कृष्ण थपलिया/सर्लाही
भदौ—१, लालबन्दी नगरपालिका वडा नं. ८ स्थिायी घर भइ लालबन्दी—९ बस्तिपुर सुकुम्बासी टोल बस्ने
पदम बहादुर गोले र उनकी श्रीमती जुली श्रेष्ठले पाँच जिल्लाका ५ दर्जन बढी युवालाई ठगी गरि फरार भएका छन् ।
गोले दम्पतीले सर्लाही,महोत्तरी,रौतहट धनुषा र सुनरीका झण्डै ६५ जना युवालाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनि ठगी गरेर फरार भएका लालबन्दी —५ रन्जितपुरका पीडित युवा मिलन कुमार चौधरीले बताए ।
कुवेतमा राम्रो डिमाण्ड आएको छ । डेकुरेसनको कामका हो । मासिक ५७ हजार कमाई हुन्छ साथिहरु जम्मा गर भने पछि आफुहरुले वैदेशिक रोजगारीमा जान चाहने आफ्ना आफन्तहरुलाई जम्मा पारेर गोलेलाई ९ लाख १० हजार रकम दिएको ठगीमा परेका युवा समिर कुश्वारले चियोचर्चो खबरसँग बताए ।
गोलेले वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिन्छु भनि आफुहरुलाई समुहमा वैदेशिक रोजगारीमा जाने मान्छे खोज्न लगाएको समिरले बताए । १२/१३ जना आफन्तको समुह बनाएर पैसा उठाई गोलेले लालबन्दी —७ मा सञ्चालन गरेको सिरा सेक्युरिटीमा लगि रकम जम्मा गरेको उनले बताए ।
रकम लिएको डेढ वर्ष बित्दा समेत वैदेशिक रोजगारीमा पठाउने छाटकाट नदेखाए पछि रकम उठाइदिन भनि आफुहरुले २०८० माघ महिनामा ईलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएको ठगीमा परेका युवा मिलन कुमार चौधरीले बताए । प्रहरीमा उजुरी दिएको महिना दिन बित्दा पनि गोलेलाई प्रहरीले पक्रन नसके पछि आफुहरुले दैनिकजसो घरमै धाएर पक्राउ गरेर प्रहरीमा बुझाएको चौधरीले बताए ।
प्रहरी नियन्त्रणमा रहेका गोलेले ३ महिना भित्र सवैको पैसा तिर्छु भनि २०८० साल फागुन ६ गते मिलन चौधरीलाई ५ लाख र समिर कुश्वारलाई ९ लाख १० हजारको कपाली तमसुक गरिदिएको भएपनि पैसा तिर्ने ३ महिने भाखा पुग्नै लाग्दा समिरलाई ८ लाख र मिलनलाई ५ लाखको खाली चेक दिएर गोले श्रीमतीसहित फरार भएका चियोचर्चो खबरको कार्यालमा आएका पीडितहरुले बताए ।
बरहथवा नगरपालिका वडा नं.—२ हजरियाका अरुण कुश्वार(माझी)ले एक महिनामै भिसा लाग्छ भने पछि आफुहरुले विश्वास गरेर कसैले चलाईरहेको अटो रिक्सा कसैले घरको दुहुनो भैसिनै बेचेर कसैले सयकडा ३ रुपैमा ऋण काडेर गोलेलाई रकम बुझाएको बताए ।
गोले फरार भए पछि उसलाई पक्राउ गरि रकम असुली गरिदन पटक पटक ईलाका प्रहरी कार्यालय लालबन्दीमा अनुरोध गर्दा पनि चासो नदिए पछि मिडियामा आउन बाध्य भएको पीडित युवाहरुले बताए ।
गोलेले लालबन्दी —५ का मिलन कुमार चौधरीलाई अगुवा बनाएर —५ लाख र समिर कुश्वार(माझी) लाई अगुवा बनाएर —९ लाख १० हजार र रौतहटका युवाबाट २० लाख ६० हजार रकम असुली गरेको उनले गरिदिएको कपाली तमसुकहरुबाट देखिन्छ ।
आफुहरु जस्तै सर्लाही,महोत्तरी,रौतहट धनुषा र सुनसरीका झण्डै ६५ जना युवाबाट करिव ७५ लाख बढि ठगी गरेको पीडित युवाहरुको दावि छ ।
आर्थि वर्ष २०८०–८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने युवाको संख्या सात लाख ४१ हजार ३९७ जना पुगेको तथ्यांकले देखाउछ ।
मधेस प्रदेशका जिल्लाहरुमा धनुषा र महोत्तरी पछि सर्लाहीमा पनि वैदेशिक रोजगारीमा जानेको संख्या उच्च छ । कम शिक्षित नागरिक, उद्योग कलकारखाना कमि, बजारमा आर्थिक मन्दिको प्रभावका कारण यहाँ नागरिकमा पनि वैदेशिक रोजगार प्रतिको आकर्षण बढ्दो छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढि रहदा ठगीका घट्नासमेत बढेका छन् । नजिकका ठानेका आफन्तबाटै धरै जसो युवा ठगीमा पर्ने गरेको देखिन्छ । ठगीमा घट्ना नियन्त्रणका लागि वैदेशिक रोजगारमा जाने ब्यक्ति, सरोकारवाला निकाय र संघसंस्था जिम्मेवार भएर लाग्नुपर्ने देखिन्छ ।