
काठमाडौँ,साउन —९,नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ ।

तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको क्यानको विज्ञप्तिमा उल्लेख छ ।

क्यान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्तिमार्फत काठमाडौंबाट उड्नेबित्तिकै ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे-७ जहाज दुर्घटनामा परेको जनाएको हाे ।

आज मिति २०८१।०४।०९ गते तद्नुसार २४ जुलाई २०२४ बुधबारका दिन सौर्य एयरलाईन्सको सीआरजे- ७ ९९एन-एएमई जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११-११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो, विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणका अनुसार तत्कालै उद्धार कार्य सुरु गरी १ जना घाइतेलाई अस्पताल पुर्याइएकाे छ । जहाजका चालक मनिषरत्न शाक्यको उद्धार गरी केएमसी शिक्षण अस्पताल लगिएको छ ।
विमानमा सवार-१९ जना बिमान मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेको प्रहरीले जनाएको छ । (तस्बिर : नेपाल प्रहरी पेज)