लालबन्दी ,वैशाख -२०, जिल्लाको लालबन्दीमा नागरीक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइने भएको छ । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै पालिकामा सेवा केन्द्र विस्तार गर्ने योजना अनुरुप यहाँ पनि सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।
यहाँ सञ्चालनमा आउन लागेको सेवा केन्द्र लालबन्दी नगरपालिकाको ५ नम्बर वडा कार्यालय रहेको स्थानमा सञ्चालन हुने गरी तयारी गरिएको वडाअध्यक्ष मिन प्रसाद ढुंगेलले जानकारी दिए ।
वडाअध्यक्ष ढुंगेलका अनुसार सेवा केन्द्र सञ्चालनका लागि आवश्यक संरचना तयार भई स्वास्थ्यकर्मी समेत हाजिर भई सकेकोले आगामी साताभित्र सेवा केन्द्र विधिवत सञ्चालनमा ल्याउने तयारी भईरहेको छ । ‘कर्मचारीहरु हाजिर भई सकेका छन् । आगामी साताबाट सञ्चालनमा आउँछ ।’, वडाअध्यक्ष ढुंगेलले भने, ‘सेवा केन्द्र सञ्चालनमा आएपछि जेष्ठ नागरीक लगायतका नागरीकले निःशुल्क उपचार सेवा लिन सक्नेछन् । उनले थेरापी तथा योग पद्धतिबाट नागरीकले उपचार सेवा पाउने भएकोले सेवाप्रति नागरीकको आकर्षण बढ्ने बताए ।
यता प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मलंगवाले जिल्लाका बागमती र हरिवन बाहेक अन्य सबै पालिकामा आयुर्वेद सेवा केन्द्र सञ्चालनको तयारी भई सकेको जनाएको छ । चिकित्सालय मलंगवाका प्रमुख सुरेन्द्र रायले लालबन्दीसहित ईश्वरपुर, चन्द्रनगर, हरिपुर, बरहथवा, हरिपुर्वा लगायत १८ ओटा पालिकामा सेवा केन्द्र सञ्चालन हेतु आवश्यक कर्मचारीहरु पठाई सकिएको बताए।