासतमा पटकपटक बस्न बाध्य भएको थिएँ । मुज्जफरपुर जेलमा बस्दा भने जेलभित्र गोलघर जस्तो सानो अर्को सेल थियो जहाँ मलाई थुनिएकोे थियो । जेलभित्र मैले सानो साँघुरो स्थानमा बस्नुपथ्र्यो । दिशापिसाब पनि त्यहीँ सानो सेलभित्र गर्नुपर्ने हुन्थ्यो । निकासचाहिँ हुन्थ्यो तर गन्ध आउने र लामखुट्टे पनि लाग्ने अवस्था रहन्थ्यो । मलाई झुल हालेर सुत्न दिँइदैनथ्यो । नेपाली नक्सलाइड भन्ने आरोप लगाइएको थियो । सितामढी क्याम्पमा म बस्ने घर नेपालीको थियो । मेरो कोठा भिन्नै थियो । सुत्ने खाटको विस्तारामुनि हतियार राखेर म सुत्थेँ । रेल्वे स्टेसन छेउमा घर भाडा लिएर मलगायत साथीहरू बसेका थियौँ । खुला बोर्डर थियो । चोरबाटोबाट कहिले रेल त कहिले बसमा हतियार राखेर एक ठाउँबाट अर्को ठाउँमाम पु¥याउथेँ । हतियार चलाउन पनि मैले सिकेको थिएँ । त्यस समय सर्लाहीका साथीहरू पनि सितामढी क्याम्पमा बस्थे । घनश्याम ढुङ्गेल (लालबन्दी), देवराज पौडेल (लालबन्दी), यज्ञबहादुर कार्की (रानीगञ्ज), भीमबहादुर तामाङ (दोलखा) दुर्गाबहादुर कार्की (हरिवन) आदि सबैले त्यस समयमा बन्दुक बोकेका थियौँ । बजरङ्ग नेपाली भन्ने गणेश नेपालीका ८ वर्षका छोरा थिए । उनलाई ८ वर्षमै पुलिसले समातेर थुन्यो । हामीले उनको झोलामा तीन चारओटा हतियार राखेर कतै पठाएका थियौँ । बच्चालाई शङ्का नगर्ला भनेर पठाएको तर पुलिसले समातेर थुन्यो । तर बच्चा भनेर धेरै समय भने थुनेन ।
सितामढी क्याम्पमा मलाई भेट्न आउने मान्छे र मेरा आफन्तहरूलाई पनि प्रहरीले समातेर थुन्थ्यो ।
वि.सं. २०३० सालमा सरोज कोइरालाको हत्या भएपछि मेरो सुरक्षाका लागि ५÷६ जना सुरक्षा जवान मेरो पछि पछि हिँड्थे । अलिपछि ममाथि अल बिहार वारेन्ट जारी भयो । अल बिहार वारेन्ट हुँदा एक वर्ष म भूमिगत रही पार्टीको काम गरेँ ।
त्यस समयमा म हतियार सङ्कलन गर्ने कार्यमा लागेको थिएँ । हतियार सङ्कलन गर्ने व्यक्ति भन्ने आरोपमा भारतमा पनि मेरो विरुद्धमा मुद्दा चलेको थियो । अल बिहार वारेन्ट भएपछि म बिहार छाडेर बङ्गाल, दार्जिलिङ, सिक्किम, खारसाङ आदि स्थानमा लुकीलुकी, स्थान सरीसरी बसेँ । पूर्वी भारतका ती स्थानमा पनि नेपाली क्रान्तिकारी साथीहरूसँग घेटघाट भयो । नेपालबाट गएका साथीहरूसँग पूर्वी भारतमा पनि काम गरियो ।

मेलमिलाप नीति (वि.सं.२०३३)
वी.पी. मेलमिलापको नीति लिएर वि.सं. २०३३ साल पुस १६ मा नेपाल आउने टोलीमा तपाईँ पनि हुनुहुन्थ्यो रे हो ?
इन्दिरा गान्धी नेपालका राजा र भारतमा बसेका वी.पी. दुवैसँग मिले जस्तो गरी एक अर्काका विरुद्ध गोटी चालिरहेकी थिइन् । प्रधानमन्त्री गान्धीले नेपालको वैदेसिक नीति र सुरक्षा अधिकार भारतलाई दिने भए वी.पी.लाई नेपाली राजनीतिमा पुनः स्थापित गरिदिने प्रस्ताव ल्याइन् । वी.पी.ले राष्ट्रियतासँग सम्झौता गर्न चाहनुभएन । इन्दिरा गान्धीलाई रानी मान्नुभन्दा एउटै स्वार्थ भएका नेपालका राजासँग मेलमिलाप गर्न सकिन्छ भन्ने वी.पी.को धारणा थियो । राजा र हाम्रो स्वार्थ एउटै छ देश बनाउने । उनलाई राज्य गर्न देश चाहिन्छ भने हामीलाई लोकतन्त्र ल्याउन । देश नै हाम्रो साझा स्वार्थ हो ।
भारत वी.पी.लाई गोटी बनाएर नेपालको सार्वभौमिकतामाथि खेल्न चाहन्थ्यो । राजालाई वी.पी. र वि.पीलाई राजाको डर देखाएर इन्दिरा गान्धी फाइदा लिन चाहन्थिन् । त्यसैले भारतमा अपमानित भएर बस्नुभन्दा नेपाल फर्कनु ठिक ठानेर वि.सं. २०३३ साल पुस १६ मा वी.पी.ले मेलमिलाप नीति ल्याउनुभयो । वी.पी.लाई नेपाल फर्कनबाट रोक्न भारतीय नेताहरूले निक्कै जोडबल गरे । तर वी.पी. रोकिन चाहनुभएन । वी.पी. मेलमिलापको नीति लिएर नेपाल फर्कने समूहमा मेरो नाम (बासुदेवशरण कोइराला) पनि थियो । हामी एकै पटक सबै फर्कँदा के होला ? कसो होला ? हामी पहिलो लटमा नेपाल जान्छौँ, सरकारले कस्तो व्यवहार गर्दछ, त्यसपछि रिपोर्टको आधारमा कार्ययोजना बनाउनुहोस् भनेर वी.पी.लाई हामीले भन्यौँ । त्यस समयमा नेपालमा मेरो मुद्दा थियो । नेपालमा मेरो टाउकाको मोल तोकिएको थियो । सरकारले जे पनि गर्न सक्थ्यो ।
वि.सं. २०३३ सालमा वी.पी. मेलमिलाप नीति लिएर फर्कने टोलीमा मेरो नाम पनि भएकाले वी.पी.ले एक दिन मलाई सोध्नुभयो । तिम्रो दुलहीकहाँ छिन् ? म पटना बस्थेँ । मञ्जु (श्रीमती) दार्जिलिङतिर थिइन् । तिम्रो दुलहीलाई बोलाऊ, उनीसँग मेरो केही कुरा छ भन्नुभयो । मैले मञ्जुलाई बोलाएँ । उनी आइन् । बिहारको पूर्णिमामा मञ्जुलाई लिएर म वी.पी.लाई भेट्न गएँ । पूर्णिमामा वी.पी. र गिरिजाबाबु बस्नुहुन्थ्यो । म र मञ्जु वी.पी.लाई भेट्न गएपछि गिरिजालाई उनको कोठा छाड्न लगाएर हामीलाई त्यस कोठामा राख्नुभयो ।
वी.पी.ले मञ्जुसँग कुरा गर्नुभयो । “बासु, नेपाल जाऊँ भन्छन्, के गरूँ ? नेपाल पठाउँदा जेल लान्छ, पक्रन्छ, भन्नुभयो । मञ्जुले भनिन् पक्रे पक्रिन्छ, यहाँ अरुको देशमा बस्नुभन्दा आफ्नै देशमा पक्रे पक्रोस् । वी.पी.ले मञ्जुको टाउकोमा हात राखेर आशीर्वाद दिनुभयो । वी.पी.को एउटा राम्रो बानी थियो कुनै कार्यकर्तालाई जोखिमपूर्ण काम गराउँदा उसको परिवारलाई पनि सोध्ने ।
हाम्रो पहिलो टोलीलाई नेपाल फर्कने अघिल्लो दिन साँझमा विदाइ भोज थियो । पटनामा डा. देवेन्द्र सिंहको घरमा विदाइ भोजको आयोजना गरिएको थियो । डा. देवेन्द्र सिंह पटना युनिभर्सिटीका कुलपति थिए । त्यस भोजमा वी.पी., नोना कोइराला, गणेशमान सिंह आदि हुनुहुन्थ्यो । नोनाले हामीलाई मासु थप्न ल्याउनुभयो । नोनाले मलाई थपेर खानुहोस् पछि के हुन्छ ? कसो हुन्छ ? भन्नुभयो । गणेशमानजीले अँ मार्ने वेलामा राणाहरूको पालामा पनि भातेकुसेमा काट्न लैजाँदा टन्न दही चिउरा खुवाएर पठाउँथे भन्नुभयो । उहाँको भनाइले त्यहाँ एक छिन सन्नाटा छायो ।
म, के.वी.गुरुङ र धर्म गौतम भोलिपल्ट एयरपोर्टमा नेपाल फर्कन तयार थियौँ । गिरिजा, शैलाजा, गणेशमानजीले पटनाबाट हामीलाई विदाइ गर्नुभयो । म पहिलो पटक पटनाबाट हवाइजहाज चढेर त्रिभुवन विमानस्थल काठमाडौँमा झरेँ । प्रहरी आएर हामीलाई एयरपोर्टमै समात्यो ।
“तपाईँहरू माफी मागेर आउनुभएको हो ?” प्रहरीले हामीलाई सोध्यो । हामीलाई पक्रन सबै अफिसर प्रहरीहरू आएका थिए । मैले जवाफमा हिम्मत गरेर भने –“ हामीसँग पो सरकारले माफी माग्नुपर्दछ ।” तब पक्रेर मलाई नख्खु जेलमा लगेर थुनिदियो । केही पहिला पेसेवर हत्याराहरूलाई पठाएर मार्न लागाउँदा पनि बाँचेका यिनीहरू अहिले भेटिएका छन् । यिनीहरूप्रतिको व्यवहार निर्मम हुनुपर्छ भन्ने धारणा तत्कालीन निरङ्कुश सरकारको थियो । तर व्यवहारमा भने निरङ्कुशता देखाएनन् ।
अञ्चलाधीशले तपाईँहरू वी.पी.को पाइलटका रूपमा आउनुभएको हो भनेर थुने । तर उनले पनि राम्रै व्यवहार गरे । राम्रै लाउन खान दिए । सरकार पक्षले हामीप्रति राम्रो व्यवहार गरेको थियो । हामीले सरकारले हामीप्रति राम्रो व्यवहार गरको छ भन्ने रिपोर्ट वी.पी.लाई ग¥यौँ । अनि हामी नेपाल आएको दुई महिना पछि वी.पी. नेपाल फर्कनुभयो ।
वि.सं. २०३३ साल पुस १६ गते मेलमिलापको नीति अनुरूप वी.पी. को समूह नेपाल आयो । वी.पी. फर्कने समूहमा वी.पी., शैलजा, रामबाबु प्रसाईँ, खुमबहादुर खड्का, निलाम्बर पन्थी, गणेशमान सिंह, थिए । वी.पी.फर्कने समयमा वी.पी.लाई विदाइ गर्न भारतका समाजवादी नेता जयप्रकाश नारायणसहित ठुलो सङ्ख्यामा शुभचिन्तकहरूको भिड लागेको थियो । पटना एयरपोर्टमा विदाइको लागि उपस्थिति सबैको आँखामा आँसु थियो ।
वी.पी.को समूहलाई पनि त्रिभुवन एयरपोर्टमा उत्रने बित्तिकै प्रहरीले समात्यो । वी.पी. र गणेशमान सिंहलाई पक्रेर सुन्दरीजल जेलमा लगेर थुनियो ।
मलाई राजकाज मुद्दामा वि.सं. २०३३ कार्तिकदेखि वि.सं. २०३६ साल कार्तिकसम्म तीन वर्ष नख्खु जेलमा राखियो । म नख्खु जेल पर्दा कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल, पुरुषोत्तम बस्नेत, सि.पी. मैनालीहरू पनि नख्खु जेलमा हुनुहुन्थ्यो । हामी किसुनजीलाई भेट्न दिनको एकपटक जान्थ्यौँ । म नख्खु जेलमा हुँदै सि.पी. मैनालीहरू सुरुङ्ग खनेर भागेका थिए । पुरुषोत्तम बस्नेतले मलाई पहिले नै भनेका थिए । बासुजी यिनीहरू एक दिन भाग्छन् भनेर । उनीहरू भागेपछि मैले पुरुषोत्तमलाई सोधेँ, तपाईँलाई त थाहा थियो भन्दा हैन उनीहरूको हातमा ठेला उठेको थियो । यो ठेला केको भन्दा भलिबल खेलेर भन्थे भन्नुभयो पुरुषोत्तमजीले । नख्खु जेल बस्दा एकचोटि वी.पी.की आमा मलाई भेट्न आउनुभएको थियो । वी.पी.की आमाले मलाई भन्नुभयो “बासु बाबु ! जेलमा बस्दा दैनिकी, डायरी लेख्ने गर्नुहोस् ।” तर मैले नियमित डायरी लेख्न सकिनँ । लेखेको सामग्री पनि संरक्षण हुन सकेन । मलाई अहिले पछुतो लाग्छ नलेखेकोमा ।