सर्लाहीको बरहथवा नगरपालिका–१५, प्रिपाभित्तामा शनिवार ५० जनाले रक्तदान गरेका छन् । स्थानीय युवाहरुको सक्रियतामा जलदेवी आमा समूह र जलदेवी सेवा समाजले आयोजना गरेको शिविरमा ५० जनाले रक्तदान गरेका हुन् । शिविरको सर्लाही क्षेत्र नं.४ का प्रदेश सभा सदस्य बिरेन्द्र प्रसाद सिंहले दिप प्रज्वलन गरेर उद्घाटन गरेका आयोजकले जनाएको छ । आफूहरुले जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने प्रिपाभित्तामा पहिलो पटक पुगेर रक्तदान शिविर आयोजना गर्न सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति धु्रवप्रसाद घिमिरले जानकारी दिए । सङ्कलित रगत रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मलंगवा पठाइएको घिमिरले बताए ।
जिल्लाको मुख्य बजार क्षेत्रमा पटक–पटक रक्तदान शिविर हुने गरेको भए पनि शनिवार (आज) पहिलो पटक पिप्राभित्ता जस्तो ग्रामीण भेगमा रक्तदान शिविर आयोजना भएको हो । यसैबीच, सामाजिक कार्य अन्तर्गत गाउँ सुधार संस्थाले शनिवार बिहान बिहान दुर्गा मन्दिर परिसरमा सरसफाई गरेको छ । प्रदेश सभा सदस्य बेची लुंगेली, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशी लगायतको उपस्थितिमा लालबन्दी ७ स्थित बजारमा रहेको दुर्गा मन्दिर परिसरसँगै आसपासको क्षेत्रको सरसफाई गरिएको संस्थाकी अध्यक्ष लक्ष्मी गोले प्रधानले जानकारी दिईन् ।