लेखक,(अन्वेषक) देवराज पौडेल
बाकी अंश
बासुदेवशरण कोइरालाले ९२ वर्षको उमेरमा पनि परोपकारी कार्यमा सरिक रहेर वृद्ध सेवा आश्रम सञ्चालन गर्दै आएको पाइन्छ । बासुदेवशरण कोइरालासँग उनका नौ दशकका आयामहरू खोतल्ने सौभाग्य पाएँ । उनीसँग गरेको भलाकुसारी, संवाद र प्रश्नोत्तरको आधारमा केही मुख्य घटनाहरूलाई उनको भनाइमा राख्ने जमर्को गरेको छु ।
उनीसँग अनौपचारिक रूपमा गरिएका कुराकानीलाई आधार मानी तयार पारिएको सम्पादित संवाद ।
पार्टी सदस्यता – २००८
नेपाली काङ्ग्रेस पार्टीको सदस्यता कहिले लिनुभयो भन्ने प्रश्नमा उनी भन्छन् – इलाहावादबाट बनारस गए पछि नेपालीहरूको सङ्गतले इलाहावादमा प्राप्त गरेको ज्ञान त्यहाँ वृद्धि गर्ने अवसर मिल्यो । नेपाली काङ्ग्रेसका शीर्ष नेताहरू त्यस समय बनारस बस्थे । गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, वी.पी. कोइरालालाई पहिलो पटक बनारसमा भेटेको थिएँ । बनारसको ब्रह्मघाटमा कुनै भट्टराई बन्धुको विवाह समारोह थियो । त्यस विवाहमा कृष्णप्रसाद भट्टराई र वी.पी. कोइराला पनि जानुभएको थियो । यो वि.सं. २००७ सालको क्रान्ति पछिको कुरा हो । त्यस समयदेखि गोपालप्रसाद भट्टराई र वी.पी. कोइरालाको परिवारको सङ्गतले ममा राजनीतिक चेतनामा वृद्धि हुँदै गयो ।
बनारसमै बस्दा नेपाली काङ्ग्रेसका चार नेता वी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरहरूबाट प्रभावित भएर म नेपाली काङ्ग्रेसमा लागेँ । उहाँहरूले पार्टी सदस्यता लिएर काम गर्न सुझाव दिनुभयो ।
म वि.सं. २००८ सालको सुरुमा काठमाडौँ आएँ । पहिलेदेखि नै काठमाडौँ, काभ्रे आसपासका साथीहरूसँग मेरो चिनजान थियो । वि.सं. २००८ साल वैशाख, जेठतिर मैले पार्टीको क्रियाशील सदस्यता लिएँ । मलाई नेपाली काङ्ग्रेस पार्टीको सदस्यता दिने व्यक्ति राजदास वादे श्रेष्ठ हुनुहुन्थ्यो । बनारसकै साथीहरू र नेताहरूको भनाइ मानेर म नेपाल आई पार्टीको काम गर्न थालेँ । साथै विभिन्न सामाजिक र परोपकारी संस्थाहरूमा पनि आबद्ध भएर सामाजिक कार्य गर्न थालेँ । वि.सं. २००८ सालमा नेपाली काङ्ग्रेस पार्टीको सक्रिय सदस्यता लिएपछि म राजनीतिक कर्ममा लागेँ । त्यस समयमा काभ्रे र सिन्धुपाल्चोक एउटै जिल्ला थियो । म ती जिल्लाको सङ्गठन गर्ने मन्त्री भएँ । वि.सं. २००९ सालमा पूर्व १ नं. स्थित खोपासी शाखाको मन्त्री भएँ (तत्कालीन समयमा सचिवलाई मन्त्री भनिन्थ्यो) । त्यस पछि म राजनीतिक र सामाजिक गतिविधि सँगसँगै गर्न थालेँ । वि.सं. २००९ साल जेठ १ गतेदेखि जनकपुरमा पार्टीको पाँचौँ अधिवेशन भएको थियो । म महाधिवेशन प्रतिनिधि भएर जनकपुर गएको थिएँ ।
त्यस महाधिवेशनमा वी.पी. पार्टी सभापतिमा निर्विरोध चयन हुनुभयो । त्यस महाधिवेशनमा वि.पी र मातृकाबिच पहिले विवाद भएको थियो । पछि मातृकाले वि.पि.लाई सभापति बनाउन समर्थन गर्नुभयो । वि.सं. २००९ साल साउन ९ गते काङ्ग्रेसको तत्कालीन केन्द्रीय कार्य समितिले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई ४८ घण्टाभित्र राजीनामा दिनुपर्ने भनी माग ग¥यो । तर साउन २६ गते मात्र मातृकाले प्रधानमन्त्री पदबाट राजीनामा दिए । वि.सं. २००९ साउन ३० मा राजाको नेतृत्वमा परामर्शदायी सरकार बन्यो । यसले वि.सं. २००७ सालको क्रान्तिको मूल मर्मलाई चोट पु¥याएको महसुस गरियो ।
राजाको नेतृत्वमा गठन भएको परामर्शदात्री नवगठित सरकारको विरोधमा देशभरि सरकार विरोधी अभियान पार्टीले सञ्चालन ग¥यो । वि.सं. २०१० सालको सुरुमै पूर्वी तराईका जिल्लाहरूमा भूमिसुधारका लागि किसान विद्रोह सुरु भयो । मालपोत नबुझाएर सरकारलाई असहयोग गर्ने घोषणा गरियो । यो पूर्वको किसान आन्दोलनको प्रभाव क्रमशः पश्चिमका जिल्लाहरूमा पर्न थाल्यो । सरकारले यो आन्दोलन शान्त गर्न सकेन र वि.सं. २०१० असार २ गते परामर्शदात्री सरकार विघटन भयो । पुनः मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तर मातृका काङ्ग्रेसबाट अलग भई नेपाल प्रजा पार्टीका नेता भएका थिए ।
वि.सं. २०११ साल पुस २६ गतेदेखि नेपाली काङ्ग्रेसले देशव्यापी सत्याग्रह सुरु ग¥यो । सत्याग्रहमा विभिन्न ६ सूत्रीय मागहरू राखिएको थियो । स्वतन्त्र न्यायालय कायम होस् । आम निर्वाचन छिटो होस्, शान्ति सुरक्षा कायम होस्, सल्लाहकार सभा खारेज गर् जस्ता मागहरू थिए । म पनि वि.सं. २०११ सालमा तत्कालीन कानुन विरोधी अभियानमा धुलिखेल क्षेत्रमा सक्रिय सहभागी भएर सत्याग्रहमा संलग्न भएको थिएँ । पछि राजा त्रिभुवन उपचार गर्न स्वीट्जरल्याण्ड गए । महेन्द्रले माग पूरा गरिदिने आश्वासन दिएपछि वी.पी.ले सत्याग्रहको जित भन्दै सत्याग्रह स्थगित गर्न आह्वान गरेपछि हामीले सत्याग्रहको कार्यक्रम स्थगित गर्यौँ ।
विवाह
तपाईँले विवाह कहिले गर्नुभयो ? भन्ने प्रश्नमा उनी अगाडि भन्दछन् – पण्डित श्री कृष्णप्रसाद उपाध्याय कोइराला काभ्रेको बलथली गाउँमा पुराण भन्न जानुभएको थियो । सप्ताह पुराण सुन्न गाउँभरिका महिला, पुरुष, केटाकेटी जम्मा भएका थिए । पण्डितजीले पुराण भनिरहेको समयमा एक दश वर्षे बालिकाले ध्यान दिएर पुराण श्रवण गर्दै बत्ती कातिरहेको देख्नुभएछ । हरेक दिन उनको भक्तिभाव र बत्ती कात्ने सिपबाट प्रभावित भएर मेरा दाजु पं. श्री कृष्णप्रसाद कोइरालाले आफ्नो कान्छो भाइका (मेरा) लागि कन्या माग्न मेघनाथ आचार्यको घर जानुभएछ ।
मेघनाथ आचार्य र डम्बरकुमारी आचार्यकी जेठी छोरी मञ्जु आचार्यले पार्टीखर्क गाउँमा म त विवाह गर्दिनँ भनिछन् । दाजु श्रीकृष्णले म भाइको विवाह भएपछि बुहारीलाई पार्टीखर्क गाउँमा राख्दिनँ, खोपासीमा घर बनाएर राख्छु भन्ने कबुल गरेपछि कन्या विवाह गर्न राजी भइछन् । त्यस समयमा पनि खोपासीमा सानो बजार थियो । हाम्रो केही जग्गा पनि खोपासीमा थियो । पार्टीखर्कबाट खोपासी जान एक घण्टा पैदल हिँड्नुपथ्र्यो । बस्न र खेतीपाती गर्न खोपासीमा सहज थियो । खोपासीमा बस्न पाउने भएपछि मञ्जु मसँग विवाह गर्न राजी भइन् । अनि हाम्रो विवाह वि.सं. २०१० साल वैशाख अक्षय तृतीया तिथिका दिन सुसम्पन्न भयो ।
सानैदेखि दाइले पढाउने, हुर्काउने गर्नुभएकाले होला मेरो विवाह धुमधामसँग गराइदिनुभयो । त्यस समयमा पनि हाम्रो विवाहमा बैण्डबाजा बजाइएको थियो । त्यस काभ्रे क्षेत्रमा पहिलो पटक मेरो विवाहमा बैण्ड बाजा बजाइएको हुनुपर्छ । म दुहाला बनेर घोडामा चढी जन्तीलिएर पार्टीखर्कबाट बलथली गएको थिएँ । मञ्जु १० वर्षकी थिइन् । म २१ वर्षको थिएँ । बेहुली ल्याउँदा मैले उलिन काठ (डोली) मा चढाएर ल्याएको थिएँ ।
मेरो घरमा बास नहुने भएकाले आमालाई साथी चाहिएको थियो । आमाको रेखदेख गर्न उनी घरमा बसिन् । विवाह गरेको एक वा दुई महिनापछि आमा र मञ्जुलाई दाइले कबोल गरेबमोजिम खोपासी लगेर राखिदिनुभयो । आमा मञ्जुलाई तँ मेरी छोरी होस् भन्नुहुन्थ्यो । सासूबुहारीको सम्बन्ध आमा छोरीको जस्तै थियो ।
म बाहिर हिँडिरहन्थेँ । आमा र मञ्जुले घर व्यवहार चलाएका थिए । मलाई मानिसले चिन्ने बनाउनमा मञ्जुको महत्त्वपूर्ण भूमिका छ । मञ्जु कोइराला मेरो साथमा नभइदिएको भए जनताको सेवा गर्ने निस्वार्थी मान्छे भनेर मलाई मान्छेले चिन्न पाउने थिएनन् । मेरो जीवनमा उनी नआएको भए सायद म जोगी बन्थेँ होला ।
मलाई मान्छेहरू अव्यावहारिक भन्दछन् । वास्तवमा मैले घर व्यवहार गर्न जानिनँ । आमा र मञ्जुले नै मेरो घर व्यवहार धानेका थिए । राजनीतिमा हिँड्दा मञ्जुले विवाहमा जम्मा भएको गर्धुवा पैसा पनि मलाई खर्च गर्न दिइन् । पछि भूमिगत बस्ने व्रmममा खानपानका लागि समस्या पर्दा घरमा खवर पठाउँथँे खर्च पठाइदेऊ भनेर, उनीले आफ्ना गहना फुकालेर कत्ति पटक पठाएकी छिन् । म राजनीतिमा बाहिर हिँड्ने, प्रशासनसँग लुकेर बस्नुपर्ने भएकाले मेरी जेठी र कान्छी छोरीको उमेरको फरक नौ वर्षको छ ।
मञ्जु खोपासीमा बस्दा आमालाई कहिल्यै एक्लै छाडिनन् । माइती बलथली जानुपर्दा आमाबुहारीको साथी बनेरसँगै जानुहुन्थ्यो र सँगै बुहारी (मञ्जु)लाई लिएर घर आउनुहुन्थ्यो । आमाको मामाघर (सत्याल) पनि बलथलीमा थियो । मेरी आमा आफ्नी बुहारी (मञ्जु) लाई छोरी जस्तै प्रेम गर्नुहुन्थ्यो । त्यसैले मञ्जु पनि आमालाई औधी माया गर्थिन् ।
सामाजिक कार्यहरू
राजनीतिमा आउने व्यक्ति सामाजिक कार्यकर्ता भएर अगाडि आउनुपर्छ भन्ने तपाईँको आदर्श सोच छ । तपार्इँ राजनीतिमा आउनुभन्दा अगाडि कस्ता कस्ता सामाजिक कार्यकर्ताबाट प्रेरित हुँदै कस्ता सामाजिक कार्यमा सरिक हुनुभयो ? भन्ने प्रश्नमा उनी अगाडि भन्दछन् ः
वि.सं. २००१ सालको हिउँबाट सामाजिक कार्यको सुरुआत ः
वि.सं. २००१ सालदेखि नै दैवी प्रकोपमा परेका व्यक्तिहरूलाई परस्पर सहयोग गर्नुपर्छ भन्ने जानकारी पाएको थिएँ । वि.सं. २००१ सालमा म १०÷११ वर्षको थिएँ । खोपासी पार्टीखर्कमा ठुलो हिमपात भयो । हिउँले कत्तिको घरका छाना भत्किए, धेरैका बालीनाली नष्ट भए । जताततै सेताम्मे । त्यस ताका हाम्रो घरमा एक जना साधु बाबा आएका थिए । देख्दै भयङ्कर, अग्लो, लामो जटाधारी मोटो व्यक्ति । उनलाई भैरव बाबा भनिन्थ्यो ।
हिउँ परेको दुई दिनपछि ती बाबाको निर्देशनमा एउटा टोली बन्यो । उनले चन्दा उठाएर एक जनालाई औषधी किन्ने लिस्ट दिएर काठमाडौँ पठाए । त्यो व्यक्ति औषधी लिएर काठमाडौँबाट फर्केपछि ती बाबाले एउटा टोली बनाएर गाउँ घुम्न थाले । त्यो टोलीको नाम हिउँ पीडित उद्दार टोली राखियो । एउटा कपडामा हिउँ पीडित उद्दार टोली नामक व्यानर लेखेर हामीलाई बोक्न लगाए । यो कामको क्रममा एक सातासम्म समाज सेवाका बारेमा ती बाबाले क्लास लिएर हामीलाई सम्झाए । हामीमा सामाजिक कार्य गर्ने चेतना अझ जागृत भयो । त्यस समय हामीले हिउँ पीडितहरूलाई सहयोग गरेका थियौँ । यसरी हिउँ पीडितहरूलाई सहयोग गरेर मेरो सामाजिक कार्यको सुरुआत भएको थियो ।
खोपासीमा विद्यालय र जग्गादान अभियान (वि.सं. २००८)
वि.सं.२००७ सालसम्म खोपासी गाउँमा विद्यालय थिएन । काभ्रे खोपासीका हस्तबहादुर भण्डारीका छोरालाई पढाउन भनी एक जना रामजी नामका शिक्षक गाउँमा आएका थिए । सामथ्र्य र चेतना भएका परिवारका सन्तानहरू भने भारतको बनारस गएर पढ्थे । गाउँमा सोझा सिधा गरिब अनपढहरू गाउँमा नै खोतीपाती, वनपाखा चहारेर बिताउँथे ।
वि.सं.२००७ सालको राजनीतिक परिवर्तनले गाउँ घरहरूमा पनि जागरण ल्याउँदै थियो । रामजी मास्टरले हस्तबहादुर भण्डारीका छोराछोरी पढाउन थालेपछि गाउँलेहरूमा चिन्ता पलायो । सामन्तका छोरा, नाति शिक्षकबाट पढ्छन्, हामी गरिब सर्वसाधारण हाम्रा छोराछोरी पढाउन निजी शिक्षक राख्न सक्दैनौँ त्यसैले हामी पनि गाउँमा विद्यालय खोलौँ भनेर सरसल्लाह हुन थाल्यो ।
वि.सं. २००८ सालमा विद्यालय खोल्ने निधो गरेर हामीले समिति बनायौँ । पाँच सात जनाको समिति बन्यो । रामचन्द्र भारतीलाई अध्यक्ष बनाइयो । नारायण दास उलक, पूर्णप्रसाद सत्याल, रामहरि भण्डारी, कबेलप्रसाद उलक र म बासुदेवशरण कोइराला सम्मिलित समिति बन्यो । हामीले विद्यालय स्थापना ग¥यौँ । विद्यालयको नाम श्री राम विद्यालय राखियो । सुरूमा विद्यालय एकदेखि पाँचसम्म चल्यो । त्यसपछि क्रमशः कक्षा बढाउँदै लगियो । समितिमा मेरो पद सचिव÷मन्त्री रह्यो । पार्टीले जस्तो मन्त्री पद राखियो । म त्यस श्री राम विद्यालयको संस्थापक सदस्य बनेँ । विद्यालयको प्रचारप्रसार गर्ने र आर्थिक जोहो गर्ने जिम्मा मेरो काँधमा आयो । विद्यालय सञ्चालन गर्न जग्गा थिएन ।
महन्त नरबहादुर भारतीले आफू बस्ने मठको अधिनमा भएको पाटीजस्तो घर र त्यसले चर्चेको केही जग्गा विद्यालयलाई मिलाइ दिए । हामीले विद्यालय स्थापना गर्न भू–दान अभियान चलायौँ । विनवाभावेको जग्गा दान दिने प्रभावले गर्दा यस्ता शैक्षिक, सामाजिक संस्थाहरू स्थापित गर्न जग्गा दान दिनुपर्छ भन्ने भावना ममा पलाएको थियो । मैले एक खलो खेत (एक पाथीको बिउ जाने) विद्यालयलाई सर्वप्रथम दान दिएँ । सायद ४०÷५० मुरी धान फल्थ्यो होला । आफूले विद्यालयलाई जग्गादान दिएपछि जग्गादान अभियान चलाएँ ।
अरु स्थापित सामाजिक व्यक्तित्वहरूले पनि विद्यालयलाई जग्गादान गर्न थाले । खोपासीमा विद्यालय स्थापित भएपछि खोपासी वरिपरिका गाउँहरू दाप्चा, भूवदेउ, ढुङखर्क, महाभारतका जनता प्रभावित भएर आफ्ना छोराछोरी हाम्रो श्री राम विद्यालयमा पढाउन पठाउन थाले । यसरी पूर्व १ नं. को विकास र चेतनाको जननी श्री राम विद्यालय भयो । खोपासीमा एउटा वाचनालय पनि वि.सं. २००८ सालमै सञ्चालनमा आएको थियो ।
रसायन पुस्तकालयको स्थापना (वि.सं.२०१०)
समाजलाई सचेत र जागरुक बनाउन पुस्तकालय एउटा उपयुक्त माध्यम हुने सोचले वि.सं. २०१० सालमा काभ्रेको खोपासीमा एउटा पुस्तकालय खोल्ने अठोट भयो । पुस्तकालय खोल्ने छलफल चलाउन एउटा बैठक बोलाइयो नरबहादुर भारतीयको सानिध्यमा । हस्तबहादुर भण्डारीका छोरा पढाउन काठमाडौंबाट आएका शिक्षक रामजी गुरु पनि बैठकमा उपस्थित थिए । उनले पुस्तकालयको महŒव र फाइदाहरूका बारेमा प्रकाश पारे ।
दाजु कृष्णप्रसाद कोइराला, म, नारायण दास उलक, रामचन्द्र भारती (नरबहादुरका छोरा) पूर्णप्रसाद सत्याल, ईन्द्रबहादुर खड्कालगायत बाह्र चौध जना मिलेर बैठक गरियो । सबैको पूर्ण सहमतिमा सबैले पढ्न पाउने गरी खोपासीमा एउटा पुस्तकालय खोल्ने निर्णय गरियो । पुरानो वाचनालयलाई पुस्तकालयमा परिवर्तन गरिने भयो ।
पुस्तकालयलाई पुस्तकहरू सङ्कलन गर्न दाजु कृष्णप्रसाद कोइराला, रामचन्द्र भारती र गोपाल गुरागाइँ खटिनुभयो । केही महिनापछि दाजु कृष्णप्रसाद कोइरालाले भारतबाट ठुलो सङ्ख्यामा विभिन्न पुस्तक, हिन्दी पत्रिकाहरू सङ्कलन गरेर ल्याउनुभयो । त्यसपछि गाउँ घरमा व्यक्तिहरूले राखेका पुस्तक पनि सहयोग मागेर सङ्कलन गरी करिब दश हजार पुस्तकहरू जम्मा पारियो । पुस्तक जम्मा भएपछि काभ्रे जिल्लाका पहिलो ग्य्राज्युएट व्यक्ति द्वारिकाराज उप्रेतीद्वारा पुस्तकालयको उद्घाटन गराइयो ।
नारायण दास उलकका पिताजी हर्षबहादुर उलकको पाटी जस्तो घर थियो । त्यो घर उहाँले अस्थायी रूपमा पुस्तकालय सञ्चालन गर्न उपलब्ध गराउनुभएको थियो । सोही घरमा पुस्तकहरू राखेर पुस्तकालयको विधिवत् उद्घाटन गरियो । योगी नरहरिनाथले पुस्तकालयको नाम जुराउनुभएको थियो । पुस्तकालयको नाम ‘रसायन पुस्तकालय’ भयो । योगी नरहरिनाथ भन्नुहुन्थ्यो “यी पुस्तक गाई र कल्पवृक्ष जस्ता चिज हुन्, जसमा रसै रसको भण्डार हुन्छ ।” त्यो अमृतसरीको रसास्वादन यी पुस्तकहरूबाट गर्न सकिन्छ । त्यसर्थ, पुस्तकालयको नाम ‘रसायन पुस्तकालय’ भयो ।
रसायन पुस्तकालयबाट हस्तलिखित पत्रिका निकाल्न थाल्यौँ । प्रतिभाहरूका लेख रचना हस्तलिखित पत्रिकामा प्रकाशन गरेर नव साहित्यकारहरूलाई लेखन कार्यमा प्रोत्साहन गथ्र्यौँ । त्यस समय त्यस क्षेत्रमा प्रेस थिएन । वि.सं. २०११ सालमा बनेपामा एउटा सागर प्रेस खुलेको थियो । त्यो सानो लेटर प्रेस थियो ।
रसायन पुस्तकालयबाट प्रकाशित हस्तलिखित पत्रिकाको स्तर उन्नति गर्दै हामीले सागर प्रेसबाट पत्रिका छपाउन थाल्यौँ । साहित्यकार कृष्णप्रसाद पराजुलीले हाम्रो रसायन पुस्तकालयबाट प्रभावित भएर आफ्नो गाउँ भमरकोट (पाँचखाल) मा पनि पुस्तकालय खोल्नुभएको थियो । रसायन पुस्तकालयको प्रभाव त्यस क्षेत्रमा श्रीखण्डपुर, धुलिखेल, पाँचखाल र अन्य आसपासका क्षेत्रमा परेको थियो । रसायन पुस्तकालयले त्यस क्षेत्रका मानिसहरूलाई अध्ययनशील बनाउन र समाजमा जागरण ल्याउन महत्त्वपूर्ण योगदान पु¥याएको थियो । अहिले नाम चलेका साहित्यकार जन्माउन पनि रसायन पुस्तकालयले विशेष भूमिका खेलेको थियो ।
वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देशभरि नै नवचेतनाको बाढी आयो । त्यसको प्रभाव खोपासीमा नपरिरहन सकेन । खोपासीमा पनि जागरण आएको थियो । महन्त नरबहादुर भारती, पण्डित कृष्णप्रसाद उपाध्याय कोइराला, समाजसेवी भगवत सिंह महत यी तीन खोपासीका समाज सुधारक, राजनीतिक, धार्मिक, कर्मकाण्डी र स्थानीय प्रेरक व्यक्तित्व थिए । उनीको प्रेरणाले स्थानीय युवाहरू सामाजिक कार्य गर्न अग्रसर हुन्थे । वि.सं. २००८ सालमै श्री राम विद्यालय र एउटा वाचनालय स्थापना भइसकेको थियो । खोपासीमा त्यही वाचनालय रसायन पुस्तकालयको नाममा रूपान्तरित भएको थियो । यो रसायन पुस्तकालयका प्रमुख संरक्षकहरू नरबहादुर भारती, कृष्णप्रसाद प्रपन्नाचार्य (कोइराला) रहेका थिए ।
नारायण दास उलक, पूर्णप्रसाद सत्याल र म (बासुदेव) त्रिमूर्तिको रूपमा प्रायः सँगै रहन्थ्यौँ । हामीले रसायन पुस्तकालयलाई नै आफ्नो कार्यथलो बनाएका थियौँ । हामी हरेक दिन जसो कुनै न कुनै कार्यक्रम गथ्र्यौँ । तत्कालीन खोपासी बजारमा हर्ष साहुको डबली प्रसिद्ध थियो । हामी साहित्यका विभिन्न विधाका विविध कार्यक्रम त्यही डबलीमा गथ्र्यौँ । त्यहाँ कथा, निबन्ध, कविता, एकाङ्की र नाटक सम्मेलन आदि जस्ता कार्यहरू भइरहन्थे ।
समय समयमा राष्ट्रका ख्याति प्राप्त कवि तथा लेखकहरूलाई आमन्त्रण गरिन्थ्यो । रसायन पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, सत्यमोहन जोशी आदिलाई स्वागत गर्ने सौभाग्य पाएको थियो । त्यस्तै कृष्णप्रसाद पराजुली, वैशी श्रेष्ठ, कृष्णप्रसाद दुवाल, मोहन दुवाल, आशाकाजी सेवक आदिले पनि यस पुस्तकालयलाई ठुलो गुण लगाएका थिए । पुस्तकालयले पनि उनीहरूलाई आफ्नै सम्पत्ति ठान्थ्यो ।
वि.सं. २००८ सालदेखि वि.सं. २०१४ सालसम्म काभ्रेमा २९ ओटा पुस्तकालय खुलेका थिए । जागृति पुस्तकालय (भमरकोट), प्रकाश पुस्तकालय (श्रीखण्डपुर) र सुर पुस्तकालय (बनेपा) प्रमुख थिए । हामीले काभ्रेमा पुस्तकालय सङ्घ बनाएका थियौँ । रसायन पुस्तकालय पुस्तकालय सङ्घको अध्यक्ष थियो ।
रसायन पुस्तकालय सबै किसिमका शैक्षिक, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक क्षेत्रको केन्द्रबिन्दु थियो । यस पुस्तकालयमा राजा महेन्द्रले आफ्नो हातले मन्तव्य लेखेका थिए । वी.पी. कोइरालाले यस कार्यको प्रशंसा गरेका थिए । योगी नरहरिनाथले एक साता पुस्तकालयमा बसेर प्रवचन दिएका थिए । धर्मराज थापाले नाचेका र काजीमान कान्दङ्वाले मादल बजाएका थिए । कवि सिद्धिचरण श्रेष्ठले यही पुस्तकालयमा बसेर “परोपरकार धर्म हो, परोपकार कर्म हो, परोपकार गर्नु नै मनुष्य खास बन्नु हो” भन्ने परोपकारको गीत लेखेका थिए । नरबहादुर भारतीले बेला बजाएर मालवी गाए । उस्ताद विवेक दास गुप्ताले स्वरलिपि लेखे । डा. के.आई.सिंहले जुँगा मुसार्दै “धानको बाला झुल्यो हजुर देशै रमाइलो” गीत गाउँदै नाचेका थिए ।
रसायन पुस्तकालय जोगी, सन्यासी, देशी विदेशी सबै खालका व्यक्तिको तीर्थस्थल बनेको थियो । यस पुस्तकालयलाई त्यो उचाइमा पु¥याउन काभ्रेका पहिलो स्नातक अनेकोटका कृष्णप्रसाद, ज्यामिरेका द्वारिका उप्रेती, भुम्लुङका खड्गराज खरेल, धुलिखेलका हंसराज श्रेष्ठ, बनेपाका राजदास वादे, पनौतीका सप्तलाल ताम्राकार, विहावरका रामचन्द्र अधिकारी, बलथलीका दुर्गाप्रसाद हुँमागाईका योगदान तारिफ योग्य छन् ।
दाजु कृष्णप्रसाद प्रपन्नाचार्यको अथक परिश्रमले नेपाल र भारतबाट हजारौँ पुस्तकहरू सङ्कलन भएका थिए । विभिन्न पाण्डुलिपिहरू पनि संरक्षण गरेर पुस्तकालयमा राखिएको थियो । नेपालको प्रथम साहित्यिक पत्रिका ‘शारदा’ का सबै अङ्कहरू सुरक्षित थिए । यसैगरी भारतको इलाहावादबाट प्रकाशित ‘मनोहर कहाँनिया’ गोरखपुरको ‘कल्याण’ का सबै अङ्कहरू सुरक्षित थिए । वास्तवमा जसले जे खोज्यो त्यही पुस्तक पाउँथे रसायन पुस्तकालयमा ।
रसायन पुस्तकालय खोपासी आसपासमा जति पनि सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिक गतिविधि हुन्थे ती सबै गतिविधिको केन्द्र भएको थियो । यस पुस्तकालयले खोपासी वरपर चेतना जगाउन ठुलो योगदान गरेको थियो । त्यस भेगका मानिसलाई जागरुक, चनाखो, सचेत र शिक्षित बनाउनलाई रसायन पुस्तकालयले ठुलो गुण लगाएको थियो ।
विडम्बना पञ्चायत सरकारको कारण त्यो पुस्तकालय धेरै वर्षसम्म टिक्न सकेन । वि.सं. २०१७ सालमा राजा महेन्द्रबाट प्रजातन्त्रको अपहरण भयो, त्यसपछि सरकारले राजनीतिक र सामाजिक कार्यकर्ताहरूलाई धरपकड गर्न थाल्यो । हामी तितरबितर भयौँ । कति साथीहरू पक्राउ परेर जेल प¥यौँ । पूर्णप्रसाद सत्याल त्यहीँको स्थानीय विद्यालयका शिक्षक बने । नारायण दास उलकपछि प्रधानपञ्च बने । पुस्तकालयमा महत्त्वपूर्ण पुस्तक र हस्तलिखित पुराना दस्ताबेजहरू पनि थिए । संरक्षण गर्ने मानिसको अभावमा पुस्तकालयका सामग्री हराउँदै गए र पुस्तकालय बन्द भयो । म त्यस रसायन पुस्तकालयको संस्थापक सदस्य भएको नाताले हाल त्यो पुस्तकालयको चिनो चपेटा नपाउँदा दुःख लागेर आउँछ ।
लोकगीत सङ्ग्रहालय (वि.सं.२००९/ २०१०)
नेपालमा लोकगीत प्रचार गर्ने पहिलो व्यक्ति धर्मराज थापा हुन् । उनी कताबाट मेरो साथी बन्न पुगे । उनी लोकगीत गाउने, लेख्ने, सङ्कलन गर्ने र प्रचारप्रसार गर्ने गर्थे । उनी खोपासी पुगेको समयमा मेरो अध्यक्षतामा लोकगीत सङ्ग्रहालय स्थापना भयो । लोकगीतले नेपालको प्राचीन संस्कृति झल्काउन मद्दत गर्ने भएकाले हामीले लोकगीत संरक्षण सम्प्रवर्धनका लागि एक दुई वर्ष केही काम ग¥यौँ । लोकगीतले शब्द मात्र होइन भाका, सङ्गीत, ताल, सुर, कारण, पर्व, खाना, संस्कृति आदि परिस्थितिहरूको पनि संरक्षण र उजागर गर्दो रहेछ । हामीले पनि लोकगीत सङ्कलन गरेर रेकर्ड गराउने र प्रचारप्रसार गर्ने जस्ता कामहरू ग¥यौँ ।
रणबहादुर शाहको पालामा एउटा रोग निस्केको थियो । त्यस्ता रोगीलाई उपचार गराउनुको सट्टा रोग फैलन्छ भन्ने डरले चार भञ्ज्याङ कटाउने नियम ल्याएको रहेछ त्यस समयको सरकारले । त्यो घटना लोकगीतमा पाइन्थ्यो । जसले देश परिस्थिति, इतिहास, घटना, संस्कृति, रीतिरिवाज आदिलाई उजागर गरेर जनतामा चेतना भर्ने कार्य गर्न सहयोग गथ्र्यो । त्यसकारण हामीले लोकगीतको माध्यमबाट पनि समाजलाई सचेत गराउन लोकगीत सङ्ग्रहालय स्थापना गरेका थियौँ ।
त्यसताका भैरव नृत्य दल पनि गठन गरेका थियौँ । त्यस दलले नृत्य सिकाउने गथ्र्याे । भैरवबहादुर थापाको संयोजकत्वमा नृत्य दल गठन भएको थियो । उनी स्वयम् आएर काभ्रेमा नृत्य सिकाउँथे । उनी राष्ट्रिय नाच घरका तत्कालीन अध्यक्ष पनि थिए ।
किसान सङ्घमा आबद्ध (वि.सं.२०११)
ग्रामीण क्षेत्रका सोझा सिधा किसान दाजुभाइहरूमा जागरण र चेतना ल्याउने उद्देश्यले म तत्कालीन किसान आन्दोलनलाई शुद्धीकरण गर्न वि.सं. २०११ सालमा किसान सङ्घमा आबद्ध भएँ । किसान सङ्घमा आबद्ध भएर किसानहरूका हक अधिकारका लागि कार्य गरियो ।
नेपाली काङ्ग्रेसको आह्वानमा वि.सं. २०१४ सालमा भरपाई आन्दोलन भएको थियो । वी.पी.ले एउटा विचार दिनुभएको थियो– “सेरोफेर मेरो भन्न पाइँदैन, जमिन हुन्छ जोत्नेको” जसले जति जग्गामा उब्जा लगाएर कमाउन सक्छ, उसको त्यति मात्र जग्गा हुन्छ भन्नुहुन्थ्यो । जमिन कमाउने किसानको आन्दोलन भयो । हामी काभ्रेका विभिन्न गाउँका खेतबारीमा गई तल्सिङबाट मोही किसानलाई उब्जनीको आधा उत्पादन दिलाई दिएर किसान÷मोहीबाट जग्गाधनी (तल्सिङ) ले अन्न बुझेको भरपाई बनाएर जग्गा कमाउने मोहीलाई दिलाई उनीहरूको मोहियानी हक दिलाउने कार्यमा खटेर लाग्यौँ । यसरी जोताहा किसानलाई जग्गाको मालिक बनाउने कार्यमा हाम्रा कार्यले टेवा पु¥याएको थियो ।
पछि वि.सं. २०५५ सालमा मैले किसान सङ्घको केन्द्रीय उप–सभापति भई कार्य गर्ने अवसर पाएँ । मैले पुनः वि.सं. २०५८ पुसदेखि वि.सं. २०६३ सालसम्म केन्द्रीय सभापति भई किसान सङ्घको नेतृत्व गरेँ । त्यस समयमा नेपाली किसानहरूका हकअधिकार प्राप्तिका लागि सधैँ अग्रपङ्क्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै किसानको हकहितमा कार्य गरियो । मैले वि.सं. २०६३ मङ्सिरदेखि सहकर्मी साथीहरूलाई किसान सङ्घको नेतृत्व जिम्मा लगाएँ । आफू प्रमुख सल्लाहकारको भूमिका निर्वाह गर्दै अगाडि बढेँ । मैले किसान कल्याण समाजको राष्ट्रिय अध्यक्षको जिम्मेवारी लिएर पनि कामहरू गरेको थिएँ ।क्रमश……………….