सर्लाही,असार -१०, जिल्लाकाे हरिपुर नगरपालिकाले १३औं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वाजनिक गरेको छ ।
नगरप्रमुख गोपाल पंजियारको अध्यक्षता तथा संविधानसभा सदस्य काँग्रेस नेता रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा एक भव्य कार्यक्रमको आयोजना गरि नगरपालिकाले कुल ६६ करोड ६३ लाख ५६ हजार बराबरको नीति, कार्यक्रम तथा प्रस्तुत गरेको हो ।
नगरपालिकाकै सभाहलमा भएको नगरसभामा संघीय सरकारबाट प्राप्त हुने ५६ करोड ६६ लाख ६३ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ३ करोड ५९ लाख २८ हजार र अघिल्लो वर्षबाट ल्याइएको ५ करोडसहित कुल ६६ करोड ६३ लाख ५६ हजार बराबरको नीति तथा कार्यक्रम सार्वजिनक गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख पंजियारले नगरसभामा प्रस्तुत गरेको नीति, तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी बाटोघाटो र पुलपुलेसा निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
कार्यक्रम प्रमुख अतिथि तथा विशिष्ठ अतिथि संविधानसभा सदस्यद्वय काँग्रेस नेता रामचन्द्र चौधरी र एमाले नेतृ रन्जना सरकारले पालिकाले ल्याएको नीति तथा कार्यक्र राम्रो रहेको भन्दै कार्यान्वयनमा जोड दिएका थिए । उनीहरुले नगरसभाको पूर्ण सफलताको लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आफ्नो वडामा बजेट अपुग भएको भन्दै थप गरिदिन आग्रहसमेत गरेका थिए ।
हरिपुर नगरपालिकाले अघिल्लो आर्थिक वर्ष कुल ६३ करोड ५९ लाख ८४ हजार ५३३ रुपैयाँ बराबरको निती तथा कार्यक्रम ल्याएको थियो । यस वर्ष गतवर्षभन्दा तीन करोड तीन लाख ७१ हजारले बढाएर बजेट सार्वजनिक गरिएको छ ।
असार १० गते भित्रै सम्पूर्ण पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कार्यतालिका अनुसार सर्लाहीका ११ वटा पालिकाले आजै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
आज हरिपुर, चन्द्रनगर ,मलंगवा,बरहथवा, हरिवन, रामनगर, गाेडैता, ब्रह्मपुरी, पर्सा, कविलासी, ईश्वरपुर नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
बसबरिया, बलरा, चक्रघट्टा, काैडेना, धनकाैलले केही दिनअघि नै नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । लालबन्दी नगरपालिकाले भने आज वार्षिक बजेट नै सार्वजनिक गरिसकेकाे हाे ।
बागमती नगरपालिकामा भने मेयर र उपमेयर भ्रटाचार मुद्धामा निलम्बन परेका कारण बजेट सार्वजनिक गर्न सकेको छैन । उता विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव बिरामी भएरका कारण कार्यक्रम नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छैन ।