
सर्लाही , चैत- २२, बागमती नगरपालिका-४,जिरायत जंगल टोलकी वृद्धाको हत्यामा संलग्न युवकलाई सर्लाही प्रहरीले आज बिहीवार सार्वजनिक गरेको छ ।
बौधु महतोकी ७० वर्षीया श्रीमती पार्वतीकुमारी महतो भन्ने पार्वतीदेवीको मंगलवार बेलुका घरमै हत्या भएको थियो । पार्वतीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रौतहटको बृन्दावन नगरपालिका-५, नरकटिया बस्ने ३९ वर्षीय प्रमोद झा भन्ने प्रमोद चौधरीलाई आज जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

प्रमोद चोरी गर्न गएका बेला वृद्धा प्रमिलादेवीले प्रतिकार गर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार आरोपी प्रमोदले प्रमिलादेवीको अनुहारमा काठको मुढो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । हत्यामा संलग्न रहेको आरोपमा हिरासतमा रहेका प्रमोद जिरायत क्षेत्रमा ज्याला मजदुरी गर्ने व्यक्ति रहेको खुलेको छ । सिसिटिभी फूटेज र महतोको घरबाट चोरी भएको धानको आधारमा प्रमोदलाई पक्राउ सफल भएको प्रहरीले जनाएको छ ।

चौधरी चोरी गरेको धान बोकेर बागमती नगरपालिका-४, घिमिरे चोकमा रहेको किराना पसलमा बिक्रीका लागि पुगेका र त्यहाँ पसलेले धान किनेको सिसिटिभी फूटेजमा स्पष्ट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले नहरको बाटो भएर रौतहट आफ्नो घरतर्फ भाग्दै गर्दा हिजो बिहान बागमती नगरपालिका-१, बाट पक्राउ गरेको थियो ।
चौधरीलाई कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरी प्रमुख ९एसपी० दयानिधी ज्ञवालीले जानकारी दिए ।