सर्लाही,भदौ -१२,जिल्लाकाे लालबन्दीमा डेंगु तथा किटजन्य राेग नियन्त्रण तथा निवारणकाे लागि बहु निकायहरूको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिका स्वास्थ्य शाखाले बुधवार (आज) वडा नम्बर -६ स्थित सभाहलमा आयोजना गरेको कार्यक्रममा  डेंगु संक्रामण नियन्त्रण विषयमा जनस्वास्थ्य निरीक्षक राेशन चाैधरीले सहभागीलाई जानकारी गराएका थिए ।
उनले डेंगु एक प्रकारको ज्वरो भएको बताए  । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक राेग  डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेबाट सर्ने उनलेे बताए ।
स–साना सफा पानी जमेको स्थान, वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पर्ने भएका नियन्त्रणका लागि यसको बासस्थान नस्ट गर्नुपर्ने  जनस्वास्थ्य निरीक्षक चाैधरीले बताए ।


डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण रहेको उनलेे बताए । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुने उनलेे जानकारी दिए ।
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु   ज्वरो ५ देखि ७ दिनसम्म रहनु, असाध्यै टाउको दुख्नु,आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्नु,शरीरमा विमिरा आउनु,वाकवाकी लाग्नु, पेट दुख्नु, नाक वा गिजाबाट रगत बग्नु,रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू  देखा पर्ने उनलेे जानकारी दिए ।
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्ने,पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने ,पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने,कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने,याे लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउन उनलेे आग्रह गरे ।


सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न, साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउन उनले सुझाव दिए।
कार्यक्रममा नगर प्रमुख(मेयर) वासुदेव अधिकारीकाे  प्रमुख  आतिथ्यता तथा उप प्रमुख  कल्पना माया पाख्रिनकाे विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष,स्वास्थ्यकर्मी ,स्वयंसेवीका,स्थानीय नागरिक  तथा सञ्चारकर्मीहरूकाे सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख  मुमताज मिकरानीले स्वागत मन्तव्य राखेका थिए ।
भाेली र पर्सि  लामखुट्टेकाे बासस्थान खाेजी गरि  लार्भा नष्ट गर्न अभियान चलाइने कार्यक्रममा जानकारी दिइएको थियो ।