सर्लाही, साउन –९, राप्रपा केन्द्रीय सदस्य एवम् पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको आज (मंगलवार) साँझ दाहसंस्कार गरिएको छ ।
त्यस अघि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीको एक टुकडीले पूर्व राज्य मन्त्री रायको सम्मानमा सलामी अर्पण गरेको थियाे ।
स्व. रायको मलंगवा नगरपालिका-४ स्थित मा रहेको निवासबाट शव यात्रा निकालिएको थियो । स्थानीय साकेत बिहार राम मन्दिर परिसरमा लगेर दाहसंस्कार गरिएको हो ।
राप्रपा केन्द्रीय सदस्य एवम् पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको पार्थिव शरिरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, मधेश प्रदेश अध्यक्ष भरत गिरीले पार्टीको झण्डा ओडाएका थिए ।
समाजवादी पार्टी नेपालका नेता एवम् पूर्व मन्त्री महिन्द्र राय मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, नेपाली कांग्रेस लगायत दलका नेता कार्यकर्ताहरु, शव यात्रा तथा दाहसंस्कारमा सहभागी भएका थिए ।
दाहसंस्कारमा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख स्थानीय नागरिकको सहभागिता रहेको थियो ।
पूर्व राज्य मन्त्री रामचन्द्र रायको धानखेती लगाउन चद्रनगर गाउँपालिका-१ स्थित रतनपुर घरमा गएको बेला आइतवार राती हत्या भएको थियो ।
भान्सेको काम गर्ने तथा नातामा आफन्त रामउजैन यादवले राती १२ बजे स्थानीय तथा प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
कुराकानी गर्न भन्दै राती ९ बजेतिर नचिनेका ३ जना आएपछि रायले आफूलाई माथि गएर सुत्न भनेको र राती १ बजेतिर उठेर हेर्दा राय मृत्त देखेको रामउजैनले बताएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले बताए ।
उनका अनुसार यादवको टाउकाको बायाँपट्टी भागमा धारिलो हतियार प्रहार गरीएको छ । उखु काट्न प्रयोग हुने दबिया (कट्टा ) टाउकामा प्रहार भएको प्रहरीले जनाएको छ ।
खबर प्राप्त हुनासाथ एसपी सिंहको टोली घटनास्थल पुगेको थियो भने बिहान सबा ४ बजे धनुषाबाट कुकुर सहितको टोली समेत आएको थियो । त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञ बिनोद पोखरेलसमेत घटनास्थल पुगेका थिए ।
पूर्वमन्त्री राय २०५६ सालको संसदीय निर्वाचनमा साबिक क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई पराजित गर्दै, निर्वाचित भएका राय २०६१ सालमा भूमिसुधार राज्यमन्त्री भएका थिए । स्व. रायका श्रीमति सहित २ छाेरा र ५ छाेरी छन् । अष्ट्रेलिया बसेका जेठा छाेरा शैलेन्द्र राय मंगलवा दिउँसाे मात्र नेपाल आएकाले दाहसंस्कारमा १ दिन ढिला भएकाे थियो ।
घटनकाे सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाईएको सर्लाही प्रहरीले जनाएको छ। रामउजैन प्रहरी नियन्त्रणमा छन् । मृतक राय मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका सहोदर दाई हुन ।