लेखक,(अन्वेषक) देवराज पौडेल
बाकी अंश
सहभोज (वि.सं.२०११)
तत्कालीन समाजमा देखिएको छुवाछुत तथा जातभातलाई हटाउने उद्देश्यले हामीले वि.सं. २०११ सालतिर वृद्धवृद्धाहरूलाई वर्षको दुई पटक भोजन गराउने अभियान चलाएका थियौँ । त्यस अभियानमा शाकाहारी भोजनलाई प्राथमिकता दिइएको थियो । पहिले यस अभियानको ब्राह्मणहरूले नै विरोध गरे । त्यसमा पनि ब्राह्मण वैष्णवहरूले सहभोजको विरोध गरे । शाक्त तथा वैष्णव दुवैबाट हाम्रो अभियानलाई असर पुग्यो ।
पछि सबै कथित् सानाठुला जातिलाई एकै ठाउँमा राखेर भोजन गराउने प्रयास गरियो । तर हामी असफल भयौँ । मैले घरमै विद्रोह गर्नुप¥यो । दाजुको पिटाइ खाइयो । आमालाई रुवाइयो । लुगा नखोली भान्सा गर्दा घरमै विरोध भयो ।
एक अङ्ग्रेज (गोरा) खोपासी आएका थिए । मैले घरमा लगेर भान्सामा राखी उनलाई खाना खुवाएँ । गाउँलेहरूले मेरो जात काढ्न खोजे । ती गोरा एनजिओमार्फत् अन्तर्राष्ट्रिय भाइचारा बढाउने उद्देश्यले आएका थिए । उनको भित्री उद्देश्य के थियो थाहा भएन । ती विदेशीसँग मित्रता गरी घरमा खाना खान लैजाँदा दाइ र आमा दुवै मसँग रिसाउनुभयो । भाषा नजानेर ती गोरा भन्थे, आएँ, खाएँ दुःख पाएँ, जाऊँ है ।
त्रिभुवन ग्राम विकास (वि.सं.२०१२)
पार्टीको निर्देशनबमोजिम मैले एक डेढ वर्ष जति जागिर पनि खाएँ । ग्रामीण क्षेत्रको विकास गर्ने उद्देश्य राखी वि.सं.२०१२ सालमा त्रिभुवन ग्राम विकास कार्यक्रम खोपासीमा पनि आएको थियो । त्यस कार्यव्रmममा ग्रामसेवीका र ग्रामकार्यकर्तालाई एक वर्षको तालिम दिइएको थियो । मैले ग्रामकार्यकर्ताको तालिम लिएर काम गरेँ ।
ग्रामीण कृषकहरूलाई उन्नत तरिकाले मल बनाउन, बिउ उत्पादन गर्न कसरी उन्नत तरिकाले कृषि कार्य गर्न सकिन्छ भनी प्रशिक्षण दिनुपर्ने मेरो काम थियो । यो कामले ग्रामीण जनतासँग नजिकिन पाइने र उनीहरूमा जागरण ल्याउन सजिलो हुने भएकाले पार्टीकै निर्देशनबमोजिम मैले काम गरेको थिएँ ।
प्रौढ शिक्षा सञ्चालन
मलगायत हामी साथीले विद्यालय गएर शिक्षा लिन असमर्थ प्रौढहरूलाई साक्षर गराउने र चेतना जगाउने उद्देश्य राखी प्रौढ शिक्षा सञ्चालन गरेका थियौँ । हामीले खोपासीमा प्रौढ शिक्षा पढाउँदा सुत्केरी आइमाईहरू पनि टुकी लिएर पढ्न आउँथे । प्रौढ शिक्षाको माध्यमबाट उनीहरूमा जागरण ल्याउन सहयोग पुगेको थियो । मैले प्रौढ शिक्षा मात्र सञ्चालन गरिनँ, त्यस भेगमा शिक्षाको ज्योति फैलियोस् भन्ने चाहना राखी विभिन्न स्थानमा विद्यालय स्थापना गराएको थिएँ ।
मेरो नेतृत्व र अग्रसरतामा काभ्रे जिल्लामा २३ ओटा स्कुल खुलेका थिए । त्यस समयमा महाभारत क्षेत्रमा एउटा पनि विद्यालय थिएनन् । हामीले त्यस क्षेत्रमा विद्यालय खोल्दा आजाद हाइस्कुल र संजिवनी स्कुल मात्र पहिले नै खुलेका थिए । पाँचखालको मङ्गला स्कुल पनि थिएन । मेरो पहलमा त्यस समयमा खुलेका विद्यालयहरू अहिले १२ कक्षा र कलेजसम्म पढाइ हुने हैसियतमा पुगेका छन् । वि.सं. २०६६÷०६७ मा म संस्थापक भएको स्कुलहरूले स्वर्ण जयन्ती मनाएका थिए । मलाई पनि निम्ता गरेका थिए । त्यो विद्यालय अहिले काभे्रको च्यामराङ्गबँेसीमा छ । त्यस विद्यालयको नाम मैले आत्मविकास विद्यालय भनेर नामकरण गरेको थिएँ ।
त्यस विद्यालयको स्वर्ण जयन्तीमा म जाँदा एउटी दाँत फुक्लिएकी बुढी आमा आएर गुरु भन्दै ढोगिदिइन् । मैले उनलाई प्रौढ शिक्षा पढाएको रहेछु । भवानी पनि खोपासी गएकी थिइन् । उनी पनि ती बुढी आमाले मलाई गुरु भनेको सुनेर छक्क परिन् ।
राजनीतिमा संलग्नता
तपार्इँले आफूले गरेका सामाजिक कार्यहरूका बारेमा त जानकारी गराउनुभयो । अब राजनीतिक गतिविधिमा संलग्न भएका मुख्यमुख्य घटना तथा परिवेशहरूका बारेमा पनि केही बताइदिनुहोस् न ? भन्ने प्रश्नमा उनी अगाडि भन्छन् ः
वीरगञ्ज अधिवेशन (वि.सं.२०१२)
वि.सं. २०१२ सालमा वीरगञ्जमा नेपाली काङ्ग्रेसको छैटौँ महाधिवेशन भएको थियो । सुवर्ण शमशेर राणा र गणेशमान सिंह सभापतिको प्रत्यासी थिए । म सुवर्ण शमशेरको पक्षमा थिएँ । सुवर्ण शमशेरको जित भयो । उनी नेपाली काङ्ग्रेसको सभापति बने । उक्त महाधिवेशनबाट समाजवादी र प्रजातन्त्र सुदृढ गठबन्धनबाट धार्मिक, जातीय, लिङ्गीय निरपेक्षताको आधारमा प्रजातान्त्रिक समाजवादको स्थापना गर्ने, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि भूमिसुधार तथा औद्योगिकीकरण गर्ने, संविधान सभाको निर्वाचन तत्काल गर्न दबाब दिने, एसियाली समाजवादी सम्मेलनको सदस्यता लिने जस्ता विभिन्न प्रस्ताव पारित गरी वीरगञ्ज महाधिवेशन सम्पन्न भएको थियो ।
सुवर्ण शमशेरसँग एकान्तमा भेट गर्दा भन्नुहुन्थ्यो, “पार्टी जीवनको प्राण भनेको सामाजिक कार्य हो । कोरा राजनीति मात्र गर्छु भनेर गरेको राजनीति सफल हुँदैन । सामाजिक काम पनि सँगसँगै गर्नुपर्छ ।” सुवर्ण शमशेर मलाई सामाजिक कार्य गर्न प्रेरित गर्नुहुन्थ्यो । मैले महाधिवेशन प्रतिनिधिको रूपमा वीरगञ्ज महाधिवेशनमा भाग लिएको थिएँ । मलाई राजनीतिमा लाग्न प्रेरित गर्ने एक व्यक्ति सुवर्ण शमशेर पनि हुनुहुन्थ्यो ।
भद्र अवज्ञा आन्दोलन (वि.सं.२०१४)
सरकारको विरोधमा अनसन बस्ने, प्रहरीले पिटे पनि प्रतिकार नगर्ने, भद्र किसिमबाट कानुन तोड्ने, सरकारी कानुनको अवज्ञा गर्ने तरिकाले संयमित भएर गर्ने आन्दोलनलाई भद्र अवज्ञा आन्दोलन भनिन्छ । वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना भए पनि लामो समयसम्म निर्वाचन हुन सकिरहेको थिएन । दरबारियाहरू अनेक बहानामा विधानसभाको चुनाव टार्दै गइरहेका थिए । राजालाई बाध्य पारेर चुनाव गराउन दबाब दिने उद्देश्यले नेपाली काङ्ग्रेसको नेतृत्वमा वि.सं. २०१४ साल साउनमा प्रजातान्त्रिक मोर्चा गठन भएको थियो । जुन मोर्चामा नेपाली काङ्ग्रेस र प्रजापरिषद् आबद्ध थिए । सो मोर्चाले संविधान सभाको निर्वाचनको मिति तोकियोस् भन्ने मुख्य माग राखेर वि.सं. २०१४ साल मङ्सिर २२ गतेदेखि भद्र अवज्ञा आन्दोलनको नामबाट सत्याग्रह सुरु ग¥यो । यो आन्दोलन दुई महिनासम्म चल्यो ।
म (बासुदेवशरण कोइराला) काभ्रे जिल्लाको नेपाली काङ्ग्रेसको सदस्य भएर पनि काठमाडौँको आन्दोलनलाई सहयोग गर्न आन्दोलनमा सरिक भएको थिएँ । आन्दोलनकारीहरूको जुलुस सिंहदरबारतर्फ जान खोज्दा मलाई भद्रकालीमा प्रहरीले गिरफ्तार ग¥यो र मलाई डिल्लीबजार कारागारमा लगेर थुन्यो । पक्राउ पर्नु अगाडि नै जुलुसमा हिँडेको समयमा पानीका फोहोरा हान्दा म निथु्रक्क भएर भिजिसकेको थिएँ । जुलुसमा हिँड्नेलाई प्रहरीले पिटेर कतिलाई घाइते बनाएको थियो । त्यस सत्याग्रह आन्दोलनले राजनीतिमा ठुलो प्रभाव पा¥यो । सत्याग्रहमा सहभागी आन्दोलनकारीहरूलाई विभिन्न जिल्लामा प्रहरीले पक्रेर थुन्दा देशभरिका जेल र प्रहरी हिरासतहरू भरिभराउ भएका थिए । मलाई पाँच दिन डिल्लीबजारको प्रहरी हिरासतमा राखेर प्रहरीले छाडिदियो । यो मेरो महिलो हिरासत बसाइ थियो ।
तरुण दलको सम्मेलन (वि.सं.२०१७)
वि.सं. २०१७ साल पुस १ गते काठमाडौँमा तरुण दलको सम्मेलन थियो । पूर्व १ नं. काभे्रको प्रतिनिधित्व गर्दै मलगायत मेरा साथीहरू टङ्कनाथ शास्त्री, पूर्णप्रसाद सत्याल, नारायण दास उलक, ध्रुवप्रसाद आचार्य, हरिप्रसाद पौडेल, पिताम्बर नेपाल, गोविन्द सापकोटा आदि व्यक्तिहरू तरुण दलको महाधिवेशनमा भाग लिन काभ्रेबाट काठमाडौँ गयौँ । महाधिवेशन थापाथलीमा भएको थियो । महाधिवेशन सुरु हुने बित्तिकै राजा महेन्द्रको निर्देशनमा सेनाले वी.पी.कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूलाई गिरफ्तार गर्याे ।
महाधिवेशन उद्घाटन गरेर बोल्ने क्रममा वी.पी.ले भन्नुभएको थियो –“साथीहरू ! आज मलाई केही अस्वाभाविक हुन्छ कि भन्ने शङ्का लागिसकेको छ ।” त्यति वेलासम्म महाधिवेशन स्थललाई सेनाले घेरिसकेको थियो । वी.पी.लाई पक्रेर लैँजादै गर्दा वी.पी.ले महामन्त्री श्रीभद्र शर्मालाई कार्यक्रम जारी राख्नुहोस्, केही हुँदैन, धैर्य गर्नुहोस् भनेर भन्नुभएको थियो । त्यस समयमा तरुण दलको अध्यक्ष सिंहध्वज खड्का र महामन्त्री कमल चित्रकार थिए ।
म तरुण दलको केन्द्रीय सदस्य थिएँ । काभ्रे जिल्लाको तरुण दलको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरिरहेको थिएँ । काभ्रे जिल्लाबाट ३५ जना प्रतिनिधिले प्रतिनिधित्व गरेर महाधिवेशनमा भाग लिएका थिए । वी.पी., गणेशमान, कृष्णप्रसाद भट्टराई आदिलाई पक्राउ गरेपछि काङ्ग्रेसीहरू तितरवितर भए ।
वि.सं. २०१७ साल पुस १ गते दिनको ३ः३० बजे रेडियो नेपालबाट शाही घोषणामार्फत् जननिर्वाचित सरकार र संसद भङ्ग गरी पार्टीहरू माथि प्रतिबन्ध लगाई कलिलो प्रजातन्त्रको घाँटी रेटियो ।
त्यस रात साथीहरू जम्मा भएर हामीहरूले एउटा सङ्घर्ष समिति गठन ग¥यौँ । सङ्घर्ष समितिमा शैलजा आचार्य, नोना कोइराला, सिंहध्वज खड्का, शङ्कर जोशी, मार्शल जुलुम शाक्य, विश्वनाथ अग्रवाल र म (बासुदेव) आदि गरी ५१ जनाको समिति गठन भयो ।
मलगायतका नेताहरूले त्यस शाही कदमको विरोध गर्दै २ गते माइकिङ्ग गर्ने निर्णय ग¥यौंँ । पहिलो पटक माइकिङ्ग गर्ने टिममा मार्सलजुलुम शाक्य र शङकर जोशी थिए । दोस्रो टिममा म र बाराका विश्वनाथ अग्रवालले माइकिङ्ग गर्ने निर्णय भएको थियो । तर पहिलो माइकिङ्ग गर्ने टिमका दुवै जनालाई प्रहरीले समात्नुका साथै अन्य नेता कार्यकर्ताहरूलाई पनि राजाका मान्छेले धमाधम पक्रन थालेपछि साथीहरूले माइकिङ्ग गर्न नजानुस् बरु भूमिगत भएर बस्नुहोस् भन्ने सल्लाह दिएपछि केही साथीहरूलाई साथमा लिएर म (बासुदेव) पूर्व काभ्रेतर्फ लागेँ । काभ्रे फर्कने टोलीमा मलगायत नारायण दास उलक, पूर्णप्रसाद सत्याल र टङ्कनाथ शास्त्री थियौँ । साँगाको बाटो भएर जाँदा सबैले चिन्ने र पक्राउ पर्न सक्ने भएकाले हामी सिस्नेरी, विहावर हुँदै खोपासी पुग्ने गरी पुस २ गते रातारात काभ्रेतर्फ लाग्यौँ । हामी लुकिछिपी काभ्रे पुग्यौँ ।
पुस ३ गते हाम्रो गोप्य बैठक बस्यो । बैठकमा म, टङ्कनाथ शास्त्री, आशाकाजी वैद्य, विष्णुप्रसाद सेवाचार्य, आशाकाजी सेवक, रामभक्त कोख, माधव वैद्य, नारायण दास उलक, गोपालमान श्रेष्ठलगायतका सीमित व्यक्तिहरू उपस्थित भयौँ । पुस ३ गतेको सो गोप्य बैठकबाट नेपाली काङ्ग्रेस काभ्रे जिल्ला सभापति आशाकाजी वैद्यलाई सङ्घर्ष समिति बनाउन भरपर्दो साथीमार्फत् गोप्य तवरले खबर पठाइयो । उनले रात परेपछि बनेपामा कतै बसी काम अगाडि बढाउँला भन्ने खबर हाम्रो टोलीलाई पठाए ।
त्यसपछि खोपासीबाट हिँडेर हाम्रो टोली राति बनेपा पुग्यो । राति बनेपामा आशाकाजी सेवकको घरमा मिटिङ गरियो । मिटिङमा म, गोपालदास वादे, पूर्णप्रसाद सत्याल, आशाकाजी वैद्यसमेत गरी सात जनाको उपस्थिति थियो । प्रजातन्त्र हरण भयो । अब सबैले मिलेर प्रजातन्त्र पुनःप्राप्तिका लागि आन्दोलन गर्न सङ्घर्ष गर्ने र प्रजातन्त्र पुनः स्थापना नभएसम्म सङ्घर्षमा लागिरहने, बरु मर्ने तर मरिगए पनि गोप्यता भङ्ग नगर्ने भनी उपस्थित सबैले प्रतिबद्धता ग¥यौँ । नेपाली कागजमा सङ्घर्ष समितिसम्बन्धी बेहोराको निर्णय लेखी उपस्थित सबैले पिनले आँैला घोची रगत निकालेर रगतको ल्याप्चे लगाएर प्रजातन्त्रको पुनः प्राप्तिको सङ्घर्षमा लाग्ने प्रतिबद्धता जनायौँ ।
सबैले रगतको औँठा छाप लगाएको उक्त कागज मैले खल्तीमा राखेँ । टङ्कनाथ शास्त्रीले मलाई एउटा कुनामा लगेर आशाकाजी वैद्यप्रति आशङ्का गर्दै कुनै साथीले बेइमान गर्ने हुन् कि भनेर खुसुक्क मलाई भन्नुभयो । नभन्दै त्यसपछि आशाकाजी सेवकको घरमा बोलाइएको सङ्घर्ष समितिको बैठकमा आशाकाजी वैद्य उपस्थित भएनन् । उनी पछि पञ्चायततर्फ लागे ।
सङ्घर्ष समितिको दोस्रो बैठकपछि प्रहरीले टङ्कनाथ शास्त्रीलाई पक्राउ गरेर चौतारा जेलमा लग्यो । काभ्रेमै बसिरहे पक्राउ पर्ने सम्भावना भएकाले म (बासुदेव) ढुङ्खर्कको बाटो हुँदै भारत प्रवासतर्फ लागेँ ।
भारत गएर मैले सुवर्ण शमशेरलाई भेटेँ । भारतमै बसेर मैले पार्टीको काम गर्ने जिम्मेवारी पाएँ र म भारतमै बस्न थालेँ । पछि टङ्कनाथ शास्त्री चौतारा जेलबाट छुटेर सुवर्ण शमशेरलाई भेट्न कलकत्ता जाने क्रममा पटनामा मसँग भेट भयो । म र टङ्कनाथ शास्त्री सुवर्ण शमशेरसँग भेट गर्न कलकत्ता गयौँ । कलकत्ता क्याम्प स्ट्रिटस्थित निवासमा हामीले सुवर्ण शमशेरसँग भेट ग¥यौं ।
सुवर्ण शमशेर माथिल्लो तल्लामा हुनुन्थ्यो । म र टङ्कनाथ शास्त्री तल्लो तल्लामा कुरेर बस्यौँ । धेरै बेर कुर्दा पनि सुवर्ण शमशेर तल नझरेपछि टङ्कनाथ शास्त्रीले ठुलै स्वरमा भन्नुभयो, “अहिले पनि राणाजीहरूको चाकरीमा बस्नुपर्ने भए हामीले यत्रो सङ्घर्ष गरेको के काम ?” त्यो कुरा सुवर्ण शमशेरले सुनेछन् क्यारे उनी तल झरे र हामी दुवै जनाले भेट गर्यौँ ।
म र टङ्कनाथ शास्त्री भएर जिल्ला र आफ्नो क्षेत्रमा भएका राजनीतिक गतिविधिहरूका बारेमा सुवर्ण शमशेरलाई जानकारी गरायौँ । हामीले सुवर्ण शमशेरसँग पञ्चायती व्यवस्था विरुद्ध लड्न हतियार माग ग¥यौं तर सुवर्ण शमशेरले पार्टीको निर्देशन नआउन्जेल सङ्गठन विस्तारमा लाग्न सुझाव दिए । हामी दुवै योद्धाका लागि सुवर्ण शमशेरले होटलमा बस्ने व्यवस्था मिलाइदिएका थिए ।
त्यो समय सुवर्ण शमशेरको निजी सचिवमा केशवराज पिंडाली थिए । केशवराज पिंडालीको सम्पादकत्वमा कलकत्ताबाट ‘नेपाल आह्वान’ नामको पत्रिका प्रकाशित हुन्थ्यो । पत्रिकामा नेपालमा लोकतन्त्र बहाली कसरी गर्ने, लोकतन्त्र बहालीका लागि सङ्घर्ष कसरी गर्ने भनी भारत प्रवासमा बसेका नेपाली नेताहरूका विचार उत्तेजक लेख रचनाहरू प्रकाशित हुन्थे । ती प्रकाशित पत्रिकाहरू म नेपाल आउँदा लिएर आउँथे र नेता कार्यकर्ताहरूलाई बाँड्थेँ ।
कलकत्तामा केही दिन बसेपछि टङ्कनाथ शास्त्री नेपाल फर्कनुभयो । मलाई सुवर्ण शमशेरले भारतमै बस्न निर्देशन दिनुभयो । म भारतमै बसेँ ।
चौतारा जेल (वि.सं.२०१८)
वि.सं. २०१७ सालको अन्त्यतिर म नेपालमै थिएँ । पार्टीको एउटा बैठकमा भाग लिन म नेपाल (घर) गएको थिएँ । शान्ति सुरक्षा कानुनअन्तर्गत मलाई प्रहरीले समात्यो । त्यो वि.सं. २०१७ साल चैत्रको कुरा थियो । पक्राउ गरेका सुरुका दिनमा मलाई प्रहरीले धुलिखेलमा राख्यो । केही दिनपछि प्रहरीले मलाई हतकडी लगाएर चौतारा जेल पु¥याई थुन्यो । मलाई बाहिर छाड्दा शान्ति सुरक्षा भङ्ग गर्छ भनेर चौतारा जेलमा थुनेको थियो । त्यस समयमा जेल प्रशासनले खानलाई डेढ माना उसिनेको गन्हाउने चामल र दिनको १४ पैसा दिन्थ्यो । १४ पैसाले सागसब्जी, तेल, मसला आदि किन्नुपथ्र्यो । जेल प्रशासनले खाना पकाउन दाउरा पनि दिन्थ्यो । जेल प्रशासनले दिएको त्यो कुहिएको डेढ माना चामल केलाउँदा एक मानो पनि नबच्ने अवस्थाको रहन्थ्यो । सुरु सुरुमा भात पकाउँदा ह्वास्स गन्हाउँथ्यो । म एक हातमा एउटा खोर्सानी लिएर खाना खान बस्थेँ । एक हातले भात मुछ्यो र अर्को हातले खोर्सानी भाँचेर जिब्रामा रगड्ने र टोक्ने गर्थे । यसो गर्दा जिब्रोमा असाध्यै पिरो हुन्थ्यो । पिरो भएपछि एउटा हातले नाक थुनेर अर्को हातले धमाधम भातको ओइरो मुखमा हालेर निल्ने गर्थेँ ।
जेलमा मसँग ज्यानमारा बन्दीहरूलाई पनि राखिएको थियो । जेल प्रशासनले ती क्रुर ज्यानमाराहरूलाई भन्थ्यो—“तिमीहरूले राजनीतिक आस्थाका बन्दीहरूलाई दुःख दियौ भने तिमीहरूको कैद कम गरिदिन्छौँ ।” अनि ती क्रुर मान्छेहरू हामी राजनीतिक बन्दीहरूसँग अभद्र व्यवहार गर्थे ।
त्यस समयमा ६ महिना जेलमा राखेपछि म्याद थप गर्नुपथ्र्यो । सिन्धुपाल्चोक र काभ्रेका बडा हाकिमहरूले मलाई सम्झाए । यो व्यवस्थामा सुधार आउनेवाला छैन । तपाईँहरूको आन्दोलन निर्णयमा पुग्न मुस्किल छ । म पनि जागिर खानेवाला थिइनँ तर जागिर खाँदै छु । तपाईँको घरमा बुढीआमा, सुत्केरी हुनेवाला श्रीमती हुनुहुन्छ । तपाईँलाई कागज गरेर छाडिदिन्छु । तपाईँ घर जानुहोस् । बुद्धिजीवी सम्मेलन हुँदै छ । म तपाईँलाई प्रतिनिधि बनाएर पठाउँछु भनी बडा हाकिम गृष्मबहादुर देवकोटाले सम्झाएर छाडिदिए ।
म चौतारा जेलबाट छुटेर आठ महिनापछि वि.सं. २०१८ मङ्सिरको अन्तिममा घरतर्फ गएँ । तर घर पुगेको १०÷११ दिनमा भक्तपुरबाट पुनः वारेन्ट भयो । त्यही समयमा वि.सं. २०१८ साल पुस ५ गते घरमा जेठी छोरी मिनुको जन्मभएको थियो । छोरी जन्मिएको तीन चार दिनपछि म घर आएको थिएँ । सुत्केरी श्रीमतीलाई (मञ्जु कोइराला) एक छाक ज्वानोको झोल र भात पकाएर खान दिएँ । जेलबाट छुटेको ११ दिनमा वारेन्ट आएकाले पुनः वि.सं. २०१८ साल पुसमा म भारतको कलकत्तातर्फ जान भनेर घरबाट लुकेर महाभारतको फलामेटार पुगेँ । फलामेटारका मुखिया मेरा साथी थिए । राति उनकै घरमा बास बसँे । उनी तिरो उठाउने मुखिया थिए । राति पुलिसहरू आए । म भित्र थिएँ । पुलिसहरू बाहिर थिए । उनीहरू पनि मुखियाको घर भनेर बास बस्न आएका रहेछन् । तर मेरो मनमा डर पस्यो । भोलिपल्ट झिसमिसेमा मैले मुखिनीको सारी चोलो मागेर लाएँ र सारीको घुम्टो हाली, काखीमा गाग्री च्यापेर पानी पधँेरोतिर गएँ । पुलिसहरूले म हो भनेर पत्तै पाएनन् । पधँेरो पुगेर मुखिनीको सारी चोलो खोलेर गाग्रीमाथि राखेर म फलामेटारबाट तालढुङ्गा, सिक्रे दोभान, राई गाउँ हुँदै कर्मैया निस्केर लुकेर कलकत्ता पुगेँ ।
सशस्त्र विद्रोहमा हतियार उठाउँदा ६ वर्ष भद्रगोल जेल
सुवर्ण शमशेर र भारतमा बस्ने साथीहरूले पटनामा काङ्ग्रेसको सम्मेलन गरेर नेपाल सरकार विरुद्ध आन्दोलनको घोषणा गरिसकेको थियो । म कलकत्ता पुगेपछि सुवर्ण शमशेर, भरत शमशेर, परशुनारायण चौधरी, बासु रिसाल, मलगायत धेरै साथीहरूका बिचमा नेपालमा क्रान्ति गर्ने बारेमा छलफल भयो । भरत शमशेर गोर्खा परिषद्का नेता थिए । उनी नेपाली काङ्ग्रेसमा आएका थिए ।
म कलकत्ता पुग्नुभन्दा अगाडि भरत शमशेर र सुवर्ण शमशेरले सल्लाह गरेका रहेछन् । काभ्रे क्षेत्रका भूतपूर्व सैनिकहरूसँग सम्पर्क बढाएर सङ्गठन गर्नलाई बासुदेवशरणलाई भन्नुप¥यो भन्ने सल्लाहबमोजिम मलाई कलकत्ता बोलाइएको रहेछ । कलकत्ताबाट बोलावट भएपछि म गोप्य रूपमा त्यहाँ पुगेको थिएँ ।
मैले कलकत्ताको डाबर कम्पनीको कम्पाण्डभित्र हतियार चलाउने तालिम लिएको थिएँ । डाबर कम्पनीमा सुवर्ण शमशेरको शेयर थियो । सुवर्णजीले नै तालिमको व्यवस्था मिलाउनु भएको थियो । हामी धेरैले हतियार चलाउने तालिम लिएका थियौं । शसस्त्र क्रान्तिले देशमा प्रजातन्त्र ल्याउन सहज हुनेछ भन्ने सोची उत्साहका साथ हामीले हतियार चलाउने तालिम लिएका थियौं ।
सुवर्ण शमशेरकहाँ सशक्त क्रान्ति गर्ने निर्णय भयो । रामेछाप र दोलखा जिल्लाको सिभिल इञ्चार्ज पद्मशङ्कर अधिकारी तोकिनुभयो । त्यस्तै काभ्रे र सिन्धुपाल्चोकको सिभिल इञ्चार्ज मलाई (बासुदेव) तोकियो । यी चारैओटा जिल्ला क्रान्ति सेनापतिको कमान्डर डि.बी. राईलाई बनाइयो । डि.बी. राईको नेतृत्वमा मसहित ३६ जना पार्टीका सेनाहरू इस्टेनगन, मेसिनगन, १५÷२० राइफल तथा अन्य आवश्यक हातहतियार र युद्धका सामग्री बोकेर कलकत्ताबाट नेपालतर्फ लाग्यौँ । हाम्रो टोली मुज्जफरपुरबाट मधुवनी हुँदै जनकपुर आयो । जनकपुरबाट राति राति लुकिछिपी म र साथीहरू सिन्धुली आइपुग्यौँ । सिन्धुली जिल्लामा पसेपछि हामीहरू जङ्गलमा लुकेर बस्न थाल्यौँ ।
सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे र दोलखा कब्जा गर्न भारतबाट पद्मशङ्कर अधिकारी, घनश्याम ढुङ्गेल, देवराज पौडेल, भीमबहादुर तामाङ, गणेशबहादुर कार्की, दुर्गाबहादुर कार्की, कर्णेल डि.बी. राई र मलगायत अन्य साथीहरू आएका थियौँ । एक जना दोलखाका मगर पनि थिए नाम बिर्सिएँ । बोर्डरबाट नेपाल पसेदेखि निरन्तर वर्षा भइरहेको थियो । सिन्धुलीमाडीभन्दा दक्षिण माईस्थानभन्दा केही उत्तर जङ्गलमा क्याम्प खडा गरी बस्यौँ । साउनको महिना थियो । निरन्तरको झरीका कारण रासनपानीको जोहो गर्न सजिलो भएन । साथमा भएको रासनपानी सकियो । राति बारी बारीबाट मकै भाँचेर ल्याएर पोलेर पनि खायौँ । पद्मशङ्कर अधिकारीले सिन्धुलीमा रासनपानीको चाँजो मिलाइएको छ भन्नुभयो । म सिन्धुली जाँदा चिन्दछन् को जाने भनेर पद्मशङ्करले भन्नुभयो । मैले म जान्छु, मलाई चिन्दैनन् भनेँ । साथमा एउटा रिवल्भर लिएँ र गणेशबहादुर र दुर्गाबहादुर कार्कीलाई साथी लिएर सिन्धुली (बजार) गएँ ।
हामी रासनको बन्दोबस्त गरिएको घरमा गयौँ तर ती घरबेटी घरमा भेट भएनन् । त्यहाँबाट हामी फर्कियौँ । त्यति वेला त्यहाँ त्यति घरहरू थिएनन् । फर्किँदा बाटामा एउटा पाटी जस्तो घर भेटियो । त्यस घरमा केही बेर हामी सुस्तायौँ । हामी क्याम्पमा फर्किन लागेका थियौँ नुन सकिएको सम्झियाँैं । नुन अलिकति भए पनि पानी पिउने बाटो हुन्थ्यो भनेर हामी नुन खोज्न थाल्यौँ । हामी नुन भएको पसलमा गयौँ । पसलमा मान्छेहरू जम्मा भएका थिए । पसलमा जम्मा भएकामध्येको एउटाले भन्यो “यिनीहरू नौला नौला छन् त ?” हामीले दुई माना जति नुन किनेर जङ्गलतिरको बाटो ततायौँ । हामी बाटोबाट नहिँड्नुपर्ने थियो तर बाटैबाटो हिँड्यौँ । बाटामा एउटा मोड आयो । पुलिसको एउटा समूह त्यही मोडमा बसेको रहेछ । सेना र प्रहरीको त्यो संयुक्त सुरक्षा टोली थियो । म अगाडि, बिचमा गणेशबहादुर कार्की र अन्तिममा दुर्गाबहादुर कार्की हिँडेका थियौँ । उनीहरूले हामीलाई देखिहाले । म पछि लागेँ । गणेशबहादुले दुर्गालाई अगाडि राखे । मैले मेरो साथमा भएको रिवल्भर फ्याकेँ । उनीहरूले देखेनन् । उनीहरूले हामी तीनै जनालाई समाते । पछि मेरो पेस्तोल पनि भेटेछन् । त्यहाँ आर्मी मेजर हनुमान सिंह थियो जसले मलाई चौतारा ब्यारेकमा चिनेको थियो । चौतारामा म विकास बोर्डको सदस्य थिएँ । त्यस बोर्डमा आर्मीका मान्छे पनि थिए । उसले त्यहीँबाट चिनेको रहेछ । “ओ बासुजी ! मलाई चिन्नुभएको छ ?” उसले सोध्यो र सिक्रीले हामीलाई बाँध्यो । यसरी वि.सं. २०१९ साल श्रावण १३ गते म सिन्धुलीमा समातिएँ ।
सिन्धुलीबजारबाट कुकुरलाई सिक्रीले बाँधेर डो¥याए जस्तै हामीलाई सिक्रीले बाँधेर डो¥याएर सिन्धुलीगढी लगियो । साथमा हुनमान सिंह मेजर र अरु दुई जना सिपाही थिए । सिन्धुलीगढी पु¥याएर हनुमान सिंह मेजरले मलाई धेरै पिटे, छातीमा, कोखमा, टाउँकोमा बुटै बुटले बजारे । चारै हात खुट्टा प्रयोग गरेर हिर्काए । यति पिटे कि म पिटाई खाँदाखाँदै बेहोस् भएछु । बेहोस भएपछि पनि मलाई कति कुटियो थाहा छैन । म त्यस समयमा धेरै दुब्लो पातलो थिएँ । पछि म होसमा आएँ । मेरो आँखा खुल्यो । मेरो शरीर रगतको आहालमा डुबेको रहेछ । मैले लुङ्गी र एउटा सर्ट मात्र लगाएको थिएँ । त्यो सर्ट र लुङ्गी पिटाइका कारण च्यातिएको रहेछ । त्यो च्यातिएको सर्ट र लुङ्गी पनि रगतले भिजेको थियो । चारैतिर रगत देखेपछि गाह्रो हुनुपर्ने मलाई तर गाह्रो भएन । देशमा प्रजातन्त्र ल्याउनका लागि आफ्नो रगत बगेकोमा ममा आत्मगौरव जागेर आयो । मैले मनलाई दरिलो बनाएँ । मेरो मनले गुनगुनायो पुरानो जमानाको हिन्दी गीत “मर्ना है तो डर्ना क्या ?”
मेरो जिउ नचल्ने मुडो जस्तै भएछ । सेनाको टुकडीमा खुङ्खार अराष्ट्रिय मान्छेलाई पक्राउ गरेका छन् भन्ने गफ सुनिन्थ्यो । सेनाले दुर्गाबहादुर र गणेशसँग बयान लिएछ । उनीहरूले हामी रासनपानी खोज्न आएका थियौँ भनेछन् ।
म मरणासन्न अवस्थामा लम्पसार थिएँ । मेरो वरिपरि रगतको आहाल थियो । एउटा सिपाहीले लुङ्गीवालालाई उठाओ भनेर भन्यो । मलाई प्रहरीहरूले बाँधेर उठाउन खोजे । म उठ्न सकिनँ । सिन्धुलीगढीका छिचरा ढुङ्गामाथि मलाई तत्कालिन सरकारको सिपाहीले बाँधेर घिसारेर लगे । एक ठाउँमा बोरामा बालुवा हालेर झुण्ड्याइएको रहेछ । सिपाहीले तालिम गर्ने स्थान जहाँ सङ्गिन रोप्थे होलान् । मेरो आँखामा कालो कपडाको पट्टी बाँधिदिए । पुलिसले जबरजस्ती उठाएर त्यो बोरा झुण्ड्याइएको ठाउँमा मलाई उ अनि बन्दुकहरूमा गोली लोड गरे । ठीकसँग हान् भन्यो एउटा प्रहरीले । अब मलाई पुलिसले मार्ने भए भन्ने लाग्यो । बन्दुक हान्ने प्रक्रिया सुरु भयो । दुई सेकेन्डभित्र एउटाले बुट बजारेको सुनेँ । कतैबाट आवा आयो । एक सिपाहीले भर्खर बडाहाकिम साहेबको रामेछापबाट आवा आयो, यसलाई (बासुदेवशरण कोइराला) झिकाउन भनिबक्सेको छ भनेर आफ्नो हाकिमका सामु बिन्ती बिसायो । आवामा योसँग बयान लिनु भनिएको छ । कसोकसो बडाहाकिमको आवा १ मिनेट ढिलो आएको भए मेरो मृत्यु भइसकेको हुने थियो । मलाई गोली हान्न ठीक परेको प्रहरीले बन्दुकको ट्रेगरबाट आफ्नो औँँला हटाएछ र म बाँचेँ ।
प्रहरीले मलाई फेरि हिँडाउन खोजे तर म हिँड्न सकिनँ । उनीहरूले मलाई पुनःबाँधेर घिसार्दै तल ल्याए । अनि खुट्टामा ठिँगुरा ठोके र हातमा पनि सिक्रीले बाँधे । त्यसपछि सिस्नु (अल्लो) काटेर ल्याए । त्यो सिस्नु अल्लोको झ्याम्टा ओछ्याएर मेरो बिस्तारा बनाए र त्यस सिस्नुमाथि मलाई सुताइदिए । मेरो शरीरको लुगा त्यातचुत भएको थियो । मैले मेरो शरीर नियालेँ । मेरो शरीरका लगभग प्रायः हरेक अङ्गबाट रगत बगेको थियो । सिस्नुु र अल्लोले घोच्ने र पोल्ने धर्म निभाए । पिटाइले बनाएका घाउहरूमा बढी नै पोल्यो । मलाई असह्य पीडा भयो तर सहनु सिवाय अरु उपायहरू पनि थिएनन् मसँग । राति चकमन्न भएपछि मेरा आँखा लोलाएछन् । आँखा खुलेपछि मलाई ‘पानी….’ भन्न आएछ । मुख नराम्ररी सुकेछ । मेरो घाँटी जोडले सुकेको रहेछ । कुरुवा बस्ने सिपाहीले पानी खाने भन्छ सा’प भनेर उसको सापलाई सुनायो । उताबाट पानी दिनुहुन्न भन्यो । मलाई पानी खान पनि दिएनन् ।
राति पालो बदलियो । नयाँ पालोमा नरबहादुर सुनार भन्ने इन्स्पेक्टर आए । उनले ठिँगुरा खोलिदिए । उनले मलाई तातोपानी तताएर दिए । उनी दयालु रहेछन् । माया गरे । मैले पद्मशङ्करलाई आफँै आउन भनेको थिएँ । तिमी किन आएको भने । यो ठिँगुरा खोलेको नभन्नु भनेर सिकाए । बिहान हुने समयमा उनले पुनः ठिँगुरामा हालेर सिस्नुमा सुत्नु भने । नयाँ डिउटीमा आउनेलाई राम्ररी राख सालेलाई भनेर गए – नरबहादुर सुनुवार । राति पानी खाएर उठेपछि थाहा पाएँ शरीर पूरै बुङ्गबुङ्ती फुलेको रहेछ । मेरा गाला सुन्निएर आँखा छोपिएका रहेछन् ।
मलाई झिकाउन धर्मराज पहाडी बडाहाकिमले रामेछापबाट रातभरिमा २÷३ पटक आवा गरेछन् । उज्यालो भएपछि मलाई रामेछाप चलान गर्ने निधो भएछ । म हिँड्न नसक्ने थिएँ । पिटाइले मेरो खुट्टा चल्नै नसक्ने भएको रहेछ । डोको खोजेर डोकोमा मलाई राखी बोकेर रामेछाप लगे । भरियाले मलाई दुई ठाउँमा लडायो । भिरबाट म झण्डै नखसेको ।
खुर्कोटको झोलुङ्गे पुलमा पुगेपछि पुलिसहरूले खाना खाए र मलाई पनि खाना खाने भनेर सोधे । मैले खान्न भनँे । मलाई खान मन थिएन । त्यहाँ पुल छेउमा बस्दा खोपासी (घर) नजिकैको एउटा दमाईँ त्यही बाटो हिँड्दै रहेछ । उसले मलाई देखेछ । मेरो घरमा गएर कान्छा बाजेलाई पुलिसले समातेको छ भनी खबर सुनाएछ ।
धर्मराज पहाडी बडाहाकिम राम्रै मान्छे रहेछन् । उनले मसँग रेडियो स्टेसन पत्ता लगाउन बयान लिए । उनले मलाई फुलिस्केप साइजका आठओटा कागज दिए र प्रश्न गर्दै गए – के के गर्नुभयो ? के उद्देश्यले राजनीतिमा लाग्नुभयो ? रेडियो कहाँबाट प्रसारण गर्नुभएको छ ? आदिआदि सबै प्रश्नको उत्तर लेखेर भोलिसम्ममा मलाई दिनु भने ।
एकजना पशुपति नामको सब इन्स्पेक्टर रहेछ जसले रामेछापमा मेरो बयान लियो । ऊ पनि सज्जन मान्छे रहेछ । उसले बयान लेख्नुहोस् भनेर कागज दियो । २ दिनमा बयान लेखिसक्नु भनेको थियो तर मेरो हात चल्दैन थियो । मैले पाँच सातदिन लगाएर जवाफ लेखेर दिएँ ।
त्यस समयमा पार्टीले भारतको रामनगरबाट प्रजातन्त्र रेडियो चलाएको थियो । रेडियोमा पार्टीका गतिविधि प्रसारण गरिन्थ्यो । रेडियोमा समाचारभन्दा यो रेडियो प्रजातन्त्र हो । अब बासुदेवशरण कोइरालाबाट समाचार सुन्नुहोस् भन्ने गर्थेँ । त्यो आफ्नो नाम भन्नु हुँदैन भन्ने अज्ञानताको कारण प्रहरी प्रशासनले मेरो नाम थाहा पाएको रहेछ । सिन्धुलीमा पक्राउ परेपछि मेरो नाम सोधे, मैले आफ्नो नाम बताएँ । रेडियो प्रसारणको बारेमा बुझ्न बडा हाकिमले मसँग बयान लिन चाहेको रहेछ । बयान लिनकै लागि भनेर ममाथि गोली चलाउनबाट रोकियो । मसँग रेडियोको बारेमा बयान लिइयो । तर मैले रेडियोको बारेमा आफूलाई केही थाहा नभएको बताएँ ।
कसरी रेडियोमा बोल्यौ त भनी मलाई प्रश्न सोधियो । अरुले नै रेकर्ड गरेर बजाएको हो । हामी फिल्डमा काम गर्ने मान्छे कहाँबाट रेडियो प्रसारण हुन्छ थाहा छैन भनेर रेडियोको बारेमा जानकारी दिइनँ ।
बडाहाकिमकी श्रीमती दयालु रहिछन् । मेरो नाजुक अवस्था देखेर उनलाई दया लागेछ । मेरो जिउ पूरै सुनिएको थियो । उनले मलाई एक कचौरा क्वाँटीको झोल पिउन दिइन् । तर त्यस झोल पिएपछि झन् मेरो शरीर सुन्नियो । त्योे जनै पूर्णिमाताकाको समय थियो ।
बडाहाकिमका लागि घर बनाउन डन्डी लगिएको रहेछ । त्यही डन्डीलाई दोब्य्राएर नेल आकार बनाइयो र मेरो खुट्टामा लगाइयो । नेलका दुवै भाग जोड्न घनले हानियो जसमा मेरा गोडा छिराइएको थियो । घन फलाममा नलागी मेरो खुट्टामा लाग्यो । म भुतुक्कै भएँ । मेरो नली खुट्टो भाँचियो वा हड्डी फुट्यो । असह्य पिडा भयो मलाई । उनीहरूले मेरो खुट्टा प्लास्टर गरिदिए । खुट्टाका कारण मलाई दुई तीन महिना रामेछापमै राखियो । मेरो खुट्टो ठिक भएपछि मात्र मलाई काठमाडौँ चलान गरिएको थियो ।
बडाहाकिमले पनि मलाई राम्रै व्यवहार गरेका थिए । उनले काठमाडौँ हनुमान ढोकाबाट आएको एउटा कागज पढ्न दिए । कलकत्तामा सुवर्णजीको कोठामा बसेर गरेका कुरा त्यस कागजमा उल्लेख थियो – बासुदेव सिन्धु र काभ्रेको इन्चार्ज, भीमबहादुर दोलखाको इन्चार्ज, पद्मशङ्कर रामेछाप र सिन्धुली इन्चार्ज, डिपी राई सेना कमान्डर आदि ….। ती जिल्ला कब्जा गर्ने योजना बनाउनमा योगप्रसाद उपाध्याय, सुवर्ण शमशेर, बासुदेव रिसाल, म र पद्मशङ्कर अधिकारी थियौँ । यिनीहरू मुज्जफरपुरबाट जयनगर हुँदै बोर्डर काटेर जनकपुरबाट सिन्धुली आएका भनेर लेखेको पत्र रहेछ । कहाँबाट हाम्रा ती गोप्य योजना र कुराहरू चुहावट भयो होला भनेर म आश्चर्य चकित भएँ ।
हामीले सुवर्ण शमशेरको कोठामा गरेका कुरा बडाहाकिमले देखाएको कागजमा लेखिएको थियो । बासुदेव रिसाल सुवर्णका दाहिने हात, योगप्रसाद उपाध्याय सुवर्ण शमशेरका सचिव, सुवर्ण शमशेर कमान्डर नै भए म र पद्मशङ्कर अधिकारी देश र पार्टीका लागि मर्न नै तयार भएर हिँडेका व्यक्ति भयौँ । यी व्यक्तिहरूका बिचमा सीमित रहेका कुरा कसरी काठमाडौँ पुग्यो । कसले भन्यो होला सरकारका मान्छेलाई म तीन छक्क परेँ । पछि जेलबाट छुटेपछि अरु साथीहरूसँग पनि यो सम्बन्धमा कुरा गरेँ ।
नोज विक्रम भन्ने एउटा मान्छे थियो । जो सुवर्ण शमशेरको कोठाको तल्लो तलामा बस्थ्यो । सुवर्ण शमशेरको नाता पर्ने सायद भान्जा पथ्र्यो कि ? नोज विक्रम दरबारसँग नजिक थियो रे । उसले कुनै यन्त्र प्रयोग गरेर माथिल्लो तलाको कुरा काठमाडौँ पु¥याएको जस्तो लाग्छ । त्यस समयमा पनि त्यस्ता तगडा सिआइडी थिए । यी कुरा सबै बडाहाकिम धर्मराजलाई थाहा भइसकेकाले मैले पनि ती कुरा बयानमा लेखिदिएँ ।
रामेछापमा तीन महिना थुनेपछि मेरो भाँचिएको खुट्टो ठीक भयो । रामेछापको जेल भत्किएकाले जेल प्रशासनले मलाई काठमाडौँ सरुवा गर्ने भयो । मलाई हातखुट्टा र घाँटीमा नेल तथा हत्कडी लगाई हिँडाएर रामेछापबाट काठमाडौँ लगियो ।
जेल प्रशासनले मलाई रामेछापबाट काठमाडौँ चलान गर्दै छ भन्ने थाहा पाएर घनश्याम ढुङ्गेलको नेतृत्वमा पद्मशङ्कर अधिकारीलगायत ३०÷३१ जना काङ्ग्रेसका कार्यकर्ताहरूले सिन्धुली जिल्लाको रिठ्ठे गहते (खुर्कोट माथि) को गौँडामा आक्रमण गरी प्रहरीबाट राजनीतिक बन्दीहरू (बासुदेव) म लगायतलाई छुटाउने योजना बनाएका रहेछन् । तर प्राविधिक कारणले समयमा त्यस स्थानमा कार्यकर्ता पुग्न सकेनन् र योजना असफल भएछ ।
मलाई रामेछापबाट काठमाडौँ ल्याउँदा बाटोको कष्टपूर्ण हिँडाइ, जेलमा पानीले भिजेको, पिटाइ आदि कारणले ज्वरो आएर टाइफाइड भएको थियो । म सुस्त र लाटो जस्तै भएको थिएँ । बोल्न पनि नसक्ने, सिथिल, होस पनि कम मात्रामा थियो । काठमाडौँ पुगेपछि साथीहरू तातो पानी दिन पनि अप्ठ्यारो मान्थे के भन्छ प्रशासनले भन्ने सोचेर होला । तर बनेपाका आशाकाजी वैद्यले पानी तताएर मलाई खुवाए । आशाकाजी आयुर्वेदिक वैद्य पनि थिए । उनले जानेको औषधी पनि मलाई खुवाए । म ५÷६ महिनामा बल्ल तङ्ग्रिएँ ।
रामेछापबाट मलाई काठमाडौँ ल्याउँदा प्रथम पटक डिल्लीबजार खोरमा राखियो । २÷३ दिन डिल्लीबजार खोरमा राखेर मलाई भद्रगोल सेन्टर जेलभन्दा उत्तरको जेलमा लगियो । मलाई अराष्ट्रिय तत्त्व तथा राजकाज अभियोग लगाएर लगातार ६ वर्षसम्म भद्रगोल जेलमा थुनियो । मलाई भद्रगोल जेलमा थुनेपछि आजन्म कैदमा परिस् भनेर पूर्जी थमाइएको थियो ।
अराष्ट्रिय तत्त्व भनेर धेरै ठाउँमा पोलेकै आधारमा मलाई कतै ३ वर्ष, कतै ४ वर्ष, कतै ५ वर्ष, कतै ६ वर्ष जेल सजाय गरेर ३५ वर्ष जेल र ४५ हजार जरिवाना तोकिएको रहेछ । तर वि.सं. २०२० सालमा नयाँ मुलुकी ऐन बन्यो । वि.सं. २०२१ सालमा उक्त मुलुकी ऐन कार्यान्वयनमा आयो । वि.सं. २०२१ सालमा अदालतले एउटा फैसला ग¥यो । एकै प्रकृतिका मुद्दामा धेरै समय कैद भोगेपछि अरु कैद भोग्नु पर्दैन भनेर मुलुकी ऐनमा लेखेको हुनाले सर्वस्वसहित ६ वर्ष कैद र ५० हजार जरिवानाको फैसला भएको थियो ।
भद्रगोल जेलमा बस्दा मसँग मनमोहन अधिकारी, भीमबहादुर लामा र शम्भुलाललाई पनि राखेको थियो । हामीसँग उच्च श्रेणीका नेता पनि सँगै थिए भने पागल, चोर, फटाहाहरूलाई पनि सँगै राखिएको थियो । प्रशासनको व्यवहार सबै थरिका बन्दीको लागि उस्तै थियो । हरेक कोठामा एउटा एउटा तामदार (चौकीदार) हुन्थ्यो । जेलभित्र बन्दीहरूले गरेको कुरा उसले जेल प्रशासनलाई सुनाउँथ्यो । ती सुनाएका कुराको आधारमा कैदीहरूलाई सजाय पनि दिइन्थ्यो । पहिले त एक अर्का बन्दीहरू बिच कुरा गर्न पनि दिइँदैनथ्यो । ठुला नेताहरू जेलमा आएपछि यस प्रवृत्तिमा बिस्तारै सुधार हुन थाल्यो । कैदीहरूका बिच आपसमा कुरा गर्न दिन थालियो । जेलभित्र सफा सुग्घर पनि हुन थाल्यो । भीमबहादुरजी जेलमा पानी परिरहेको समयमा पनि छाता ओडेर फूलमा पानी हाल्न जानुहुन्थ्यो । साथीहरू भीमबहादुर बौलायो भन्थे । तिमीहरूलाई थाहा छैन (फूलहरू) उनीहरूलाई पनि मायाको खाँचो छ । मैले पानी दिँदा उनीहरू खुसी हुन्छन् । प्रकृतिले दिएको पानी त छँदै छ, मैले मायाले दिएको पानीबाट उनीहरू प्रफुल्ल हुन्छन् भन्नुहुन्थ्यो ।
हामीहरू सामूहिक मेस बनाएर खाना खान थाल्यौँ । त्यस समयमा कैदीहरूलाई ‘क’ श्रेणी र ‘ख’ श्रेणीमा छुट्याइएको थियो । कैद नतोकिएकालाई ‘क’ श्रेणी र कैद तोकिएका कैदीहरूलाई ‘ख’ श्रेणीमा बाँडिएको थियो । ‘क’ श्रेणीका कैदीहरूलाई अरुवा चामल र दिनको ५० पैसा दिइन्थ्यो । अरुवा चामल दिन थालेपछि अलि राम्रो खान पाउन थालियो । बिस्तारै जेल प्रशासनले घरबाट आएका परिवारका सदस्यहरूलाई भेट गर्न दिन थाल्यो । बिस्तारै मैले पनि अध्ययन गर्न र लेख्न पनि थालँे । म कविता पनि लेख्थँे । मैले राजनीतिका कक्षाहरू पनि लिन थालँे ।
भद्रगोल जेलमै बस्दा एक दिन मलगायत सिहंध्वज खड्का र कमल चित्रकारलाई तत्कालीन अञ्चलाधीश विष्णुमणि आ.दी.ले बोलाए । हामीहरू खुबै डरायौँ । कतिपय नेताहरूलाई जेल बाहिर लगेर मारिदिने काम गथ्र्यो तत्कालीन पञ्चायत सरकारले । हामीलाई पनि सिंहदरबार पु¥याइयो । हामी तीनै जनालाई अलग अलग कोठामा लगेर राखियो ।
अञ्चलाधीश विष्णुमणि आ.दी.ले मलाई प्रश्नका साथ केही प्रलोभनका कोसेलीहरू बाँडे –“बासुजी ! अब यस्तो दुःख गरेर बस्न भएन । परिवार छन्, छोराछोरी छन्, केही आयआर्जन हुने काम गर्नुप¥यो । कति जेल बस्ने ? तपाईँ के हुने ? म जस्तै अञ्चलाधीश हुने कि अरु केही जागिर खाने । महाराजाधिराज सरकार र व्यवस्थालाई समर्थन गर्नुहोस्, तपाईँका साथीहरूले पनि समर्थन गर्छन् । के गर्ने ?” म केही नबोली बसँे । किन केही बोल्नु हुन्न भनेर पुनः विष्णुमणिले मलाई बोल्न आग्रह गरे । मैले मलाई सोच्नदिनुहोस् भनेँ । कति दिन सोच्ने र कोसँग सोध्ने भनेर आ.दी.ले मलाई पुनः प्रश्न गरे ।
मैले साथीहरूसँग सोध्छु र सल्लाह गर्छु भनी जवाफ दिएँ । त्यसपछि मलाई पुनः भद्रगोल जेलमा फर्काइयो । भोलिपल्ट मलाई साथीहरू कमल चित्रकार र सिंहध्वज खड्कासँग कुरा गर्न दिइएन । सिंहध्वज खड्का बिरामी परेछन् । उनी नक्कली बिरामी परेका रहेछन् । कमल चित्रकारलाई कोठाबाट निस्कन दिएनन् । मैले उनीहरूसँग भेट गरेर सल्लाह गर्ने अवसर पाइनँ ।
सिंंहध्वज खड्का तीन दिन बिरामी भएर निस्किए । उनी दश दिनपछि लुम्बिनी अञ्चलको अञ्चलाधीश भए । एक वर्षपछि सिंहध्वज खड्का मन्त्री पनि भए । कमल चित्रकार र मलाई पनि त्यस्तै प्रश्न सोधेर प्रलोभन देखाइएको थियो तर प्रजातन्त्रको लागि आफ्नो ज्यानको पर्वाह नगरी क्रान्तिमा हिँडेको मैले त्यस्तो प्रलोभनमा ¥याल चुहाइनँ र दुःख कष्ट त्याग गरी क्रान्तिको बाटोलाई नै रोजेँ । अञ्चलाधीश बनाइदिने प्रस्ताव आएको समयताका मलाई भद्रगोल जेलमा भेट्न मेरी श्रीमती मञ्जु कोइराला आएकी थिइन । मैले उनलाई भने राजा र व्यवस्थालाई समर्थन गरे जेलबाट मुक्त गर्दै अञ्चलाधीश बनाइदिन्छु भनेर अञ्चलाधीश विष्णुमणि आ.दी.ले राखेको प्रस्ताव सुनाएँ । उनको मन चोर्न मैले के गरौँ भनेर सोधेँ । तर उनले त्यो प्रस्ताव अस्वीकार गर्नुहोस् भनिन् । तपाईँले क्षणिक लाभ सोचेर जानु हुँदैन, देश र जनताको लागि अझै लड्नुपर्छ, एक दिन त्यो निरङ्कुश शासन व्यवस्था ढल्छ र हरेस नखानुहोस् भनेर प्रलोभनमा नफस्न सुझाव दिइन् । मेरो विचारसँग उनको विचार मिलेकोमा मेरो मन प्रसन्न भयो ।
म भद्रगोल जेलमा भएका समयमा बाहिर आँपको टोकरीमा बम भेटिएछ । एक जना माडवारी समातिएछ । उसलाई कसकसलाई बम सप्लाई गरिस् भनेर पुलिसले सोधेछन् । उसले मेरो नाम पनि लिएछ अनि मलाई भद्रगोल जेलबाट हुनमानढोका थानामा लगेर केरकार गरियो । बयान लिँदा २÷४ थप्पड हिर्काइयो पनि । बिर्जु माडवारीलाई पनि थुनेको रहेछ । हुनमानढोकामा एक एसपीलाई मैले प्रश्न गरेँ, भद्रगोल जेलमा सजाय भोगिरहेको व्यक्तिलाई कानुन विपरीत थानामा ल्याउन मिल्छ ? एस.पी.ले तपाईँलाई ल्याउनु नहुने थियो भनेर माफी माग्यो ।
म भद्रगोल जेलमा हुँदा दुर्गानन्द झा सेन्ट्रल जेलमा थिए । दुर्गानन्द झा प्रजातन्त्रवादी युवक थिए । वि.सं. २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि वि.सं. २०१८ सालमा राजा महेन्द्रलाई जनकपुर भ्रमण गर्ने क्रममा जानकी मन्दिर नजिक माघ नौ गते दुर्गानन्द झाले बम प्रहार गरेका थिए । त्यसैले उनी पक्राउ परी थुनिएका थिए । उनलाई फाँसीको सजाय सुनाइएको थियो । उनलाई फाँसी दिने समयमा जेलमा कडीकडाउ शासन थियो ।
उनलाई फाँसी दिनुभन्दा अगाडि हाम्रो भलिबल टिम र सेन्ट्रल जेलको भलिबल टिमबिच भलिबल खेल हुन्थ्यो । हामी भद्रगोल जेलबाट सेन्ट्रल जेल भलिबल खेल्न जान्थ्यौँ । पुलिसले खेलाउन हामीलाई लैजान्थ्यो । दुर्गानन्द झालाई सानो पिँजडा जस्तो सेलमा सिक्रीले बाँधेर राखिएको थियो । हामीले उनलाई देखेर हात उठायौँ । उनले पनि हात उठाए । तर त्यहाँ काम गर्ने कामदारले इसारा नगर् भनेर भन्यो ।
जेलभित्र हामीले स्कुल सञ्चालन गरेका थियौँ । म पढाउँथेँ । पढाइ बन्द गराइयो । जेलको छतमा बाह्र पन्ध्र जनालाई राखेर भोज खुवाइएको थियो । यो भोज किन भनेर सोध्दा, फाँसी दिने मान्छेहरूले उनीहरूको विधिअनुसार भोज गरेको भन्ने जवाफ पाइयो । राज्यले उनीहरूको खर्चका लागि भनेर गुठी नै छुट्याएको रहेछ । उनलाई फाँसी दिने अघिल्लो दिन उनकी आमा र श्रीमतीलाई भेट्न दिइएको थियो । उनले श्रीमतीलाई भने रे चिन्ता नगर म धेरै ठुलो काम गर्दै छु, अब यो राज्य सत्ता धेरै दिन रहँदैन । तिमीले विवाह गछ्र्यौ भने गर्दा हुन्छ ।
त्यस भेटको भोलिपल्ट उनलाई फाँसी दिइएछ । तर फाँसी दिने क्रममा डोरी चुडिएछ र दोस्रो चोटीमा पनि उनी मरेनछन् । अनि वि.सं. २०२० साल माघ १५ गते राति गोली हानेर तत्कालीन पञ्चायत सरकारले उनलाई मारे ।
त्यस समय जेलर मीनबहादुर थिए । उनी जेल सुधार गर्ने खालका थिए । उनले हामीलाई पत्रिका, लेख्न पढ्न कागज र कलमको व्यवस्था गरिदिएका थिए । हामीले उनको सहयोगमा स्कुल पनि खोलेका थियौँ । दुर्गानन्दलाई फाँसी दिएपछि मीनबहादुर बिदामा घर गए । सायद त्यस फाँसीको कारण उनी विक्षिप्त भए । उनी पनि चौध पन्ध्र दिनपछि मरेको खबर आयो ।
दुर्गानन्दको फाँसी नेपालको लागि अन्तिम फाँसीको सजाय हो । पहिले माघ १० देखि १५ गतेसम्म सहिद दिवस सप्ताह मनाइन्थ्यो । दुर्गानन्द झा सहिद भएपछि माघ १० देखि १६ गते सम्म सहिद सप्ताह भनी मनाउन थालियो ।
छ वर्ष भद्रगोल जेलमा बसेर वि.सं. २०२५ साल श्रावण १४ गते ५० हजार जरिवाना तिरेर म जेल मुक्त भएँ । मलाई सर्वस्वसहित ६ वर्ष कैद र ५० हजार जरिवानाको फैसला भएको थियो । उक्त ५० हजार ऋण गरेर घरबाट पठाइदिएको पैसा थियो ।
म जेल मुक्त भएको तीन महिनापछि वी.पी., गणेशमान पनि सुन्दरी जेलबाट मुक्त हुनुभयो । वि.सं. २०२५ सालमा सुवर्ण शमशेरले एउटा वक्तव्य दिएका थिए । उक्त वक्तव्यको समर्थन गरेर वी.पी. गणेशमान जेल मुक्त हुनुभयो ।
सुवर्ण शमशेर र राजाबिच भएको सहमतिमा वी.पी. र गणेशमानलाई जेलमुक्त गर्नुपर्ने, भारतमा रहेका साथीहरूलाई माफी दिनुपर्ने, संवैधानिक निकास हुने आशामा हामीले भक्तिपूर्वक राजालाई सहयोग चढाउने आसयको वक्तव्य आएको थियो । सुवर्ण शमशेरका कारण उहाँहरू जेलबाट छुट्नुभयो ।
वि.सं. २०२५ सालमा राजा महेन्द्र मुटुरोगका कारण अस्वस्थ भएका थिए । राजाको स्वास्थ्य लाभको कामना गर्दै नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुवर्ण शमशेरले राजनीतिक सहकार्यको चाहना राखेर एउटा प्रेस वक्तव्य निकाल्नुभएको थियो । उक्त वक्तव्यलाई समर्थन गरे पनि आठ वर्षको जेल जीवनपछि वि.सं. २०२५ साल कार्तिक २४ गते वी.पी. र गणेशमानलाई तत्कालीन पञ्चायत सरकारले जेल मुक्त गरेको थियो । जेल मुक्त भएपछि वी.पी. र गणेशमान भारततर्फ लाग्नुभयो ।
सर्लाही कार्यथलो (वि.सं.२०२६)
तपार्इँ काभ्रेपलाञ्चोकको मान्छे सर्लाही कसरी आइपुग्नुभयो ?
वी.पी. सुन्दरीजल जेलबाट वि.सं. २०२५ सालमा छुटेपछि म वी.पी.लाई भेट्न गएँ । वी.पी.ले मेरा हातहरू समाएर ओल्टाइपल्टाई गर्दै भन्नुभयो – “बासुदेव ! तिमीले धेरै दुःख पायौ । हाम्रो काम अझै सकिएको छैन । तिमी भारतमा बसेर अध्ययन गरेका व्यक्ति हौ । तिमीलाई मधेशको संस्कृति, चालचलन र भाषाको बारेमा पनि राम्रो जानकारी छ । पहाडमा जन्मिएकाले पहाडी संस्कृतिको बारेमा पनि तिमीलाई ज्ञान छ । नेपालको तराई मधेशमा स्थायी रूपमा बस्ने मधेशी र पहाडबाट बसाइ सरी गएका समुदायबिच कडी भएर काम गर्न तिमी सक्छौ । त्यसैले तिमी तराईमा गएर काम गर । मधेशी पहाडीका बिच मतभेद हुन सक्छ । तिनीहरूलाई मिलाएर काम गर्न तिमीे सर्लाहीलाई कार्यक्षेत्र बनाऊ । तिमी अब सर्लाहीमा गएर काम गर ।”
म त्यस समयमा काभ्रे जिल्ला कमिटीमा उपसभापति थिएँ । म काभ्रे छाडेर वि.सं. २०२६ सालमा वी.पी.को आदेश तथा निर्देशन पालना गर्दै सर्लाही आएँ । सर्लाही आएर पार्टीको सदस्यता लिएँ तर सरकारले सर्लाहीमा मलाई प्रतिबन्ध लगायो । तर पनि म सर्लाहीको पार्टी सङ्गठनतर्फ लागेँ । क्रमश……………….