सर्लाही,वैशाख -१५, ‘गरौं योग, रहौं निरोग’ भन्ने नारासहित सर्लाहीको हरिवन २ अत्राैलीमा ५ दिवसीय योग विज्ञान शिविर शुभारम्भ गरिएको छ ।
हरिवन नगरपालिका वडा नम्बर २ काे सहयोगमा श्री हरि किर्तन कुञ्ज अत्राैलीकाे आयोजना तथा भवानी मैनाली र मैनाली किराना स्टोर्सका सञ्चालक कमल मैनालीको सह–आयोजनामा हरिवन २ अत्राैली स्थित रामअवतार माविको प्राङ्गणमा शुरु गरिएको योग विज्ञान शिविरको मधेश सरकारकाे श्रम तथा यातायातमन्त्री बेची लुंगेलीले ब्यानर पढेर उद्घाटन गरेकी हुन ।
शिविरको उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री लुंगेलीले योग मानव स्वास्थ्यका लागि अत्यन्त्यै उपयोगी रहेकोले सबैले योगबाट लाभ लिनुपर्ने बताइन् ।
शिविर उद्घाटन कार्यक्रममा प्रदेश सांसद जवाहरलाल कुशवाहा, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, उपमेयर हरिमाया घलान, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, हरिवन २ का वडाअध्यक्ष अर्जुन योन्जन, ३ का वडाअध्यक्ष दिपमान लोप्चन, ११ का वडाअध्यक्ष शेख मेहवुव रेजाको आतिथ्यता रहेको थियो ।
त्यस्तै शिविरको उद्घाटन समारोहमा काँग्रेस हरिवन नगर सभापति रामशरण उप्रेती, नेकपा एमालेका हरिवन नगर अध्यक्ष सिताराम पोखरेल, माओवादी केन्द्र हरिवन नगर अध्यक्ष अर्जुन पन्तलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पतञ्जली योग नेपालका मुख्य प्रशिक्षक बलदेव मिश्र, युवा पतञ्जली योग समितिका संयोजक लोकनाथ खनाल, पतञ्जली योग मधेश प्रदेशका मार्गदर्शक एवम् सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले योगका विभिन्न आशणहरुको बारेमा सिकाउनु भएको थियो ।
योग प्रशिक्षकहरुले सिकाएका योग विज्ञान प्रमुख अतिथी मन्त्री लुंगेली, प्रदेश सांसद कुशवाहा, मेयर बुढाथोकी लगायतले बडो चाख पूर्वक सिकेका थिए ।
श्री हरि किर्तन कुञ्ज अत्राैलीका अध्यक्ष हाेमराज थपलिया (राजन)काे अध्यक्षता मा भएको उद्घाटन समारोह कार्यक्रमको सञ्चालन रामअवतार माविका शिक्षक डिल्ली प्रसाद मैनालीले गरेका थिए।