लेखक,(अन्वेषक) देवराज पौडेल
१.बाल्यकाल र शिक्षा
काभ्रेपलाञ्चोक जिल्लाको पनौती बजारबाट दक्षिण लागेपछि खोपासीबजार आउँछ । खोपासीबाट अझै एक घण्टाको बाटो दक्षिण पश्चिम लागेपछि पार्टीखर्क आउँछ । पार्टीखर्क महाभारतको उत्तरी काखमा अवस्थित सानो रमणीय गाउँ हो । पार्टीखर्क गाउँबाट उत्तर मिलेको समथर जमिन खोपासीसम्म फैलिएको छ । पार्टीखर्कका गाउँलेहरूको धानखाने खेत खोपासीमा छ ।
त्यही रमणीय गाउँ पार्टीखर्कमा तुलाराम (उपाध्याय) कोइरालाको घर थियो । उनी कर्मकाण्डी पेसा अपनाउँथे । पार्टीखर्क वरिपरिका गाउँमा उनका पाँच सय जति जजमानहरू थिए । तुलाराम उपाध्यायको थेगो ‘रामै राम’ भन्ने स्वभाव थियो । उनका आठ भाइ छोराहरूमध्ये जेठा छोराको नाम पद्मप्रसाद कोइराला थियो ।
बाबुको बिँडो थाम्दै पद्मप्रसादले पनि जजमानी पेसा अपनाएका थिए । पद्मप्रसाद आफैँ पण्डित थिए । उनका तीन पुस्ता पुर्खाहरू वैष्णव धर्मबाट प्रभावित थिए । पद्मप्रसाद कोइरालाको परिवार मध्यम वर्गीय परिवार थियो । उनको पार्टीखर्क र खोपासीमा गरिखाने खेतबारी पनि थियो । खेतीमात्र गरेर खान्छु भन्दा परिवार पाल्न पुग्ने र उब्जनी हुने जमिन उनीसँग थियो । उनका बाबुका आठ भाइ छोराहरू समय क्रमसँगै लाखापाखा लागेकाले पार्टीखर्कमा पद्मप्रसाद मात्र बसिरहेका थिए ।
पद्मप्रसाद उपाध्याय कोइरालाले उमेर पुगेपछि ललितपुर जिल्ला लुभु सिस्नेरीकी पौडेल थरकी कन्या भुवनेश्वरी देवीसँग विवाह गरी घरजम गरेर बसेका थिए । बाबु तुलाराम कोइराला जस्तै पद्मप्रसाद पनि “श्रीकृष्ण, गोविन्द हरे ! मुरारे हे, नाथ ! नारायण बासुदेव ।” भन्ने हरफ बारम्बार जपिरहन्थे । उनी कर्मकाण्डी जजमानीका साथ ज्योतिषको पनि काम गर्थे ।
पद्मप्रसाद कोइराला र भुवनेश्वरीदेवी कोइरालाका कोखबाट तीन छोरा र पद्मकुमारी नामक एक छोरीले जन्म लिएका थिए । पद्मप्रसादले भगवानको नाम जपिरहने थेगो “श्रीकृष्ण, गोविन्द हरे ! मुरारे हे, नाथ ! नारायण बासुदेव ।”लाई सार्थकता प्रदान गर्दै आफ्ना छोराहरूको नाम त्यही श्लोकका नामहरूबाट झिकेर क्रमशः नामकरण गरेका थिए । छोराहरूमा जेठो छोरा श्रीकृष्णप्रसाद कोइराला (वि.सं.१९८०), माहिलो गोविन्दप्रसाद उपाध्याय कोइराला र कान्छो बासुदेवशरण कोइराला हुन् ।
बासुदेवशरण कोइरालाको जन्म वि.सं. १९८९ साल भाद्र कृष्ण चतुर्दशीका दिन भएको थियो । बासुदेवशरण कोइराला आफ्ना जेठा दाजुभन्दा नौ वर्ष कान्छा थिए । उनको जन्म हुँदा उनकी आमाको उमेर ४६÷४७ वर्ष पुगिसकेको थियो । उनकी आमा भुवनेश्वरीलाई उनी पेटमा आउँदा धेरै लाज लागेको थियो । उमेर बढी भएर पनि के गर्भधारण गरेको भनेर गाउँलेहरूले जिस्क्याउलान् कि भन्ने डर पनि थियो उनलाई ।
बासुदेवशरण कोइरालाको जन्म पनि काभ्रेपलाञ्चोक जिल्लाको चागल गणेशस्थान गाविस पार्टीखर्क छाप हाल पनौती नगरपालिका खोपासी वडा नं. १२ मा भएको थियो । बासुदेवशरण कोइरालाको जन्म भएपछि उनका पिताजीले उनकी आमालाई छोराहरूको पालनपोषण गर्न अह्राइ सिकाइ गरेका थिए । “यी तीन छोराहरूलाई राम्रोसँग पालनपोषण गर्नू, जजमानी काम गर्न नदिनू, नोकरी गर्न नदिनू, उनीहरूलाई स्वतन्त्र रूपमा इलम गर्न दिनू, बन्धनमा नराख्नू, आफ्नो तरिकाले जिउन स्वतन्त्र छाडिदिनू ।” यस्ता अर्तीबुद्धि श्रीमतीलाई दिएर पद्मप्रसाद छोरा बासुदेवशरण कोइरालालाई टुहुरो बनाएर स्वर्गको बाटो लागे ।
बासुदेवशरण कोइराला डेढ वर्षको हुँदा उनका पिताजीले यो संसारलाई छाडेका थिए । उनलाई आमा र दाजुहरूले दुःख गरेर हुर्काए । उनकी आमाले भनेको वचन दाजुहरूले अनुशासित तवरले पालन गर्दथे । पछि उनले अरू साथीहरूका बा देख्दा आफ्नो पनि बा भएको भए कस्तो हुन्थ्यो जस्तो लागेर आफ्नी आमालाई सोध्थे । “आमा ! मेरो बा कस्तो हुुनुहुन्थ्यो ?” काटीकुटी तँै जस्तो भन्ने आमाको जवाफले उनी आफ्नो बाको याद आउँदा ऐना गएर हेर्ने गर्दथे र मेरो बा यस्तो हुनुहुन्थ्यो भनेर सोच्थे । जब जब बाको याद आउँथ्यो उनी ऐना हेर्थे ।
बासुदेवशरण कोइरालालाई उनका जेठा दाजु श्रीकृष्णप्रसाद कोइरालाले घरमै अक्षरारम्भ गराएका थिए । उनका जेठा दाजु श्री कृष्णप्रसाद उपाध्याय घर छाडेर हिँडी स्वामी प्रपन्नाचार्य श्री श्री १००८ जेयर स्वामी बन्नु भयो । जेठा दाजुले घर छाडे पनि माहिलो दाजु गोविन्दप्रसाद उपाध्यायले उनको हेरविचार गर्ने कार्य गरे ।
बासुदेवशरणले घरमा साउँ अक्षर चिनेपछि पार्टीखर्कबाट दुई कोस टाढा पनौती बजारको पाठशालामा उनका दाइले थप अध्ययनका लागि भर्ना गरिदिए । त्यस पाठशालामा उनले क ख…, वेद, चण्डी पढे । त्यो सरकारी पाठशाला थियो । त्यस पाठशालाको नाम हाल आएर इन्द्रेश्वर विद्यालय भनी नामकरण गरिएको छ । उनले त्यस पाठशालामा एक वर्ष पढ्ने अवसर पाए । यसरी उनको औपचारिक पढाइको सुरुआत पनौतीबाट भयो ।
उनी पाँच वर्षको भएपछि उनको उपनयन भयो । उनी ६ वर्ष नाघेपछि एक दिन उनका जेठा दाजु श्रीकृष्णले बासुदेवशरणलाई भारतको इलाहावाद लिएर गए । भारत जाँदा त्यस समयमा डिल्लीबजार राहदानी अड्डाबाट राहदानी बनाएर जानुपथ्र्यो । त्यो राहदानी चिसापानीगढी र चुरेको सुरुङ्गको मुखमा गरी तीन ठाउँमा देखाउनुपथ्र्यो । चुरेको सुरुङ्गमा सेतो चाँदीको पगरी, कालो टोपी, कालो कपडा लगाएका प्रहरी मान्छेको जाँच गर्न बसेका हुन्थे । नागरिकता नभए पनि राहदानी दिन्थे । श्रीकृष्णले भाइले राम्रो शिक्षादीक्षा र सङ्गत पाओस् भन्ने अपेक्षा राखी इलाहावादको प्रयाग प्रभुदत्त ब्रह्मचारी आश्रम (गुरुकुल) मा लगेर उनलाई राखिदिए । उनीहरू प्रभुदत्तको आश्रममा पुग्दा साँझ परिसकेको थियो । भोलि पल्ट एक बजेतिर दाजु श्रीकृष्णले बासुदेवशरणलाई गुरु प्रभुदत्त ब्रह्मचारीको जिम्मा लगाएर आफू अलप भए । सायद श्री कृष्णप्रसाद तीर्थ गर्ने उद्देश्यले घरबाट निस्किएका थिए । श्री कृष्णप्रसादले पनि सायद त्यही गुरुकुलमा गुरु प्रभुदत्तबाट शिक्षा लिएका थिए । उनी आफ्नो भाइलाई गुरुका आश्रममा ढुक्कसँग छाडी बिदा भएका थिए ।
त्यस प्रभुदत्त ब्रह्मचारी आश्रममा प्रायः सबै जोगीहरू बस्थे । ठाउँ नयाँ, मान्छे नयाँ, वातावरण नयाँ, भाषा नयाँ, भेषभूषा नयाँ, खानपान नयाँ, चालचलन नयाँ आदि सबै नयाँ नौलोपनले बासुदेवशरण कोइरालालाई रुन मात्र मन लागिरहन्थ्यो । उनी कुनामा बसेर आँसु खसालेर रुन्थे । गुरुहरू “किन रोयौ ?” भनेर आफ्नो भाषामा सोध्थे । उनलाई भने गाली गरे झैँ लाग्थ्यो र झन् रुन्थे । करिब एक वर्ष उनले रोएरै दिनहरू बिताए । अध्ययन गर्ने समयबाहेक एकान्त पाएपछि घर र आमा सम्झेर उनलाई रुन मन लाग्थ्यो । उनलाई त्यस समयमा आफ्नो दाइ निष्ठुरी जस्तो लाग्थ्यो । त्यो बिरानो मुलुकमा दाइले कसरी छाड्न सकेको होला जस्तो लाग्थ्यो उनको बालसुलभ मनलाई ।
एक वर्षपछि दाजु श्रीकृष्णप्रसाद कोइराला बासुदेवशरणलाई भेट्न टुप्लुक्क इलाहावाद पुगे । उनलाई दाजु भेट्दा अब कहिल्यै छाड्दिनँ भन्ने लागेको थियो । उनी दाजुको पछि लागेर नेपाल (घर) आए । उनले काभ्रे खोपासी गएर आमा र आफन्तजनलाई भेटे । उनी एक दुई महिना आमाको वात्सल्यमा लुटपुटिएर बसे । उनले गाउँ, हाट र बजार घुमे । पण्डित बाबु र पण्डित दाजुको भाइले पढ्नै पर्ने थियो । जेठा दाजुले एक दुई महिनापछि पुनः उनलाई इलाहावाद प्रभुदत्त ब्रह्मचारी आश्रममा पु¥याएर पढ्न छाडिदिए ।
बासुदेवशरण बिस्तारै इलाहावादको वातावरणमा रत्तिँदै गए । इलाहावादको प्रयाग शिवकोटीमा एउटा नेपाली बस्ती रहेछ । शिवकोटीमा नेपाली राणाहरू पनि बस्दा रहेछन् । ती राणाहरूसँग नेपालबाट गएका ब्राह्मणका पुत्रहरू पनि प्रभुदत्त ब्रह्मचारी आश्रममा अध्ययनको खातिर एक महिना अघितिरबाट बस्न थालेका रहेछन् । बासुदेवशरणले एक वर्षपछि मात्र इलाहावाद प्रयागमा नेपाली बोल्ने मान्छे फेला पारे । नेपाली बोल्ने मान्छे (साथी) पाएपछि उनलाई सर्वस्व पाएको अनुभूति भयो । भाषाले पनि अपनत्व बोध गराउँदो रहेछ । ती नेपाली बोल्ने व्यक्तिहरू उनका निकट मित्र भए । ती नेपाली बोल्नेमध्येका एक मित्र एकनाथ उपाध्याय थिए । उनी अध्ययनमा रुचि राख्ने मेधावी छात्र थिए । बासुदेवशरण पनि ती साथीसँग अध्ययनमा मन लगाउन थाले ।
एकनाथ उपाध्यायसँग रहँदाबस्दा उनले राणाहरू नेपाल छाडेर किन प्रयाग बसेका हुन् भन्ने बारेमा ज्ञान पाउँदै गए । राणाहरूकै खिलापमा रहेका सुवर्ण शमशेर राणा भन्ने मान्छे कलकत्तामा बस्छन् भन्ने कुरा पनि उनले थाहा पाए ।
बासुदेवशरणले लगातार ५÷६ वर्ष इलाहावाद प्रभुदत्त ब्रह्मचारी आश्रममा बसेर अध्ययन गरे । ५÷६ वर्ष प्रयागमा निरन्तर बसेर अध्ययन गरेपछि उनी वर्षमा एकपटक एक दुई महिनाका लागि काभ्रे पाटीखर्क खोपासी आउन थाले । प्रयागमा सात वर्ष अध्ययन गरेर घर आउँदा गाउँघरका सज्जन, भद्रभलाद्मी सबैले बासुदेवशरणलाई पण्डितजी भन्न थालेका थिए ।
बासुदेवको घरका पुरोहित एकजना सापकोटा पण्डित थिए । उनले बासुदेवलाई भने “बाबु ! तिमी पण्डित भयौ, पण्डित भएपछि प्रथम पटक आमालाई पुराण भनेर सुनाउनुपर्छ ।” बासुदेवको घरमा पुराण लगाउने तयारी भयो । ती सापकोटा पण्डित पुराणका वाचक भए । बासुदेवशरणले उपवाचक भएर पुराण भने । बासुदेव १३ वर्षको उमेरमा पुराण भनेर पण्डित कहलिए ।
घरमा पुराण भनेपछि उनी पुनः अध्ययन गर्न प्रयाग फर्किए । उनले प्रयागमा अध्ययनलाई निरन्तरता दिँदै गए । त्यस वेला उनी अलि बुझ्ने भइसकेका थिए ।
उनले अध्ययन गर्ने प्रभुदत्त गुरुकुल आश्रम भारत स्वतन्त्रता सङ्ग्राममा सहभागी हुने र क्रान्तिकारी विचार राख्ने व्यक्तिहरूको जमघट हुने थलो थियो । त्यस गुरुकुलमा छद्म भेषमा राजनीति गर्ने राजनीतिज्ञहरू बस्ने कुरा बासुदेवले बुझ्न थाले ।
उक्त गुरुकुल बाहिरबाट हेर्दा धार्मिक गतिविधि तथा शैक्षिक गतिविधि सञ्चालन गर्ने थलो जस्तो देखिए पनि भित्र राजनीतिक सङ्गठन गर्ने थलो बन्दै गएको थियो । त्यहाँ नयाँ युवा विद्यार्थीहरूलाई क्रान्तिमा सहभागी बन्न उत्प्रेरित गरिन्थ्यो । बासुदेवले त्यहाँ बस्ने गुरुहरूको कुरा बिस्तारै बुझ्दै गए । त्यस गुरुकुलमा (इलाहावाद) बस्दा भारत स्वतन्त्रता सङ्ग्राममा लागेका सेनानीहरूले सामाजिक र धार्मिक कार्य गरेको देख्दा सामाजिक कार्य गर्नुपर्ने रहेछ भन्ने ज्ञान बासुदेवलाई हुँदै गयो ।
अध्ययन र उमेरको स्तर उकासिँदै गएकाले बासुदेवमा चेतनाको स्तर बढ्दै थियो । घरबाट सप्ताह भनेर इलाहावाद फर्केपछि उनलाई गुरुकुलको कडा अनुशासन बन्धन जस्तै अनुभूति हुन थालेको थियो । उमेर बढ्दै गएकाले होला उनको मन, मस्तिष्क र चेतनाले स्वतन्त्रता खोज्न थालेको थियो ।
त्यसैताका गुरु प्रभुदत्त ब्रह्मचारी जनसङ्घ भन्ने पार्टीबाट फुलपुर चुनाव क्षेत्र प्रयाग झुसीको चुनावमा उम्मेदवार बने । बासुदेवशरण र उनका साथीहरूले आफ्ना गुरुको चुनाव प्रचार प्रसारमा जानुपर्ने भयो । उनीहरूले प्रभुदत्तको चुनाव प्रचार प्रसार गरे । ती राजनीतिक गतिविधिको नजिक रहेर काम गर्दा उनमा राजनीतिक चेतना पनि बढ्दै गयो ।
इलाहावादबाहिरको वातावरण पनि बुझ्न र गुरुकुलको कडा अनुशासनको बन्धनबाट मुक्ति पाउन बासुदेवशरणले इलाहावाद छाड्ने विचार गरे । उनी त्यहाँबाट भागेर बनारस पुगे । बनारसमा पुग्दा बस्ने खाने स्थानको टुङ्गो थिएन । २ महिना उनले खुबै दुःख पाए । बस्न खान समस्या भएपछि उनी दुर्गा मन्दिरमा चण्डी पाठ गर्न बसे । कसैले २÷४ आना दिएको पैसाले उनी गुजारा चलाउँथे । एक महिना उनी त्यसरी नै बसे । एक व्यक्तिलाई उनको अवस्था देखेर दया लागेछ । उसले बासुदेवशरणलाई सत्यनारायण मन्दिरमा पुजारीको काममा राखिदिएछ ।
बासुदेवले बनारसमा गोपालप्रसाद भट्टराईसँग भेट्ने अवसर पाए । गोपालप्रसाद कृष्णप्रसाद भट्टराई (पूर्व प्रधानमन्त्री) का दाजु थिए । गोपालप्रसादको बनारसमा व्यापार थियो । कृष्णप्रसाद भट्टराईसँग पनि बासुदेवको चिनजान भयो । कृष्णप्रसाद भट्टराई पहिले गोरखा जिल्लाका थिए । कृष्णप्रसाद बिहारको चम्पारणका राजा शाहको मान्छेका साथ लागेर उनीहरूको साथ सहयोगबाट पढ्ने र व्यापार गर्ने काम गर्दै बनारसमा बस्दै आएका थिए । बनारसमै बस्दा बासुदेवको वी.पी. कोइरालासँग पहिलो भेट भएको थियो । यसरी कृष्णप्रसाद भट्टराई, वी.पी. कोइराला जस्ता राजनीतिक व्यक्तित्वहरूको सानिध्यबाट बासुदेवमा राजनीतिक चेतना ह्वात्तै बढेर गयो ।
बासुदेवशरण कोइराला एक पटक काठमाडौँ आउँदा उनको पुरोहित गुरु सापकोटा पण्डितका छोरा रामप्रसाद सापकोटासँग भेट भयो । रामप्रसाद सापकोटा रानीपोखरी संस्कृत पाठशालामा पढ्थे । रामप्रसादको माध्यमबाट सिन्धुलीका षडानन्द सापकोटासँग परिचयभ यो । उनी वि.सं. २००४ सालको जयन्तु संस्कृतम् आन्दोलनमा सरिक भएका कारणले चार भन्ज्याङ्ग निकालामा परेका थिए । जयन्तु संस्कृतम् आन्दोलनको नेतृत्वमा रहेका षडानन्द सापकोटाले बासुदेवलाई नेपाली राजनीति र जयन्तु संस्कृतम् आन्दोलनको बारेमा विस्तृत रूपमा जानकारी गराए । षडानन्दलाई बासुदेवशरणको राजनीतिक गुरु भन्दा पनि हुन्छ । षडानन्दबाट बासुदेवले तत्कालीन शासकहरूको थिचोमिचो, अन्याय, अत्याचार र निरङ्कुशताको बारेमा अवगत हुने अवसर पाए । यस्ता घटनाहरूले बासुदेवको ध्यान राजनीतितर्फ खिचिन थाल्यो ।
अर्कोतर्फ सामाजिक क्षेत्रमा काम गरिरहेका परोपकार संस्थाका संस्थापक दयावीरसिंह कङ्साकारबाट सेवा भावनाले गरेका कार्यहरूले बासुदेवशरण कोइरालाको ध्यान खिच्यो । दयावीरसिंह कंसाकारले हैजाको महामारीले मरेका मान्छे, हैजा लागेका मान्छेको घर घर गएर उपचार गराएका थिए । उनलाई आफ्नै घरमा पनि हैजा सर्छ भनेर प्रवेश गर्न दिइएको थिएन । उनले दुःखी पीडितहरूको सेवा गरेको सुनेर बासुदेवशरणलाई मैले पनि सामाजिक काममा समर्पित हुनुपर्छ भन्ने भावना जागृत भएर आयो । त्यसपछि दयावीरसिंहसँग सम्बन्ध बढाउने इच्छा बढ्दै गयो । नरबहादुर भारती जो खोपासीमै बस्थे । उनको प्रेरणाले दयावीरसिंहसँग बासुुदेवले सम्बन्ध बढाए । दयावीरसँगको संसर्गबाट उनमा झन् सामाजिक कार्यहरू गर्ने उत्साह पैदा भयो ।
बासुदेवशरणका बुढा मावली सत्यालहरू राणाका दरबारमा काम गर्दथे । उनले राणाका दरबारभित्रका गतिविधि, कुकृत्य पनि बुढा मावली खलकबाट अवगत हुने अवसर पाए । राणाको दरबारभित्र ब्रह्मसभा हुन्थ्यो । त्यस ब्रह्मसभाका सदस्यमा नेपालकै राजेश्वर भारती, आर्य समाजका माधवराज जोशी, (शुक्रराज शास्त्रीका पीताजी)हरू थिए । राणाहरूसँग विचार नमिलेपछि राजेश्वर भारतीका छोरा नरबहादुर भारतीलाई चार भञ्ज्याङ कटाइएको थियो । उपत्यकाबाट निकालिएपछि नरबहादुर भारती काभ्रे खोपासीमा गई नरसिंह मठ (पुरानो मठ) का महन्त भएर बसेका थिए । उनै नरबहादुर भारतीबाट पनि राणाहरूको कुकृत्यहरू अवगत हुन पाउँदा बासुदेवशरणमा राणाहरूको कार्यशैली जनताको हितमा रहेनछ भन्ने चेतना अभिवृद्धि हुँदै गयो ।
बासुदेवशरण सानै भए पनि बुढापाका अग्रज, बुज्रुकहरूसँग सङ्गत गर्न मन पराउँथे । उनी नरबहादुर भारतीसँग सत्सँग गर्न बारम्बार उनको मठमा गइरहन्थे । चार भञ्ज्याङ कटाइएका नरबहादुर भारतीबाट कोइरालाले राणाहरूको चरित्र, उनीहरूको शासन शैली, उनीहरूको सोच विचार, निरङ्कुशताको बारेमा विस्तृत रूपमा अवगत हुने मौका पाए ।
नरबहादुर भारतीले वि.सं.२०१६ सालमा विज्ञान विधामा त्रिभुवन पुरस्कार पाएका थिए । उनी अङ्ग्रेजी, हिन्दी, संस्कृत, नेपाली विषयका प्रकाण्ड विद्वान थिए । उनी समकालीन वैज्ञानिक एडिसनसँग पत्राचार गर्थे । उनले गीत, कविता र नाटक लेखेका थिए । त्यस्तै उनले संस्कृत साहित्यको महान् ग्रन्थ ‘कादम्बरी’को नेपाली पद्यमा रचना गरेका थिए । उनमा चित्रकलामा विभिन्न रङ्गको संयोजन गर्ने विशेषता पनि थियो । उनले विभिन्न वाद्ययन्त्रहरूको आविष्कार पनि गरेका थिए । नरबहादुर भारतीमा सुनको गिन्नी बनाउने तरिका, आयुर्वेदमा वर्णन गरिएका अनेकौँ रसायन, भस्म, क्वाथ र धातुहरूको भस्म बनाउने तरिका, काष्ठकला, वास्तुकलाको पनि अपार ज्ञान थियो । बासुदेव वि.सं. २०१७÷०१८ सालतिर त्यस्ता विद्वान व्यक्ति नरबहादुर भारतीको सङ्गतमा थिए । कोइरालाले नरबहादुर भारतीबाट पनि सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने प्रेरणा पाएका थिए ।
नरबहादुर भारतीकै प्रेरणाले बासुदेवशरण कोइरालाको सम्बन्ध परोपकार संस्थाका संस्थापक दयावीरसिंह कंसाकारसँग भयो । दयावीरसिंहको प्रेरणाबाट वि.सं. २००५÷२००६ सालदेखि नै खोपासी (गाउँ) मा परोपकार औषधालय खोलेर सेवा पु¥याउने कार्यको थालनीमा बासुदेव र उनका साथीहरू लागिसकेका थिए । खोपासीमै उनीहरूले मृत्यु संस्कार संस्था पनि खोलेका थिए । जुन संस्थाले अलपत्र अवस्थामा मृत्युवरण गरेका व्यक्तिहरूको मृत्यु संस्कार गरिदिन्थ्यो ।
महाभारतका डाँडामा घाँस दाउरा गर्न गएका गाउँलेहरू लडेर हातखुट्टा भाचिँदा ती घाइतेहरूलाई बोराको स्टेचर बनाएर त्यस स्टेचरमा बिरामी बोकेर उपचार गर्न काठमाडौँसम्म पु¥याउने काम पनि बासुदेव र उनका सहकर्मी साथीहरूले (सेवाभावले) गर्ने गरेका थिए । त्यसरी दुर्घटनामा परेर घाइते भएकाहरूको उपचार तथा सेवा उनीहरू निःशुल्क गर्दथे । खर्चको जोहो गर्न गाउँघरमा मुठीदान उठाउने व्यवस्था मिलाएका थिए ।
मुठीदानका लागि उनीहरुले भक्तपुरका कुमालेहरूलाई माटाको भाँडो बनाउन लगाएका थिए । उनीहरुले ती भाँडा घर घरमा लगेर भान्सामा झुण्ड्याउन लगाएका थिए । खाना पकाउने समयमा खाना पकाउन ठिक गरेको चामलसामलबाट भित्री मुठीको एक मुठी झिकेर त्यस माटाको घैँटोमा राख्न उनीहरु गाउँलेहरुलाई अनुरोध गर्थे । समय समयमा उनीहरु चामल सङ्कलन गरेर गाउँका सामाजिक संस्थाहरु सञ्चालन गर्थे । यस्ता काममा प्रेरणा दिने र जागरण ल्याउने कामको नेतृत्व बासुदेवशरण र नरबहादुर भारतीले गर्ने गर्दथे ।
अवस्था तथा परिस्थितिअनुसार बासुदेवशरण कोइरालाको बसाइ नेपाल र भारत (बनारस) हुन थाल्यो । घरमा आउजाउ गर्दा, कहिले कोही बिरामी पर्दा उनका केही परीक्षाहरू पनि छुटेका थिए ।
नेपाल र भारत गर्ने क्रममा उनले नरबहादुर भारती, माधवराज जोशी, दयावीरसिंह कंसाकारको काम देख्न र सुन्न पाए । इलाहावादमा बस्दा पनि भारतीय स्वतन्त्रता सङ्ग्रामका सेनानीहरूले गरेको धार्मिक र सामाजिक कामबाट प्रभावित भएर बासुदेवशरण कोइरालाको सामाजिक काममा लगाव बढ्न थाल्यो ।
उनको बनारस काठमाडौँ आउजाउको क्रम क्रमशः बढ्दै गएको थियो । काठमाडौँ आउँदा संयोगवश काभ्रेका साथीहरूसँग पनि उनको भेटघाट हुन्थ्यो । कति साथीहरू बासुदेवभन्दा कान्छा थिए भने कति जेठा थिए । बासुदेवसँग सहकार्य गरेर सामाजिक, राजनीतिक, परोपकारी काम गर्नेहरूमा नारायण दास उलक, पूर्णप्रसाद सत्याल, ईश्वर महत, दुर्गासिंह महत, ईन्द्रबहादुर खड्का, सप्तलाल ताम्राकार, रामदास श्रेष्ठ, आशाकाजी वैद्य, टङ्कनाथ शास्त्री, कृष्णप्रसाद पराजुली, दुर्गाप्रसाद शास्त्री आदि थिए । यी सबै बासुदेवका सहकर्मी साथी हुन् । जो तत्कालीन पूर्व एक नम्बर काभ्रेपलाञ्चोक इलाकामा बसोवास गर्दथे । यी सबैले सामाजिक र राजनीतिक कार्यमा आफ्नो जीवन बिताएको पाइन्छ ।
इलाहावादमा रहँदा कोइरालाको प्रभुदत्त ब्रह्मचारी गुरु र करपात्रजी महाराजसँग सङ्गत भयो । करपात्रजी महाराज भाँडामा खाँदैनथे । उनी हातमा थापेर मात्र खाना खान्थे । उनीहरूको सादा जीवन उच्च विचारबाट पनि बासुदेवशरण प्रभावित भएका थिए ।
इलाहावादमा प्रथमाको पढाइ सकेर बासुदेव बनारस आएका थिए । बनारसको विश्वनाथ गल्लीमा सन्यासी संस्कृत कलेज थियो । एक जना सन्यासीको पे्ररणा र सहयोगले उनले बनारसको सन्यासी संस्कृत कलेजमा नामङ्कन गरे । त्यही कलेजमा अध्ययन गरी उनले मध्यमा उत्तीर्ण गरे ।
बनारसमा बस्दै गर्दा उनी मथुरा र वृन्दावन पनि गए । मथुरामा गोस्वामी विन्दुजी महाराज कवि थिए । उनीसँग पनि बासुदेवको सत्सङ्ग भयो । स्वामी चक्रपाणि आचार्य, माताजी आनन्द महि मा आदिसँग पनि उनलाई सत्सङ्ग गर्ने अवसर जु¥यो ।
ती साधुसन्तहरू भारतको स्वतन्त्रता सङ्ग्रामसँग कतै न कतैबाट जोडिएका थिए । उनीहरू युवा, व्रmान्तिकारीहरूलाई राजनीतिक र सामाजिक कार्यमा लाग्न प्रेरित गर्दथे । बासुदेव ती साधुसन्तबाट पनि राजनीति र सामाजिक कार्यमा लाग्न प्रेरित भएका थिए ।
उनले मथुरा वृन्दावनमा अनौपचारिक शिक्षा ग्रहण गर्ने अवसर पाएका थिए । भारतमै रहेको समयमा शास्त्री प्रथम खण्डको परीक्षा पनि उनले दिएका थिए । भारतमा बस्दा उनले धेरै तीर्थस्थलहरूको तीर्थाटन पनि गरे । चारधाम, बद्रीनाथ, द्वारिकादेखि गोदारी, कामरु कामच्छेसम्म, दक्षिण कन्याकुमारीदेखि उत्तरमा मानसरोवर (पछि)ं सम्म तीर्थ गरेर आध्यात्मिक ज्ञान पनि आर्जन गरे ।
यसरी विभिन्न व्यक्तिहरूबाट सामाजिक, धार्मिक, राजनीतिक, परोपकारी कार्य गर्ने प्रेरणा प्राप्त गरेका बासुदेवले आफ्नो गाउँ खोपासीबाट सामाजिक, परोपकारी कार्यहरूको सुरुआत गरे । उनी र उनका साथीहरूले खोपासीमा बाटोघाटो सरसफाइ गर्ने, सानाखोलामा फड्के हाल्ने, प्रौढहरूलाई प्रौढ शिक्षालय खोलेर शिक्षा दिने, बेवारिसे लासको अन्तिम संस्कार गरिदिने, अङ्गभङ्ग हुने गरी भिर, रुखबाट लडेकाहरूलाई स्टेचरमा राखेर उपचारार्थ काठमाडौँसम्म पु¥याउने, पुस्तकालय, वाचनालयहरू सञ्चालन गर्ने, स्कुल खोल्ने जस्ता काम गरे । उनीहरू सामाजिक चेतना र जागरणका लागि नाटकहरू पनि मञ्चन गर्थे ।
बासुदेव र साथीहरूले भक्तपुरबाट कलाकार झिकाएर वि.सं. २००७ सालमा एउटा नाटक मञ्चन गरेका थिए । नाटकमा शास्त्रीय पद्धतिअनुसार मङ्गलाचरण गाउनुपथ्र्यो । मङ्गलाचरण सरस्वतीको गरिन्थ्यो । सरस्वतीको स्तुतिपछि नाटक सुरु हुन्थ्यो । मङ्गलाचरण र सरस्वतीका स्तुतिपछि प्रधानमन्त्री मोहन शमशेरको पनि स्तुति हुन्थ्यो – श्री ३ महाराज…… प्रभु………….. भन्दै । त्यस्ता नाटकहरूमा बासुदेवशरणले पनि भाग लिने गरेका थिए । स्तुतिगानको विषयलाई लिएर विचार नमिलेपछि आपसमा झै–झगडा र विवाद भयो । त्यस समयदेखि राणाहरूको स्तुति गाउने प्रथा उनले हटाएर छाडे । त्यो नाटक सामन्तहरूको कु–कृत्यलाई पर्दाफास गर्ने प्रकृतिको थियो । पहिले पनि उनको गाउँ पाटीखर्क र खोपासीमा नाटक मञ्चन हुन्थ्यो रे । नाटक देखाउनेहरूलाई पुलिसले समाएर लान्छ भन्ने कुरा बासुदेवशरणले सुनेका थिए ।
नरबहादुर भारती नाटक लेख्थे । समाजमा जागरण ल्याउने र समाजमा परिर्वतन ल्याउन टेवा पु¥याउने खालका संवाद राखेर नाटक लेखिन्थ्यो । नरबहादुर भारती नाटक लेख्ने मात्र होइन अभिनय गर्न पनि सिकाउँथे । उनी बासुदेवलाई समाजमा जागरण ल्याउने खालका नाटक लेख्न प्रेरित गर्दथे । नरबहादुर बसेको नरसिंह मठ आज खोपासीमा छँदै छ ।
यसरी इलाहावाद, बनारस र खोपासीका बसाइहरूमा त्यहाँका सामाजिक, राजनीतिक, धार्मिक र परोपकारी व्यक्तिहरूबाट अभिप्रेरित भएर बासुदेवशरण कोइराला सामाजिक, धार्मिक, राजनीतिक गतिविधिहरूमा आबद्ध हुँदै जीवनको उत्तराद्र्धसम्ममा सामाजिक, धार्मिक, परोपकारी कार्यमा सरिक भएको पाइन्छ । क्रमश……………….
लेखक,साहित्यकार तथा (अन्वेषक) देवराज पौडेल शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । उहाँले धर्म संस्कृति र ऐलिहासिक पक्षका बिषयमा कलम चलाउदै आउनुभएको छ ।