सर्लाही/असार -१५ , नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन र सदस्यता विवादलाई लिएर नेपाल प्रेस युनियनले विरोध जनाएको छ ।
सदस्यता विवादलाई सम्बोधन नगरी निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर महासंघ एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै नेपाल प्रेस युनियनले देशभरका शाखा कार्यालयमा तालाबन्दी गरी विरोध गर्ने कार्यक्रम अनुरुप आज सर्लाही शाखामा पनि तालाबन्दी गरिएको नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्णप्रसाद थपलियाले जानकारी दिए ।


निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीप्रति असन्तुष्टी जनाउँदै प्रेस मञ्च नेपालले पनि देशव्यापी विरोध गरेको छ । केन्द्रीय कार्यालयमा आज तालाबन्दी नगरेको उसको जिल्ला शाखा सर्लाहीले महासंघ शाखा कार्यालय सर्लाहीमा पनि तालाबन्दी गरेको छ ।
नेपाल प्रेस युनियन सर्लाही र प्रेस मञ्चले संयुक्त रुपमा आज दिउसो मलंगवास्थित महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् ।


यथास्थितिमा निर्वाचन हुन नदिने भन्दै युनियनकर्मी र मञ्चकर्मीले आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि चेतावनी दिए । तालाबन्दी कार्यक्रममा प्रेस युनियन मधेश प्रदेशका उपाध्यक्ष सोम दियाली, कार्यसमिति सदस्य राकेश गुप्ता,अनिता साह प्रेस मञ्चकी महासचिव बन्दना झा, जिल्ला अध्यक्ष कृष्णा सिंह पत्रकार बख्तियार अलि लगायतको उपस्थिति रहेको थियो ।