सर्लाही ,जेठ – २५,संघीय सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आफ्नै कार्यकालका फास्ट्रयाककाे बाटोमा  गाडी गुडाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले अब काठमाडौंमै घर नभए पनि मधेस प्रदेशको सर्लाहीमा  भात खाएर काठमाडौंमा रहेको मन्त्रालय र कार्यालय भ्याउने दिन टाढा नरहेको बताए ।
लालबन्दीमा शुक्रवार बिहानबाट सुरु भएको दुई दिने राष्ट्रिय स्तरको क्युकोशिनकान कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री उप्रेतीले यस्तो बताएका हुन ।
रक्षामन्त्री उप्रेतीले खेलाडीहरूलाई  हिलाेमा उम्रेकाे कमलकाे फुलकाे संज्ञा दिदै  अभावैअभावमा पनि खेल क्षेत्रले राष्ट्रकाे पहिचान स्थापित गराउन सफल भएको बताए ।
मन्त्री उप्रेतीले खेल क्षेत्र जस्तै अन्य क्षेत्रले पनि तदारुकताकासाथ काम गरे  देशको विकास हुन समय नलाग्ने तर्क गरे ।
मन्त्री उप्रेतीले सुनकोशी मरिण डाइभर्सन र निर्माणाधीन पूर्वपश्चिम रेल्वेले तराई मधेसको भविष्य उज्वल बनाउने बताए ।


कार्यक्रममा लालबन्दी नगरपालिका का प्रमुख मेयर वासुदेव अधिकारीले  खेलकुद बिकास समिति गठन गरेर आफूले खेलकुद क्षेत्रलाई संस्थागत ढंगले अघि बढाउने प्रयास गरेकाे बताए ।

उनले देशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूकाे लालबन्दी बसाइँ सुखद रहाेस भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रम नेपाल क्योकुशिन–कान कराँते संघ सर्लाहीका अध्यक्ष गाेपाल श्रेष्ठकाे अध्यक्षतामा भएको हाे ।


नेपाल क्योकुशिन–कान कराँते संघले लालबन्दी ७ स्थित कृषि विकास बैंकको मैदानमा  प्रतियोगिता आयोजना गरेको हाे। प्रतियोगितामा विभिन्न जिल्ला  प्रदेश तथा विभागिय क्लबका गरि  २५० जना खेलाडी प्रतिस्पर्धामा  सहभागी भएका छन्।प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र र बिजयी खेलाडीलाई प्रमाण पत्र, ट्रफी, मेडल र नगदसहित पुरस्कृत गरिने नेपाल क्योकुशिन–कान कराँते संघ सर्लाहीका संस्थापक एवम् प्रमुख प्रशिक्षक भिमप्रसाद काफ्ले (सुवास) ले जानकारी दिए  ।